काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटनका क्रममा सभापति गगनकुमार थापाले दिएको मन्तव्य केवल पार्टीको औपचारिक सम्बोधनमा सीमित रहेन। उनले कांग्रेसको विगत, वर्तमान राजनीतिक संकट, पार्टीभित्रको लोकतान्त्रिक अभ्यास र बदलिँदो नेपाली समाजप्रति कांग्रेसले लिनुपर्ने नयाँ भूमिकाबारे आफ्नो दृष्टिकोण प्रस्तुत गरे।
काठमाडौंको खुलामञ्चमा आयोजित महाधिवेशनलाई थापाले ‘खुला राजनीति’को प्रतीकका रूपमा प्रस्तुत गरे। करिब एक दशकपछि खुलामञ्चमा राजनीतिक कार्यक्रम भएको प्रसङ्ग जोड्दै उनले संसद्, राजनीतिक दल र राज्य नागरिकका प्रश्न, असहमति र विचारका लागि खुला हुनुपर्ने धारणा राखे।
उनको मन्तव्यको सबैभन्दा अर्थपूर्ण पक्ष भनेको पार्टीभित्रै प्रश्न गर्ने संस्कृतिको विकास गर्नुपर्ने स्वीकारोक्ति हो। नेतृत्वलाई प्रश्न गर्दा सदस्यता काटिने अवस्था अन्त्य हुनुपर्ने र फरक मत राख्ने अधिकारलाई संस्थागत गर्नुपर्ने उनको भनाइले कांग्रेसको आन्तरिक लोकतन्त्रलाई बहसको केन्द्रमा ल्याएको छ।
‘प्रधानमन्त्री बन्ने दौड’माथि आत्मसमीक्षा
थापाले पछिल्लो राजनीतिक असन्तुष्टिको एउटा कारणका रूपमा नेताहरूबीचको सत्ताकेन्द्रित प्रतिस्पर्धालाई औँल्याए। प्रधानमन्त्रीको कुर्सीका लागि हुने दौडले नागरिकमा राजनीतिप्रति वितृष्णा बढाएको उनको विश्लेषण थियो।
गत भदौ २३ र २४ गतेका घटनालाई उनले लामो समयदेखि सञ्चित नागरिक असन्तुष्टिको विस्फोटका रूपमा व्याख्या गरे। तर उनले ती घटनामा भएको दमन र आपराधिक गतिविधि दुवै गलत भएको स्पष्ट पारे। यसबाट थापाले पछिल्लो राजनीतिक संकटलाई केवल तत्कालीन घटनाबाट नभई लामो समयदेखि निर्माण हुँदै आएको राजनीतिक असन्तुष्टिसँग जोडेर हेर्न खोजेको देखिन्छ।
देउवाको अनुपस्थितिमा पनि सम्मानको सन्देश
महाधिवेशनमा पूर्वसभापति शेरबहादुर देउवाका लागि कुर्सी खाली राखिएको प्रसङ्ग उल्लेख गर्दै थापाले पार्टीको विगतप्रतिको सम्मानलाई पनि सम्बोधन गरे। देउवा सहभागी नभए पनि उनको राजनीतिक योगदानलाई सम्मान गर्नुपर्ने सन्देश थापाको मन्तव्यमा देखिन्थ्यो ।
बाहिरिएका नेता फर्काउने संकेत
थापाले कांग्रेसको मूल्याङ्कन केवल उसको पुरानो इतिहास वा दर्ता प्रमाणपत्रबाट नभई आजका प्रश्नको उत्तर दिन सक्ने क्षमताबाट हुनुपर्ने धारणा राखे। यसले कांग्रेसलाई इतिहासको गौरवमा मात्र निर्भर नरही वर्तमान पुस्ताका प्रश्नसँग जोडिनुपर्ने उनको राजनीतिक सन्देश स्पष्ट गर्छ। थापाको मन्तव्यमा कांग्रेसबाट बाहिरिएका नेताहरूको प्रसङ्ग पनि आयो। पार्टी छाडेर गएकाहरूलाई पुनः जोड्ने संकेत गर्दै उनले नयाँ पुस्ताले गरेको कामका आधारमा मूल्याङ्कन गर्न आग्रह गरे। यसलाई कांग्रेसभित्रको विभाजन कम गर्दै संगठनलाई फराकिलो बनाउने प्रयासका रूपमा बुझ्न सकिन्छ।
