ब्रेकिङ्ग खबर

पूँजी बजार सुधारका लागि नयाँ धितोपत्र विधेयक तत्काल ल्याउन अर्थ समितिको निर्देशन !

KhabarShala खबरशाला संवाददाता • १५ घण्टा अगाडि • ४१ पटक पढिएको

काठमाडौं, असोज १४, २०८३ – प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको ३२औँ बैठकले नेपालको पूँजी बजारलाई आधुनिक प्रविधिमैत्री, व्यवस्थित, पारदर्शी, विश्वसनीय तथा लगानीमैत्री बनाउन विभिन्न निर्देशन दिएको छ। बैठकमा धितोपत्र निष्काशन, सूचीकरण, बजार सञ्चालन तथा नियमन र लगानीकर्ताको हित संरक्षणका विषयमा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से), सिडिएस एण्ड क्लियरिङ लिमिटेडलगायत सम्बन्धित निकायसँग छलफल भएको थियो।
बैठकमा सांसद खड्काले पूँजी बजारमा नियामक तथा सम्बन्धित निकायबीच समन्वय र जिम्मेवारी स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो। प्राथमिक बजार र दोस्रो बजारका समस्या फरक ढंगले पहिचान गरी समाधान गर्नुपर्ने, लगानीकर्तालाई जोखिमबारे पर्याप्त सूचना उपलब्ध गराउनुपर्ने तथा बजारमा हुने Insider trading, Circular trading लगायतका गतिविधिको प्रभावकारी निगरानी गर्नुपर्ने उहाँको धारणा थियो। नेप्सेको प्रविधि तथा साइबर सुरक्षालाई थप सुदृढ गर्दै बजार सञ्चालनलाई निर्बाध बनाउनुपर्ने विषयसमेत उहाँले उठाउनुभयो।
सांसद नीतिमा भण्डारी कार्कीले पूँजी बजारमा देखिएका संरचनागत समस्या, बजारमा रहेको अस्वस्थ अभ्यास तथा नयाँ तथा साना लगानीकर्तामाथि पर्न सक्ने प्रभावबारे प्रश्न उठाउनुभएको थियो। उहाँले पाइपलाइनमा रहेका सार्वजनिक निष्काशन तथा नयाँ नियमनको प्रभावबारे अध्ययन गर्नुपर्ने र सम्बन्धित निकायबाट स्पष्ट जवाफ तथा जानकारी आवश्यक रहेको बताउनुभयो।
बैठकले धितोपत्रसम्बन्धी नयाँ विधेयक तत्काल तर्जुमा गरी संसद्मा प्रस्तुत गर्न, IPO निष्काशनअघि कम्पनीको नेटवर्थ, वासलात, पूँजी पर्याप्तता, प्रविधि तथा प्रतिफललगायत आधारमा स्तरीकरण र प्राथमिकीकरण गर्न तथा संस्थापक शेयर स्वामित्वसम्बन्धी व्यवस्था पुनरावलोकन गर्न निर्देशन दिएको छ।
त्यसैगरी, नेप्सेको पुनःसंरचना तथा NOTS र डाटा प्रणालीको स्तरोन्नति, उच्चस्तरीय साइबर सुरक्षा सुनिश्चितता, दोस्रो बजारमा कर्नरिङ, सर्कुलर ट्रेडिङ तथा पम्प – एण्ड – डम्पजस्ता गतिविधिको सघन निगरानी र कारबाही गर्न निर्देशन दिइएको छ। नेप्से र CDSC का रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा तत्काल नियुक्ति प्रक्रिया अघि बढाउनसमेत अर्थ मन्त्रालयलाई निर्देशन दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

० वटा प्रतिक्रिया

यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

मोबाइल नम्बर एडमिनलाई मात्र देखिनेछ।