काठमाडौं, साउन २५। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले मातृभाषामा सूचना र सञ्चारको पहुँच सुनिश्चित हुन सके मात्रै लोकतन्त्र थप समावेशी र सुदृढ बन्ने बताएकी छन्।
तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन २०२६ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री गौतमले नेपालको परिचय दस्तावेजमा मात्र सीमित नभएको भन्दै नेपालका परम्परा, संस्कृति र पुस्तौँदेखि बोलिँदै आएका मातृभाषाहरू पनि नेपालको पहिचानका आधार भएको उल्लेख गरिन्।
नेपाल बहुभाषिक तथा बहुसांस्कृतिक मुलुक भएकाले यसको विविधतालाई सम्मान र संरक्षण गर्नु राज्य तथा समाज दुवैको साझा दायित्व भएको उनको भनाइ थियो।
“कुनै पनि समाजमा लोकतन्त्र त्यतिबेला मात्र बलियो हुन्छ, जतिबेला नागरिकले आफ्नै मातृभाषामा आफूलाई सुसूचित हुने अवसर पाउँछन्,” मन्त्री गौतमले भनिन्, “नागरिक र राज्यबीचको सूचना तथा बुझाइको दूरी कम गर्ने महत्वपूर्ण जिम्मेवारी पत्रकारको पनि हो।”
उनले मातृभाषामा पत्रकारिता गर्दै आएका पत्रकार तथा सञ्चारकर्मीहरूप्रति कृतज्ञता व्यक्त गर्दै विभिन्न भाषामा पत्रकारिता गर्ने अभ्यासलाई अझ विस्तार गर्न आग्रह गरिन्। मातृभाषामा पत्रकारिता हुनु भनेको भाषाको संरक्षण मात्र नभई समुदायलाई राज्यका गतिविधि, नीति तथा निर्णयबारे आफ्नै भाषामा जानकारी प्राप्त गर्ने अवसर प्रदान गर्नु पनि भएको उनले बताइन्।
मन्त्री गौतमले यसको उदाहरण दिँदै भनिन्, “मिथिला क्षेत्रमा बस्ने, भोटमा भेडा चराइरहेकी आमाले पनि राज्यले के गरिरहेको छ भन्ने कुरा थाहा पाउने अधिकार राख्छिन्।”
उनले कतिपय भाषा संग्रहालयमा सुरक्षित भएर मात्र नपुग्ने भन्दै भाषालाई जीवित राख्न दैनिक जीवन, सञ्चार र सार्वजनिक संवादमा त्यसको प्रयोग आवश्यक रहेको बताइन्।
मातृभाषामा नियमित रूपमा समाचार, सूचना र विचार प्रवाह हुन सके भाषाको पुस्तान्तरण र प्रयोग दुवैलाई निरन्तरता दिन सकिने उनको भनाइ थियो।
मन्त्री गौतमले मातृभाषामा पत्रकारिता गरिरहेका सञ्चारकर्मीलाई राज्यका तर्फबाट आवश्यक सहयोग र सहजीकरणका लागि सकारात्मक रहेको बताउँदै राज्यको तर्फबाट गर्नुपर्ने काम गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिन्।
सम्मेलनमा विभिन्न देशबाट अन्तर्राष्ट्रिय पत्रकारहरूको सहभागिताप्रति खुसी व्यक्त गर्दै उनले विभिन्न देशमा मातृभाषा पत्रकारिताका क्षेत्रमा भएका अभ्यास र अनुभवको आपसी आदानप्रदानले नेपालमा मातृभाषा पत्रकारितालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।
मन्त्री गौतमले तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन २०२६ को पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै आयोजक तथा सहभागी सम्पूर्णप्रति धन्यवाद व्यक्त गरिन्।

प्रतिक्रिया दिनुहोस्