तर यहाँ एउटा चुनौती पनि छ—फरक विचार राख्नेहरूलाई पार्टीमा फर्काउने मात्र होइन, उनीहरूलाई पार्टीभित्र सम्मानजनक राजनीतिक स्थान र निर्णय प्रक्रियामा सहभागिता दिने वातावरण कसरी बनाउने ? थापाको ‘खुलामञ्च’को अवधारणाको वास्तविक परीक्षण यही ठाउँमा हुने देखिन्छ।
भाषणभन्दा प्रतिवेदनले खोज्नेछ कार्यान्वयन
थापाको उद्घाटन मन्तव्यमा राजनीतिक संस्कार परिवर्तनको विषय प्रमुख भए पनि यसको वास्तविक परीक्षा अब बन्दसत्रमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन र त्यसपछि हुने संगठनात्मक अभ्यासबाट हुनेछ।
उनको राजनीतिक प्रतिवेदनले विगतमा सत्ता, पद, गुट र पहुँचकेन्द्रित राजनीतिका कारण कांग्रेस नागरिकबाट टाढिएको स्वीकार गर्दै पार्टीको राजनीतिक, वैचारिक, सांगठनिक र आर्थिक रूपान्तरणको प्रस्ताव अघि सारेको छ।
प्रतिवेदनमा प्रधानमन्त्रीलाई दुई कार्यकालमा सीमित गर्ने संवैधानिक व्यवस्था, निर्वाचन प्रणालीमा सुधार, विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार तथा सुशासन र आर्थिक रूपान्तरणका विषयसमेत समेटिएका छन्।
अब प्रश्न—गगनले भनेजस्तै कांग्रेस बदलिन्छ?
गगन थापाको हिजोको मन्तव्यको मूल सन्देशलाई एउटै वाक्यमा राख्दा ‘इतिहासको कांग्रेसबाट वर्तमानको कांग्रेस बन्ने प्रयास’ भन्न सकिन्छ।
खुलामञ्चलाई उनले भौतिक स्थानभन्दा बढी राजनीतिक प्रतीकका रूपमा प्रयोग गरे—नागरिकलाई प्रश्न गर्न दिने, पार्टीभित्र असहमतिलाई स्थान दिने र संसद्लाई खुला बहसको थलो बनाउने राजनीतिक संस्कारको पक्षमा आफ्नो धारणा राखे।
तर राजनीतिक भाषणमा व्यक्त प्रतिबद्धता र व्यवहारमा हुने परिवर्तनबीच ठूलो दूरी हुन सक्छ। त्यसैले गगनको मन्तव्यको प्रभाव उनको भाषणको प्रभावकारिताले भन्दा कांग्रेसको संगठन, नेतृत्व चयन, आन्तरिक लोकतन्त्र, सरकारप्रतिको खबरदारी र नागरिकसँगको सम्बन्धमा आउने व्यवहारिक परिवर्तनले निर्धारण गर्नेछ।
लोकप्रिय खबर
पत्रपत्रिकामा किन राख्नु हुँदैन समोसा, पकौडा लगायतका खानेकुरा
मन्त्रीपरिषद्को बैठकले गरेका पाँच निर्णयहरु
कांग्रेसमा २९७ सदस्यीय केन्द्रीय समिति हुने
गगनको कांग्रेस बदल्ने संकेत
स्थानीय तहको प्रशासनमा फेरिँदै व्यवस्था, प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै हुने
विभिन्न भूभागमा वर्षाको सम्भावना






प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्