२५ असोज, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको पहिलो खेलमा नेपालले क्यानडालाई २४ रनले पराजित गरेको छ। कप्तान रोहितकुमार पौडेलको शतकप्रेरित ब्याटिङ र बलरहरूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले लिग–२ को अन्तिम शृङ्खलामा सुखद सुरुवात गरेको हो।
ओमान क्रिकेट एकेडेमीको मिनिस्ट्री टर्फ–१ मा आइतबार भएको खेलमा नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा २११ रनमा समेटियो।
क्यानडाका लागि आरोन जोनसनले सर्वाधिक ४४ रन बनाए। समित गोहेलले ३५, अखिल कुमारले अविजित ३० तथा श्रेयस मोभा र कप्तान हम्जा तारिकले समान २६ रनको योगदान दिए।
नेपालका लागि करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने र नन्दन यादवले समान दुई–दुई विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको थियो। नेपालका लागि कप्तान रोहितकुमार पौडेलले शतकीय पारी खेल्दै सर्वाधिक १०१ रन बनाए। १२७ बलको सामना गरेका उनले आठ चौका र एक छक्का प्रहार गरे।
त्यस्तै, गुल्शन झाले आक्रामक ब्याटिङ गर्दै ३४ बलमा ४८ रन बनाए भने अर्जुन कुमालले २३ रनको योगदान दिए।
क्यानडाका लागि अखिल कुमारले चार विकेट लिए। सुख्जिन्दर सिंहले तीन तथा जहिर शिर्जादले दुई विकेट हात पारे।
ओडीआई स्ट्याटस जोगाउने चुनौती
लिग–२ को शीर्ष चारमा रहने नेपालको सम्भावना यसअघि नै समाप्त भइसकेको छ। त्यसैले अब नेपालको मुख्य लक्ष्य एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउनु रहेको छ। यही चुनौतीबीच अन्तिम शृङ्खलाको पहिलो खेलमा हासिल गरेको जितले नेपाललाई महत्वपूर्ण मनोबल दिएको छ।
यसअघि शृङ्खलाको पहिलो खेलमा ओमानले क्यानडालाई पराजित गरेको थियो।
आजको जितसँगै नेपाल लिग–२ को अंकतालिकामा ३३ खेलबाट २६ अंक जोड्दै छैटौँ स्थानमा उक्लिएको छ। क्यानडा भने ३४ खेलबाट २५ अंकसहित सातौँ स्थानमा झरेको छ।
नेपालले अब अक्टोबर १३ मा आयोजक ओमानसँग प्रतिस्पर्धा गर्नेछ। ओडीआई मान्यता जोगाउने लक्ष्यसहित मैदान उत्रिएको नेपालका लागि आगामी खेलहरू थप महत्वपूर्ण हुनेछन्।
लोकप्रिय खबर
दशैँमा मोटरसाइकलमा लामो यात्रा गर्दा के–के कुरामा ध्यान दिने ?
यस्तो छ नेपाल टेलिकमको दशैँ तिहार अफर
जटिल बन्दै मानसिक स्वास्थ्यको : १० मध्ये एक वयस्कमा समस्या
बक्स अफिस रेकर्डः गौथलीको अग्रता कायमै
सवारी दर्ताका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !
पेशागत सफलताका लागि नैतिकताः प्रधानमन्त्री बालेन






प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्