ब्रेकिङ्ग खबर

एमाले बैठकमा विद्या भण्डारीको पुनरागमन

खबरशाला संवाददाता खबरशाला संवाददाता • ९ घण्टा अगाडि • १९ पटक पढिएको

काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीको एमालेमा पुनरागमनपछि बसेको पहिलो स्थायी कमिटी बैठकले आगामी मंसिर पहिलो हप्ता राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ। भण्डारीले आजै पार्टी वरिष्ठ उपाध्यक्षको शपथ लिएकी थिइन् ।

बिहीबार बसेको नेकपा एमाले स्थायी कमिटी बैठकले तल्लो तहका भेला सम्पन्न गरेपछि मंसिरको पहिलो साता काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको पार्टी सचिव महेश बस्नेतले जानकारी दिए।

बैठकपछि बस्नेतले मंसिर पहिलो सातालाई राष्ट्रिय कार्यकर्ता भेलाका रूपमा अघि बढाउने निर्णय भएको बताए।

उनका अनुसार राष्ट्रिय भेलामा पार्टीका प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी तथा पालिकाका अध्यक्ष र उपाध्यक्ष सहभागी हुनेछन्। त्यसैगरी संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई समेत भेलामा सहभागी गराउने तयारी छ।

एमालेले तल्लो तहमा पार्टीका गतिविधि तथा भेला सम्पन्न गरेपछि राष्ट्रिय स्तरको कार्यकर्ता भेला गर्न लागेको हो। बैठकले राष्ट्रिय भेलामार्फत पार्टीका नेता–कार्यकर्ता तथा जनप्रतिनिधिलाई एकै ठाउँमा सहभागी गराउने निर्णय गरेको हो।

भण्डारीको एमालेमा पुनरागमनपछि बसेको बैठकले राष्ट्रिय भेला गर्ने निर्णय गरेसँगै आगामी मंसिरमा हुने उक्त भेलालाई पार्टीको संगठनात्मक गतिविधिको महत्वपूर्ण कार्यक्रमका रूपमा हेरिएको छ। 

तत्कालीन एमाले उपाध्यक्ष  २०७२ कात्तिक ११ गते राष्ट्रपतिमा निर्वाचित भएपछि एमालेबाट अलग्गिएकी थिइन् । दोस्रो कार्यकाल राष्ट्रपति भएपछि गत वर्ष उनी एमालेको अध्यक्ष हुने गरी अगाडि बढेकी थिइन् । तर, गत वर्ष मंसिरमा भएको एमालेको ११ औँ महाधिवेशनमा उनको पार्टी सदस्यता नै स्थगित गरियो । 

अहिले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध यसअघि उनी निकट रहेका विष्णु पौडेल र शंकर पोख्रेलहरू एकजुट भएपछि ओलीले भण्डारीलाई सिधै वरिष्ठ उपाध्यक्ष बनाएर पार्टीमा फेरि सक्रिय बनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

० वटा प्रतिक्रिया

यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

मोबाइल नम्बर एडमिनलाई मात्र देखिनेछ।