खेलकुद

एनपीएलमा पाकिस्तानी स्टार साहिबजादा फरहानको इन्ट्री, कर्णाली याक्सको ब्याटिङ थप बलियो

खबरशाला संवाददाता खबरशाला संवाददाता • १८ घण्टा अगाडि • ८ पटक पढिएको

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट आधिकारिक टी–२० मान्यता पाएसँगै प्रतियोगिताको आकर्षण बढेको छ। प्रतियोगितामा अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडीहरूको आगमनले यसपटकको एनपीएल थप प्रतिस्पर्धात्मक र रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ।

यसैक्रममा कर्णाली याक्सले पाकिस्तानका आक्रामक ब्याटर साहिबजादा फरहानलाई अनुबन्ध गरेको छ। पाकिस्तानको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका फरहान टी–२० क्रिकेटमा आक्रामक ब्याटिङका लागि परिचित छन्। उनको आगमनले कर्णाली याक्सको शीर्षक्रमको ब्याटिङ थप बलियो हुने अपेक्षा गरिएको छ।

सन् २०२६ को आईसीसी पुरुष टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका फरहानले प्रतियोगितामा ३८३ रन बनाउँदै एकै संस्करणमा सर्वाधिक रन बनाउने कीर्तिमान कायम गरेका थिए। उनले यसक्रममा दुई शतकसमेत प्रहार गरेका थिए। यसअघि भारतीय ब्याटर विराट कोहलीको नाममा सन् २०१४ को विश्वकपमा ३१९ रन बनाएको कीर्तिमान थियो।

फरहानका मुख्य टी–२० तथ्यांकसन् २०२६ को टी–२० विश्वकपमा फरहानले नामिबियाविरुद्ध ५८ बलमा अविजित १०० र श्रीलंकाविरुद्ध ६० बलमा १०० रन बनाएका थिए। उनले विश्वकपमा कुल ३८३ रन बनाउँदै १६०.२५ को स्ट्राइक रेट कायम गरेका थिए।

एनपीएलको आधिकारिक टी–२० मान्यताले खेलाडीका रन, विकेट र व्यक्तिगत कीर्तिमानलाई आधिकारिक तथ्यांकमा गणना गर्ने बाटो खोलेको छ। यस्तो अवस्थामा फरहानजस्ता अन्तर्राष्ट्रिय स्तरका खेलाडीको उपस्थितिले प्रतियोगिताको स्तर र दर्शकको आकर्षण दुवै बढाउन सक्नेछ।

साहिबजादा फरहानको टी–२० करियर तथ्यांक

टी–२० अन्तर्राष्ट्रिय शतक: २

टी–२० अन्तर्राष्ट्रिय रन: १,३०५ (४६ खेल)

कुल टी–२० रन: ५,३६८ (१७४ खेल)

कुल टी–२० शतक: ९ साहिबजादा फरहानजस्ता विश्वस्तरीय खेलाडीहरूको आगमनले नेपाली क्रिकेटप्रेमीलाई आफ्नै घरेलु मैदानमा अन्तर्राष्ट्रिय स्तरका स्टार खेलाडीहरूको खेलकौशल नजिकबाट नियाल्ने, उनीहरूबीचको रोमाञ्चक प्रतिस्पर्धा अनुभव गर्ने र विश्वस्तरीय क्रिकेटको आनन्द लिने सुनौलो अवसर प्रदान गरेको छ। यसले एनपीएलको आकर्षण थप बढाउनुका साथै नेपाली क्रिकेटको विकास र अन्तर्राष्ट्रिय पहिचान विस्तारमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

० वटा प्रतिक्रिया

यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

मोबाइल नम्बर एडमिनलाई मात्र देखिनेछ।