खबरशाला संवाददाता खबरशाला संवाददाता | २ घण्टा अगाडि | ४ पटक पढिएको
Uncategorized

अर्थमन्त्री वाग्लेले भारतको सहयोगको प्रशंसा गर्दै उठाए विपद्, पोषण र स्वच्छ ऊर्जामा सहकार्यको विषय

खबरशाला संवाददाता खबरशाला संवाददाता • २ घण्टा अगाडि • ४ पटक पढिएको

६ कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल–भारत सम्बन्ध, विपद् व्यवस्थापन र क्षेत्रीय सहकार्यका विषयमा भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करसँग संवाद गरेका छन् ।

भारतको नयाँदिल्लीमा आयोजित एनडीटीभी वर्ल्ड समिट २०२६ अन्तर्गत ‘अ वर्ल्ड बिट्विन अर्डर्स’ शीर्षकको सत्रमा भएको संवादका क्रममा अर्थमन्त्री वाग्लेले नेपालमा प्राकृतिक विपद्का बेला भारतले पुर्‍याएको सहयोगको प्रशंसा गरेका हुन् ।

अर्थ मन्त्रालयका अनुसार, वाग्लेले रसुवा र भोटेकोसी क्षेत्रमा हालै भएका विपद् तथा सन् २०१५ को विनाशकारी भूकम्पका बेला भारतले देखाएको तत्परतालाई स्मरण गर्दै विपद् प्रतिकार्यमा प्राप्त सहयोगप्रति आभार व्यक्त गरे ।

‘नेपालको मन्त्रीको हैसियतमा म के भन्न सक्छु भने, हालैको विपद् र भूकम्प दुवै समयमा पहिलो केही घण्टामै भारत त्यहाँ उपस्थित थियो र हामीलाई असाधारण सहयोग गर्‍यो,’ उनले भने, ‘यसप्रति नेपाल अत्यन्तै आभारी छ ।’

संवादका क्रममा अर्थमन्त्री वाग्लेले विपद् प्रतिकार्य, पोषण र स्वच्छ ऊर्जाजस्ता क्षेत्रमा नेपाल र भारतबीच सहकार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सकिने सम्भावनाबारे पनि चासो राखेका थिए । उनले द्विपक्षीय मात्र नभई त्रिपक्षीय तथा उपक्षेत्रीय तहमा समेत सहकार्यका संरचना विकास गर्न सकिने विषय उठाएका थिए ।

जवाफमा भारतीय विदेशमन्त्री जयशङ्करले सहकार्यलाई प्रभावकारी बनाउन सम्भव भएका क्षेत्रमा औपचारिक संस्थागत संरचनाको महत्त्व रहेको बताए । उनले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनलाई संस्थागत सहकार्यको एउटा उदाहरणका रूपमा प्रस्तुत गरे ।

यद्यपि, जयशङ्करले पछिल्लो समय समान सोच र साझा हित भएका मुलुकहरूबीच आवश्यकताअनुसार सहकार्य गर्ने तथा नतिजामुखी पहललाई प्राथमिकता दिने प्रवृत्ति पनि बढिरहेको उल्लेख गरे ।

नेपाल–भारतबीच खुला सीमा, व्यापार, ऊर्जा, पूर्वाधार र विपद् व्यवस्थापनलगायतका क्षेत्रमा सहकार्य हुँदै आएको छ । पछिल्लो संवादमा उठेका विषयले विपद् प्रतिकार्य र स्वच्छ ऊर्जाजस्ता क्षेत्रमा विद्यमान सहकार्यलाई थप व्यवस्थित बनाउने र नेपाल भारत बिचको सम्बन्ध हार्दिकता उन्मुख अगाडी बढेको पछिल्ला भेटवार्ताले देखाउँछन् ।

प्रतिक्रिया दिनुहोस्

० वटा प्रतिक्रिया

यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

मोबाइल नम्बर एडमिनलाई मात्र देखिनेछ।