काठमाडौं । सुदूरपश्चिम रोयल्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ। फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले पहिलोपटक एनपीएलको उपाधि उचालेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो।
लुम्बिनीका लागि दिलीप नाथले सर्वाधिक ३९ रन बनाए। उनले ३१ बलमा तीन छक्का प्रहार गर्दै अविजित इनिङ्स खेले। कप्तान रोहितकुमार पौडेलले ३१ बलमा ३० रन बनाउँदा निरोशन डिक्वेलाले १७ बलमा २८ रन जोडे।
त्यस्तै, डार्सी सर्टले १८ बलमा २१ र अली शेखले १२ बलमा २४ रन बनाए। अलीले आफ्नो इनिङ्समा दुई चौका र दुई छक्का प्रहार गरे।
लुम्बिनीको सुरुवात भने राम्रो हुन सकेन। दोस्रो ओभरमै आशिफ शेख एक रनमा आउट भए। त्यसपछि डार्सी सर्ट र रोहित पौडेलले दोस्रो विकेटका लागि ३० रनको साझेदारी गरे।
रोहित र डिक्वेलाले तेस्रो विकेटका लागि ३९ रन जोडे। डिक्वेला २८ रन बनाएर आउट भए। रोहित र दिलीपले चौथो विकेटका लागि ३४ रनको साझेदारी गरे पनि रोहित ३० रन बनाएर रनआउट भए।
सुदूरपश्चिमका स्कट कुगेलेइनले चार ओभरमा २५ रन खर्चेर दुई विकेट लिए। हेमन्त धामीले २३ रन दिँदै एक विकेट लिए भने थारिन्दु रत्नायके र कप्तान दीपेन्द्रसिंह ऐरीले समान एक विकेट हात पारे।
१५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १० विकेटको शानदार जित निकाल्दै उपाधि आफ्नो नाममा लेखायो।
यसअघि लिग चरणको पहिलो खेल र पहिलो क्वालिफायरमा लुम्बिनीसँग पराजित भएको सुदूरपश्चिमले दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो।
अघिल्ला दुई संस्करणमा फाइनल पुगेर पनि उपाधि जित्न नसकेको सुदूरपश्चिमले तेस्रो प्रयासमा भने इतिहास रच्दै एनपीएलको उपाधि जित्न सफल भयो।





प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्