ब्रेकिङ्ग खबर

त्रिवि अब डिजिटल विश्वविद्यालय

खबरशाला संवाददाता खबरशाला संवाददाता • १० घण्टा अगाडि • २२ पटक पढिएको

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) लाई शिक्षण केन्द्रित संस्थाबाट ज्ञान उत्पादन, नवप्रवर्तन र राष्ट्रिय विकासका लागि समाधान सिर्जना गर्ने अग्रणी अनुसन्धान विश्वविद्यालयका रूपमा विकास गरिने भएको छ।

विश्वविद्यालय सभाको साधारण बैठकमा बिहीबार आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै रजिस्ट्रार डा. रवीन्द्र शिवाकोटीले उच्च गुणस्तरीय अनुसन्धानलाई प्रोत्साहन गर्न प्रतिस्पर्धात्मक अनुसन्धान अनुदान, अनुसन्धान व्यवस्थापन प्रणाली तथा बजेट अभिवृद्धिका लागि बन्दोबस्ती कोष र सरकारी अनुदान परिचालन गरिने बताए ।

रजिस्ट्रार शिवाकोटीका अनुसार त्रिविका केन्द्रीय विभाग, अनुसन्धान केन्द्र तथा क्याम्पसमा अनुसन्धान पूर्वाधारको स्तरोन्नति गरिनुका साथै राष्ट्रिय विज्ञानमा आधारित सन्दर्भ प्रयोगशालाको प्रभावकारी सञ्चालन र बहुविषयगत अध्ययनका लागि साझा अनुसन्धान सुविधाको विकास गरिनेछ। विश्वविद्यालयका प्राध्यापक, युवा अनुसन्धानकर्ता तथा विद्यार्थीमा नवप्रवर्तन, पेटेन्ट दर्ता, स्टार्टअप र बौद्धिक सम्पत्तिको सिर्जना, संरक्षण एवं व्यावसायिक उपयोगका लागि बौद्धिक सम्पत्ति व्यवस्थापन प्रणाली लागू गरिने जानकारी दिए ।

विश्वविद्यालयको अनुसन्धानलाई समाज, उद्योग र नीति निर्माणसँग जोड्न ज्ञान हस्तान्तरण, परामर्श सेवा, सरकार-विश्वविद्यालय सहकार्य तथा ‘नाइस’ (Networking, Innovation, Creation and Exploration – NICE) मोडल अवलम्बन गरिनेछ। यसबाट प्राध्यापकको वृत्ति विकास र विद्यार्थीको व्यावहारिक सिप अभिवृद्धिमा सहयोग पुग्ने विश्वास लिइएको छ।

त्यस्तै, डिन कार्यालयहरूमा अनुसन्धान तथा प्लेसमेन्ट केन्द्रको विस्तार र ‘अनुसन्धान व्यवस्थापन सम्बन्धी कार्यविधि, २०८२’ कार्यान्वयन गर्दै अनुसन्धानको गुणस्तर, पारदर्शिता र आचारसंहितालाई संस्थागत गरिनेछ। विश्वविद्यालयका जर्नलहरूलाई एकीकृत, डिजिटल र अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गरी सेवा आयोगको प्रयोजनका लागि समेत स्तरीकरण गरिनेछ। उच्च गुणस्तरीय जर्नलमा लेख प्रकाशन गर्ने र पेटेन्ट अधिकार प्राप्त गर्ने अनुसन्धानकर्तालाई आर्थिक प्रोत्साहन तथा पुरस्कार दिइनुका साथै प्राध्यापकहरूको वार्षिक प्राज्ञिक सम्परीक्षणलाई क्रमशः अनिवार्य बनाइने नीति लिइएको छ।

डिजिटल रुपान्तरणको मार्गमा त्रिवि

त्रिविका शैक्षिक, प्रशासनिक तथा सेवा प्रवाह प्रणालीलाई प्रविधिमैत्री, पारदर्शी र सुशासित बनाउँदै ‘डिजिटल विश्वविद्यालय’को अवधारणा कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

शैक्षिक प्रशासन र सेवा प्रवाहलाई पारदर्शी तथा पहुँचयोग्य बनाउन एकीकृत मोबाइल एप सञ्चालनमा ल्याइनेछ। यसै आर्थिक वर्षभित्र त्रिविका आङ्गिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरूको डिजिटल भूनक्साङ्कन (Digital Mapping) सम्पन्न गरी योजना निर्माण र नीतिगत निर्णयमा प्रयोग गरिनेछ।

विश्वविद्यालयका सम्पूर्ण निकायहरूमा इन्टरनेट तथा इन्ट्रानेट पूर्वाधार सुदृढ गरिनुका साथै नीति निर्माण, अनुगमन र शीघ्र निर्णयका लागि एकीकृत डिजिटल ड्यासबोर्डको व्यवस्था गरिनेछ। आधुनिक डिजिटल प्रणालीमार्फत विद्यार्थी भर्ना, सिकाइको निरन्तरता, परीक्षा व्यवस्थापन एवं शैक्षिक अभिलेख सुनिश्चित गर्न एकीकृत रणनीति तय गरिने भएको छ।

प्रतिक्रिया दिनुहोस्

० वटा प्रतिक्रिया

यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

मोबाइल नम्बर एडमिनलाई मात्र देखिनेछ।