काठमाडौ । अधिकांश नेपालीहरूले हर्षोल्लासपूर्वक मनाउने दसैँ भित्रिसकेको छ। नेपालीका लागि केवल टीका, जमरा र नयाँ कपडाको पर्वका रूपमा मात्र दसैँलाई लिइँदैन। यो त परिवार, आफन्त र प्रियजनसँग भेटघाट गर्ने, सुख-दुःख साट्ने र केही दिन भए पनि तनावबाट टाढा रहने अवसर पनि हो।
तर दसैँको रौनकसँगै जोडिएको अर्को पाटो पनि ख्याल गर्नुपर्छ, त्यो हो खानपान। घरमा खसी, बोका, राँगा वा कुखुराको मासु, मिठाई, अचार, फलफूल, विभिन्न परिकार र पेय पदार्थको चहलपहल अत्यधिक हुन्छ। समस्या त्यतिबेला हुन्छ, जब दसैँलाई खानपानको पर्व मात्रै मानिन्छ भने दसैँपछि स्वास्थ्य गडबड हुने सम्भावना रहन्छ।
चिकित्सकहरूका अनुसार दसैँमा खानपान सामान्यभन्दा बढी हुने भएकाले स्वस्थ मानिसले समेत खानपानको मात्रा र सन्तुलनमा ध्यान दिएर सेवन गर्नु बुद्धिमानीपूर्ण हुन्छ। अझ मधुमेह, उच्च रक्तचाप, मुटु, मिर्गौला, कलेजो, युरिक एसिड वा कोलेस्टेरोलको समस्या भएका व्यक्तिले विशेष सावधानी अपनाउनुपर्छ।
दसैँमा मासु छाड्नुपर्छ या खानु हुँदैन भन्ने होइन, मासु प्रोटिनलगायत पोषक तत्त्वको स्रोत हो। तर धेरै मात्रामा, विशेषगरी बोसोयुक्त रातो मासु खाँदा अपच, कब्जियत, पेट फुल्ने तथा दीर्घकालमा मोटोपन, उच्च रक्तचाप, कोलेस्टेरोल र पायल्ससम्बन्धी समस्या बढ्न सक्ने सम्भावना धेरै छ।
डाक्टरहरूका अनुसार मासुमा रहेको बोसो पचाउन शरीरलाई बढी मेहनत गर्नुपर्ने भएकाले एकैपटक धेरै मासु खाँदा पाचन प्रणालीमा भार पर्न सक्छ। त्यसैले थोरै-थोरै मात्रामा खानु, मासुसँगै प्रशस्त फाइबर भएका तरकारी, सलाद र फलफूल समावेश गर्नु राम्रो हुन्छ।
मासु पकाउँदा पनि उत्तिकै ध्यान दिनुपर्छ। धेरै तेल र मसला हालेर फ्राइ गर्नुभन्दा कम तेल र मसला प्रयोग गरेर झोलिलो, उसिनेको वा राम्रोसँग पाकेको मासु खानु तुलनात्मक रूपमा राम्रो मानिन्छ। कम पाकेको मासुमा स्वास्थ्य जोखिम हुन सक्छ भने अत्यधिक डढेको मासु पनि उपयुक्त हुँदैन। साथै, धेरै तेलयुक्त मासु पनि स्वास्थ्यका हिसाबले जोखिमयुक्त बन्न सक्छ।
दसैँमा एउटा गलत धारणा पनि देखिन्छ-मासु भएपछि तरकारी, दाल वा सलाद किन चाहियो? चिकित्सक तथा पोषणसम्बन्धी लेखहरूले भने यसको ठीक विपरीत सन्तुलित भोजनमा जोड दिएका छन्। मासुसँगै हरियो सागसब्जी, दाल, सलाद तथा फलफूल समावेश गर्दा भोजनमा फाइबर बढ्छ र खानाको सन्तुलन कायम गर्न सहयोग पुग्छ।
त्यसैले दसैँको थालमा मासु मात्र होइन, साग, तरकारी, दाल, अचार र सलादलाई पनि उत्तिकै स्थान दिनु राम्रो हुन्छ। खाना बिस्तारै चपाएर खाने, एकैपटक पेट टन्न नभरिने र पर्याप्त पानी पिउने बानीले पनि धेरै खानबाट जोगिन सहयोग गर्छ।
दसैँमा मासुसँगै सेलरोटी, लड्डु, मिठाई तथा गुलियो पेय पदार्थको मात्रा पनि बढ्छ। अत्यधिक गुलियो खानेकुराले रगतमा चिनीको मात्रा तीव्र रूपमा बढाउन सक्छ र लामो समयसम्म अत्यधिक सेवन गर्दा मोटोपन, टाइप-२ मधुमेह तथा अन्य स्वास्थ्य समस्याको जोखिम बढ्न सक्ने चिकित्सकहरूले बताएका छन्।
त्यसैले पाहुनाले दिएको हो, खानैपर्छ भनेर हरेक घरमा पुग्दा सबै परिकार चाख्ने बाध्यता लिनु हुँदैन। थोरै खाऔँ, स्वाद लिऔँ र शरीरले दिएको सङ्केत बुझ्न सकेमा त्यो सबैभन्दा हितकर हुन्छ।
मदिरा कति खाने?
