काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आज दुईदिने औपचारिक भारत भ्रमणमा जाँदै छन्। नेपाल एयरलाइन्सको नियमित उडानमार्फत दिउँसो १ः४५ बजे भारत प्रस्थान गर्ने प्रधानमन्त्री शाह अपराह्न ३ः४५ बजे नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ।
विमानस्थलमा प्रधानमन्त्री शाहलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्नेछन्। त्यसपछि उनी नयाँ दिल्लीस्थित होटल ताज मानसिंह जानेछन्। साँझ ६ बजे भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मुर्मूसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन्। मोदीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ भने उनको सम्मानमा दिवाभोजसमेत आयोजना गरिनेछ।
प्रधानमन्त्री शाहको भ्रमणमा आर्थिक सहकार्य, हवाई सम्पर्क विस्तार, पूर्वाधार विकास र व्यापारलाई प्रमुख प्राथमिकतामा राखिएको छ। विशेषगरी नेपालले लामो समयदेखि माग गर्दै आएको भैरहवा र महेन्द्रनगरलगायत क्षेत्रबाट थप हवाई प्रवेश मार्ग उपलब्ध गराउने विषयमा सहमति जुटाउने प्रयास भइरहेको छ।
भ्रमणका क्रममा एक दर्जनभन्दा बढी विकास परियोजनाको उद्घाटन तथा शिलान्यास गर्ने तयारी छ। अयोध्या–जनकपुर रेलमार्ग, पनौतीस्थित नेपाल प्रहरी एकेडेमीको नयाँ भवन, दार्चुलाको पुल र भैरहवास्थित एकीकृत जाँच चौकी (आईसीपी) उद्घाटन गर्ने कार्यक्रम छ।
त्यस्तै, अमलेखगन्जदेखि चितवनसम्म पेट्रोलियम पाइपलाइन विस्तार परियोजनाको शिलान्यास तथा सूचना प्रविधि र बन्दरगाहलगायत क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी छ।
भ्रमणको पूर्वसन्ध्यामा नयाँ दिल्लीका विभिन्न स्थानमा नेपाल र भारतका राष्ट्रिय झण्डा फहराएर स्वागतको तयारी गरिएको छ। आइतबार साँझ नेपाल र भारतका उद्योगी–व्यवसायीबीच विशेष अन्तरक्रिया कार्यक्रमसमेत आयोजना हुनेछ। कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालको सहभागिता रहनेछ।
दुई देशबीचको आर्थिक साझेदारी, हवाई सम्पर्क विस्तार र विकास आयोजनासम्बन्धी सहमति यस भ्रमणका मुख्य उपलब्धि हुने अपेक्षा गरिएको छ। उच्चस्तरीय भेटवार्ता तथा द्विपक्षीय छलफल सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार नै स्वदेश फर्किने कार्यक्रम छ।
लोकप्रिय खबर
शिखर सुजका नयाँडिजाइनका जुत्ता बजारमा !
कसरी लगाउने दशैको टीका
नेपाल टेलिकमको एनपीएल अनलिमिटेड प्याकेज
सुदूरपश्चिम रोयल्स पहिलोपटक एनपीएल च्याम्पियन, लुम्बिनीमाथि १० विकेटको शानदार जित
त्रिविले अध्ययन बिदाबाट नफर्कने शिक्षक–कर्मचारीबाट १६ करोड ५० लाख असुल
सरकारी कर्मचारी, नेपाली सेना र प्रहरीको नयाँ तलब लागू, कसको तलब कति बढ्यो? (हेर्नुस् सूची)






प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्