मुख्य खबर

महासचिव शंकर पोखरेलको आरोप: ‘बालेन्द्र शाह नेतृत्वको सरकारले जनतामा आशा जगाउन सकेन’

खबरशाला संवाददाता खबरशाला संवाददाता • ८ घण्टा अगाडि • १२ पटक पढिएको

काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बालेन्द्र शाह नेतृत्वको सरकारले जनतामा आशा जगाउन नसकेको आरोप लगाएका छन्। नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा शुभकामना मन्तव्य व्यक्त गर्दै उनले मुलुकमा अनुहार बदलेर मात्रै स्थिति नसुध्रिने र बदलाव ल्याउन नयाँ राजनीतिक क्रान्तिको आवश्यकता रहेको बताए।

सम्बोधनका क्रममा महासचिव पोखरेलले इतिहासमै राष्ट्रियता कमजोर बनेको उल्लेख गर्दै सम्पूर्ण राजनीतिक दलहरू राष्ट्रियताको पक्षमा एकठाउँमा उभिनुपर्नेमा जोड दिए। उनले राष्ट्रिय मुद्दाहरूमा दलहरूलाई एक ठाउँमा ल्याउन रास्वपाका सभापति रवि लामिछानेले निरन्तर प्रयत्न गरिरहेको भए पनि वर्तमान सरकार भने संवादहीनताको अवस्थामा रहेको टिप्पणी गरे।

“सरकार राजनीतिक दल, संसद् र नागरिक कसैसँग पनि संवाद गर्दैन,” पोखरेलले भने, “चुनौतीहरूको सामना गरेर अघि बढ्ने संकल्प सरकारसँग छैन।” यस्तो गैरजिम्मेवार शैलीले गर्दा भविष्यमा आउने प्राकृतिक विपद् तथा संकटहरू कसरी सामना गर्ने भन्नेबारे गम्भीर चिन्ता उत्पन्न भएको उनले बताए।

लोकतन्त्रको भविष्यमाथि नै शंका उब्जिएको उल्लेख गर्दै उनले थपे, “जनताले विश्वास गरेर निर्वाचित गरेको प्रधानमन्त्रीले न आफैंले चुनेको संसदीय दललाई चिन्नुहुन्छ, न त संसद् र जनताकै कुरा सुन्नुहुन्छ।”

सरकारको यस्तो कार्यशैलीले मुलुक स्वेच्छाचारी शासनतर्फ ढल्कँदै गएको संकेत मिलेको भन्दै पोखरेलले लोकतन्त्रको रक्षाका लागि लामो संघर्ष गरेको नेपाली कांग्रेसले अब कस्तो भूमिका खेल्छ भन्ने विषय अत्यन्तै महत्त्वपूर्ण बनेको धारणा राखे।

प्रतिक्रिया दिनुहोस्

० वटा प्रतिक्रिया

यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

मोबाइल नम्बर एडमिनलाई मात्र देखिनेछ।