मुख्य खबर

सिन्धुपाल्चोकको तातोपानी बीओपीमा सुख्खा पहिरोको क्षति, भवन र संरचनामा नोक्सानी

खबरशाला संवाददाता खबरशाला संवाददाता श्रावण २२, २०८३ ६ पटक पढिएको

काठमाडौं, साउन २२ – सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार कार्यालय परिसरमा रहेको सशस्त्र प्रहरी बल, नेपाल (बीओपी) तातोपानीमा सुख्खा पहिरोका कारण विभिन्न भौतिक संरचनामा क्षति पुगेको छ।

प्राप्त जानकारीअनुसार शुक्रबार (मिति २०८३ साउन २२) राति १:१५ बजे बीओपीको उत्तर–पश्चिमतर्फ रहेको करिब २०० देखि ३०० मिटर अग्लो डाँडाबाट सुख्खा पहिरो झरेको थियो। पहिरोसँगै खसेका ढुंगाहरू एकआपसमा ठोक्किँदा उछिट्टिएर बीओपी परिसरभित्र पुगेपछि विभिन्न भवन तथा संरचनामा क्षति पुगेको हो।

घटनामा कुनै मानवीय क्षति नभएको सशस्त्र प्रहरी बलको बीओपी तातोपानीले जनाएको छ।

पहिरोका कारण पहिलो लाइन ब्यारेकको एउटा झ्यालको सिसा फुटेको छ भने दोस्रो लाइन ब्यारेकको भित्तामा प्वाल परेको र जस्ताको छानोमा समेत छ वटा प्वाल परेको छ। त्यसैगरी एउटा ड्युटी पोस्ट पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने अर्को ड्युटी पोस्टमा आंशिक क्षति पुगेको छ।

यस्तै, सशस्त्र प्रहरी निरीक्षक (सि.अ.) को बाथरुमको भित्तामा प्वाल परेको, एउटा हिमाली ज्याकेटमा ढुंगाले प्वाल पारेको, राष्ट्रिय झण्डा राखिएको पोल पूर्ण रूपमा क्षतिग्रस्त भएको तथा जिन्सी स्टोर भवनमा तीन वटा प्वाल परेको जनाइएको छ। बीओपीको मुख्य प्रवेशद्वारअगाडिको सिढीमा पनि क्षति पुगेको छ।

घटनापछि सुरक्षा अवस्थाको मूल्याङ्कन तथा क्षतिको विवरण संकलन गरिएको सशस्त्र प्रहरीले जनाएको छ। प्रभावित संरचनाको मर्मत तथा पुनःस्थापनाको तयारी भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्