दसैँमा मासुसँगै खानपानमा धेरै प्रयोग हुने अर्को कुरा मदिरा पनि हो। औसतभन्दा बढी मदिरापान हुने भएकाले मदिरापानमा पनि विशेष ख्याल राख्नुपर्छ। मासु, चिल्लो खाना र मदिराको संयोजनले कलेजो तथा अन्य अङ्गमा थप भार पार्न सक्छ। विशेषगरी कलेजो, मिर्गौला वा अन्य दीर्घरोग भएका व्यक्तिले मदिराबाट टाढा रहनु वा चिकित्सकको सल्लाहअनुसार चल्नु आवश्यक हुन्छ।
दसैँको रमाइलोका लागि मदिरा अनिवार्य होइन। परिवारसँग बसेर गफ गर्नु, सङ्गीत सुन्नु, खेल खेल्नु, घुम्न जानु र पुराना सम्झना साट्नु पनि उत्तिकै रमाइलोका माध्यम हुन्। तर साथीभाइ र परिवारसँग रमाइलो गर्ने क्रममा आफ्नो स्वास्थ्यअनुसार मदिरा लिनुलाई पनि अन्यथा मान्नु हुँदैन, तर मदिराको सेवनबाट भरसक टाढै बसेको सबैभन्दा राम्रो हो।
त्यसो त दसैँमा अधिकांश समय खाने, बस्ने र सुत्ने भयो भने शरीरमा अतिरिक्त ऊर्जा जम्मा हुन सक्छ। चिकित्सकीय सुझावअनुसार चाडपर्वमा पनि दैनिक शारीरिक गतिविधि निरन्तर राख्न सकेमा खानपान र पाचनलाई नियन्त्रण गर्न सहयोग गर्छ। कम्तीमा हिँडडुल गर्ने, परिवारसँग पैदल घुम्न जाने, पिङ खेल्ने वा घरायसी गतिविधिमा सक्रिय रहने बानीले शरीरलाई चलायमान राख्न सहयोग गर्छ। दसैँको अर्थ आराम गर्नु हो, तर निष्क्रिय हुनु होइन।
दसैँको वास्तविक सुन्दरता थालमा होइन, सम्बन्धमा हुन्छ। लामो समयदेखि भेट नभएका आफन्तसँग भेट्नु, वृद्ध आमाबुबा तथा हजुरबा-हजुरआमासँग समय बिताउनु, बालबालिकासँग खेल्नु, टाढा रहेका आफन्त आएको मौकामा उनीहरूलाई समय दिनु, बुढापाकाबाट पुराना कुराहरू, पारिवारिक माहोल र जन्मथलोका कथाहरू सुनेर समयलाई सदुपयोग गर्न सके दसैँ अझ रसिक बन्न सक्छ।
चिकित्सकहरूले समेत दसैँमा खानपिनमा मात्र केन्द्रित नभई परिवार तथा साथीभाइसँग समय बिताउने, प्रकृतिसँग रमाउने, पुस्तक पढ्ने, खेल्ने र हाँस्ने जस्ता गतिविधिले मानसिक स्वास्थ्यका लागि समेत सकारात्मक प्रभाव पार्ने बताएका छन्। कतिपयले दसैँमा पुस्तक पढेर समयको सदुपयोग गर्ने गरेका छन्। पुस्तक पढ्नुसँगै परिवारसँग समय बिताएमा एकअर्काप्रतिको आत्मीयता थप प्रगाढ हुन्छ।
त्यसैले दसैँलाई एउटा रमाइलो, आत्मीय र पारिवारिक चाडबाडका रूपमा मनाऔँ। मासु खाने तर अति नखाने, मिठाई खाने तर सीमा ननाघ्ने, मदिरालाई रमाइलोको आधार भरसक नबनाउने, शरीरलाई चलायमान राख्ने र सबैभन्दा महत्त्वपूर्ण कुरा आफ्ना मान्छेसँग पर्याप्त समय बिताउने।
लोकप्रिय खबर






प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्