काठमाडौँ । सरकारले हाल कार्यान्वयनमा रहेको प्रसूति बिदा ९८ दिनबाट बढाएर छ महिना पुर्याउने प्रस्ताव अघि बढाएको छ। आमालाई प्रसूतिपछि पर्याप्त समय आराम गर्न, नवजात शिशुको स्याहार गर्न र छ महिनासम्म पूर्ण स्तनपान गराउन सहज हुने भन्दै प्रस्तावित व्यवस्थालाई स्वास्थ्य क्षेत्रका विज्ञले आवश्यक र महत्वपूर्ण बताएका छन् ।
‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५’ लाई संशोधन गर्दै सुत्केरी बिदा छ महिना बनाउने प्रस्ताव गरिएको हो । ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, २०८३ को मस्यौदामा सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा कार्यरत महिलालाई सुत्केरी हुनुअघि र पछि गरी छ महिनासम्म तलबसहितको सुत्केरी बिदा दिने व्यवस्था प्रस्ताव गरिएको छ । त्यस्तै, पत्नी सुत्केरी हुँदा पुरुष कर्मचारीलाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा दिने प्रस्ताव गरिएको छ ।
प्रस्तावित संशोधनको उद्देश्य आमा तथा नवजात शिशुको स्वास्थ्य संरक्षण, स्तनपान प्रवद्र्र्धन र प्रसूतिपश्चात् आमालाई पर्याप्त आराम तथा हेरचाहको अवसर उपलब्ध गराउने रहेको छ ।
प्रतिनिधिसभामा ‘यो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव’ सोमबार स्वीकृत भइसकेको छ । प्रस्ताव पेस गर्ने क्रममा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मातृत्वमा गरिएको लगानी राज्यको भविष्यमाथिको लगानी गरिएको बुझ्नुपर्ने बताए । छ महिने सुत्केरी बिदालाई सुविधा वा बिदाका रूपमा मात्र नहेरी मातृत्वको सम्मान, आमा तथा नवजात शिशुको स्वास्थ्य, पोषण र दीर्घकालीन मानव पुँजी निर्माणसँग जोडेर हेर्नुपर्ने उनको भनाइ छ ।
‘सुत्केरी बिदाले पूर्ण स्तनपानलाई प्रोत्साहन गर्छ’
परिवार कल्याण महाशाखाअन्तर्गत मातृ तथा नवजात शिशु शाखा प्रमुख डा. गौरी प्रधान श्रेष्ठले छ महिनाको सुत्केरी बिदा आमा र नवजात शिशुको स्वास्थ्यका लागि आवश्यक रहेको बताए ।
विकसित देशमा बालबालिकाको स्याहारका लागि लामो बिदा दिने अभ्यास रहेको उल्लेख गर्दै उहाँले कतिपय देशमा दुई वर्षसम्म पनि बिदा दिने गरिएको उदाहरण दिए । उनका अनुसार नवजात शिशुका लागि आमाको दूध अत्यन्त महत्वपूर्ण हुने भएकाले कम्तीमा छ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्छ।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले पनि छ महिनाको सुत्केरी बिदा दिने व्यवस्था सकारात्मक र स्वागतयोग्य भएको बताए । उनले यस्तो व्यवस्थाले महिला तथा नवजात शिशुको स्वास्थ्यमा राम्रो प्रभाव पार्ने बताए
लोकप्रिय खबर
पत्रपत्रिकामा किन राख्नु हुँदैन समोसा, पकौडा लगायतका खानेकुरा
मन्त्रीपरिषद्को बैठकले गरेका पाँच निर्णयहरु
कांग्रेसमा २९७ सदस्यीय केन्द्रीय समिति हुने
स्थानीय तहको प्रशासनमा फेरिँदै व्यवस्था, प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै हुने
गगनको कांग्रेस बदल्ने संकेत
विभिन्न भूभागमा वर्षाको सम्भावना






प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्