काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकको आवास अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित ‘भवन (दोस्रो संशोधन) विधेयक, २०८३’ प्रतिनिधिसभामा दर्ता गरिएको बताउनुभएका छन् ।
प्रधानमन्त्री शाहले आज सामाजिक सञ्जालमार्फत शुक्रबार दर्ता गरिएको विधेयकले निम्न आय भएका परिवारको आवास सुनिश्चित गर्ने तथा मध्यम आय भएका परिवारका लागि सुरक्षित र व्यवस्थित आवासको व्यवस्था प्रस्ताव गरेको जानकारी दिएका हुन् । विधेयक पूर्वाधार विकासमन्त्री सुनील लम्सालले प्रतिनिधिसभामा दर्ता गरेका थिए ।
विधेयकमा पहिलोपटक घर निर्माण गर्ने नेपाली नागरिकलाई सरकारले तोकेको टाइप डिजाइन तथा मापदण्डअनुसार घर निर्माण गर्न आवश्यक नदीजन्य तथा प्रकृतिजन्य निर्माण सामग्री निःशुल्क उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरिएको छ । गोठ निर्माणका लागि निवेदन दिने नागरिकलाई आवश्यक प्रकृतिजन्य सामग्री निःशुल्क उपलब्ध गराउने व्यवस्था पनि प्रस्ताव गरिएको छ ।
गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित गर्न सङ्घीय सरकारबाट ५० हजार र प्रदेश सरकारबाट २५ हजार गरी कुल ७५ हजार रुपियाँसम्म अनुदान उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरिएको प्रधानमन्त्री शाहले बताउनुभएको छ । विपद्, असुरक्षित तथा जोखिमपूर्ण बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी सरकारले नयाँ घर निर्माण गरिदिने व्यवस्था पनि विधेयकमा प्रस्ताव गरिएको छ ।
विधेयकमा मध्यम आय भएका नागरिकका लागि सुरक्षित, भूकम्प प्रतिरोधात्मक र आधारभूत मापदण्ड पूरा भएका ‘स्मार्ट घर’ निर्माण गरी उपलब्ध गराउने प्रस्ताव गरिएको छ । २० लाखदेखि ७५ लाख रुपियाँसम्म लागत पर्ने यस्ता घरको प्लिन्थ क्षेत्रफल ९०० देखि एक हजार ३०० वर्गफिटसम्म हुने प्रस्ताव छ ।
नागरिकले सहुलियतपूर्ण ऋणमार्फत यस्ता घर प्राप्त गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ । प्रारम्भिक रूपमा पाँच लाख रुपियाँ अग्रिम भुक्तानी गरी १५ वर्षसम्म मासिक ११ हजार रुपियाँ किस्ता तिर्ने गरी घर उपलब्ध गराउने प्रस्ताव छ । त्यस्तै, १० लाख रुपियाँ अग्रिममा मासिक १५ हजार, १५ लाख अग्रिममा मासिक २० हजार, २० लाख अग्रिममा मासिक ३० हजार र २५ लाख अग्रिममा मासिक ३५ हजार रुपियाँ किस्ता तिर्ने विकल्पसमेत प्रस्ताव गरिएको छ ।
निम्न आय भएका नागरिकको आवास सुनिश्चित गर्नेदेखि मध्यम आय भएका परिवारका लागि सुरक्षित र व्यवस्थित आवास उपलब्ध गराउनेसम्मका व्यवस्था समेटेर सरकारले आवास अधिकारलाई कानुनी आधार दिने उद्देश्यले विधेयक अघि बढाएको हो ।
लोकप्रिय खबर
आशाको गोरेटोमा सरकारका पाईला
पूँजी बजार सुधारका लागि नयाँ धितोपत्र विधेयक तत्काल ल्याउन अर्थ समितिको निर्देशन !
निजामती सेवा विधेयकमा कुलिङ पिरियड (पूर्ण पाठ)
निजामती सेवा विधेयक सरकारले संसद्मा पेस गर्ने
अर्थतन्त्रमा “स्वर्णिम” कार्यकाल
अर्थमन्त्री डा. वाग्ले स्वदेश फिर्ताः पूर्वाधार विकासमा थप सहकार्य हुने






प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्