काठमाडौं । ओमानविरुद्ध १० रनको रोमाञ्चक जित निकाल्दै नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा शीर्ष ६ को स्थान पक्का गरेको छ ।
सोमबार अल अमिरेत रंगशालामा नेपालले प्रस्तुत गरेको २८१ रनको लक्ष्य पछ्याएको घरेलु टोली ओमानले ५० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाउँदै २७० रन बनायो ।
ओमानका जतिन्दर सिंहले सर्वाधिक ८९ रनको योगदान गरे । उनले ११४ बलमा सात चौका र एक छक्का प्रहार गरे । हम्माद मिर्जाले ८७, हसनैन शाहले अविजित ४०, हसनैन उल वाहबले १५ र कप्तान विनायक शुक्लाले १३ रन बनाए ।
दोस्रो विकेटका लागि सिंह र मिर्जाबीच १५८ रनको साझेदारी भएको थियो । ३७औँ ओभरमा ललितनारायण राजवंशीले यो साझेदारी तोडेपछि नेपाल खेलमा फर्किएको थियो ।
नेपालका ललित र दीपेन्द्रसिंह ऐरीले दुई–दुई तथा नन्दन यादव र कप्तान सन्दीप लामिछानले एक–एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २८० रन बनाएको थियो ।
नेपालका रोहितकुमार पौडेलले सर्वाधिक ८० रनको योगदान गरे । उनले ८१ बलमा दुई–दुई चौका र छक्का प्रहार गरे । दीपेन्द्रसिह ऐरीले ६९, देव खनालले ५७, इशान पाण्डेले २९ र बसिर अहमदले १७ रन बनाए ।
चौथो विकेटका निम्ति रोहित र दीपेन्द्रले १३९ रनको शतकीय साझेदारी गरे ।
ओमानका शाह फैसलले पाँच विकेट लिए । उनले आठ ओभरमा ५७ रन खर्चिए । जय ओडेदराले तीन र समय श्रीवास्तवले दुई विकेट हात पारे ।
जितसँगै नेपालले ३६ खेलबाट ३० अंक जोड्यो । यो सातौँ स्थानको क्यानडाको भन्दा एक अंक बढी हो ।
पराजित ओमान ३२ खेलबाट ३३ अंकका साथ चौथो स्थानमा छ ।
लिग–२ को आफ्नो अन्तिम शृंखलाका लागि ओमान पुगेको नेपालले तीन जित र एक हारको नतिजा निकाल्यो ।
लिग–२ को शीर्ष ६ मा पर्ने टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगिने सम्भावना भएकाले ओमानविरुद्ध नेपाललाई जित्नै पर्ने दबाब थियो ।
लोकप्रिय खबर






प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्