काठमाडौं । विश्व फुटबलका महान् खेलाडी लियोनल मेसीका पिता तथा एजेन्ट जर्ज मेसीको ६८ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि बिरामी रहेका जर्जले अर्जेन्टिनाको रोजारियोस्थित एक मेडिकल क्लिनिकमा शनिबार अन्तिम सास फेरेका हुन्।
पिताको निधनपछि मेसी अमेरिकी मेजर लिग सकर (एमएलएस) का खेल छाडेर आफ्नो जन्मभूमि रोजारियो पुगेका छन्।
जर्ज मेसी केवल लियोनलका पिता मात्र थिएनन्, उनको फुटबल करियर निर्माण गर्ने प्रमुख सारथीसमेत थिए। मेसीको बाल्यकालदेखि नै उनको प्रतिभा पहिचान गरेका जर्जले छोराको फुटबल सपना पूरा गर्न आफ्नो जीवनको ठूलो हिस्सा समर्पित गरे।
जर्ज स्वयं पनि युवावस्थामा फुटबल खेलाडी थिए। उनले अर्जेन्टिनाको चर्चित क्लब नेवेल्स ओल्ड ब्वाइजबाट मिडफिल्डरका रूपमा खेलेका थिए। तर अनिवार्य सैन्य सेवाका कारण उनले आफ्नो खेल करियरलाई निरन्तरता दिन सकेनन्। पछि स्टिल कारखानामा काम गर्नुका साथै केही समय केमिकल टेक्निसियनका रूपमा पनि काम गरे।
१३ वर्षको मेसीलाई लिएर स्पेन पुगे
मेसी १३ वर्षको हुँदा जर्जले उनलाई लिएर स्पेनको बार्सिलोना पुगे। त्यो समय परिवारका लागि निकै कठिन थियो। नयाँ देश, अपरिचित वातावरण र मेसीको स्वास्थ्यसम्बन्धी चुनौतीबीच जर्जले छोरालाई निरन्तर हौसला दिइरहे।
मेसीले एक अन्तर्वार्तामा ती दिन सम्झिँदै आफू र आफ्ना पिता दुवै भित्रभित्रै पीडामा रहे पनि एकअर्कासामु बलियो देखिने प्रयास गरेको बताएका थिए।
त्यही कठिन समयमा जर्जले मेसीलाई सोधेका थिए– ‘हामी यहीँ संघर्ष गर्ने कि घर फर्कने?’
मेसीले स्पेनमै बस्ने इच्छा व्यक्त गरेपछि जर्जले परिवार र आफ्नो देश छाडेर छोराको भविष्यका लागि स्पेनमै बस्ने निर्णय गरे। त्यसपछि मेसीका लागि बार्सिलोनाको प्रसिद्ध एकेडेमी ‘ला मासिया’ को ढोका खुल्यो।
त्यसैबाट सुरु भएको मेसीको यात्रा विश्व फुटबलको इतिहासमै असाधारण सफलतामा परिणत भयो।
खेलाडी मात्र होइन, मेसीको व्यवस्थापनमा पनि जर्जको भूमिका
मेसीको बार्सिलोनासँगको सुरुवाती सम्झौतादेखि पीएसजी र इन्टर मियामीसम्मको व्यावसायिक यात्रामा जर्जको महत्वपूर्ण भूमिका रह्यो। मेसीसँग सम्बन्धित विभिन्न व्यावसायिक तथा लगानीका गतिविधिको व्यवस्थापनमा पनि उनी सक्रिय थिए।
मेसीले पटक–पटक आफ्ना पिताको भूमिकाबारे सार्वजनिक रूपमा चर्चा गरेका छन्। हरेक खेलपछि आफूले कस्तो खेलेँ भनेर पिताको प्रतिक्रिया खोज्ने गरेको मेसीले बताएका थिए।
विश्वकपका बेला पनि कमजोर थियो जर्जको स्वास्थ्य
सन् २०२६ को विश्वकपका बेला जर्जको स्वास्थ्य निकै कमजोर भइसकेको थियो। स्वास्थ्य अवस्थाका कारण उनी मेसीका खेल हेर्न अमेरिका जान सकेनन्।
विश्वकपमा अल्जेरियाविरुद्ध गोल गरेपछि मेसी मैदानमै भावुक बनेर रोएको दृश्यले विश्वभर चर्चा पाएको थियो। पछि उनले ती आँसु गोलको खुसीभन्दा पनि घरको व्यक्तिगत परिस्थितिसँग जोडिएको बताएका थिए। इजिप्टविरुद्धको खेलका बेला पनि मेसी मानसिक तनावमा रहनुको प्रमुख कारण पिताको कमजोर स्वास्थ्य रहेको बताइएको थियो।
‘असल खेलाडी मात्र होइन, असल मान्छे बन’
मेसीको बाल्यकालको क्लब नेवेल्स ओल्ड ब्वाइजले जर्जलाई श्रद्धाञ्जली दिँदै उनले अनुशासन र मायाका साथ विश्वकै उत्कृष्ट खेलाडीको करियरको जग निर्माण गरेको उल्लेख गरेको छ।
सन् २००७ मा मेसीका लागि दिएको एक भिडियो सन्देशमा जर्जले छोरालाई कठिनाइबाट अझ बलियो भएर निस्कन र असल खेलाडी मात्र नभई असल मानिस बन्न प्रेरित गरेका थिए।
जर्ज मेसी अब भौतिक रूपमा मेसीको साथमा छैनन्। तर आफ्नो छोराको सपनाका लागि गरेको संघर्ष, त्याग र समर्पणसँगै उनले विश्व फुटबललाई दिएको सबैभन्दा ठूलो ‘उपहार’ लियोनल मेसीको सफलतामार्फत उनको योगदान सधैं सम्झिइरहनेछ।
विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा तयार पारिएको।

प्रतिक्रिया दिनुहोस्