कञ्चनपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमण नितान्त व्यक्तिगत भएको स्पष्ट पार्दै यसलाई राजनीतिक विषय नबनाउन आग्रह गरेका छन्।
तीनदिने भारत भ्रमणका लागि पत्नी निकिता लामिछानेसहित शुक्रबार भारत प्रस्थान गरेका लामिछानेले भ्रमणका क्रममा कुनै राजनीतिक भेटघाटको कार्यक्रम नरहेको बताएका हुन्।
धनगढी विमानस्थल हुँदै कञ्चनपुरको गड्डाचौकी नाका पुगेका उनले व्यक्तिगत र राजनीतिक विषयलाई अलग-अलग रूपमा बुझ्न आग्रह गरे।
‘कुनै राजनीतिक भेटघाट छैन। कसैले खिचडी नपकाउन पनि अनुरोध गर्न चाहन्छु,’ उनले भने, ‘यो मेरो असाध्यै व्यक्तिगत भ्रमण हो। कहिलेकाहीँ व्यक्तिगत कुरा र राजनीतिक कुरालाई अलग्याउन सक्नुपर्छ।’
लामिछानेले आफू कारागारमा रहँदा भारतको उत्तराखण्डस्थित नैनीतालको कैँची धाम जाने भाकल गरेको र त्यसलाई पूरा गर्न भारत जान लागेको बताए।
उनको भ्रमणका क्रममा परिवारसहित उत्तराखण्डको नैनीतालस्थित कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम छ।
धार्मिक आस्था, पारिवारिक संस्कार र आध्यात्मिक विश्वासका कारण आफूले लामो समयदेखि भारतका ती धार्मिक स्थलमा जाने योजना बनाएको उनले बताएका छन्।
‘कुनै राजनीतिक भेटघाट छैन । कसैलाई खिचडी नपकाउन पनि अनुरोध गर्न चाहन्छु । यो मेरो असाध्यै व्यक्तिगत भ्रमण भएको हुनाले कहिले काहीँ व्यक्तिगत कुरा र राजनीतिक कुरालाई अलग्याउन सक्नुपर्छ । त्यसलाई अलग्याउन सहयोग गर्न आग्रह गर्न चाहन्छु,’ सभापति लामिछानेले भने ।





प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्