ब्रेकिङ्ग खबर

यस्तो बन्यो गगनको नेतृत्वमा कांग्रेसको पदाधिकारी टिम, सहमहामन्त्रीको टुंगो लाग्न बाँकी

खबरशाला संवाददाता खबरशाला संवाददाता • ४ घण्टा अगाडि • ८ पटक पढिएको

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा चयन हुने पदाधिकारीको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। सभापति, वरिष्ठ उपसभापति र महिला उपसभापतिको परिणाम यसअघि नै सार्वजनिक भइसकेकोमा खुला तथा समावेशी समूहका उपसभापति र महामन्त्री पदको मतगणना सकिएसँगै मुख्य पदाधिकारीको अन्तिम परिणाम सार्वजनिक भएको हो।

सभापतिमा गगनकुमार थापा भारी मतान्तरसहित विजयी भएका छन्। उनले ६ हजार ५८४ मत प्राप्त गर्दा प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत पाएका थिए।

पार्टीको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका छन्।

खुलातर्फका दुई उपसभापति पदमा डा. चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य विजयी भएका छन्। भण्डारीले ३ हजार ७३५ मत प्राप्त गर्दा आचार्यले २ हजार ३४२ मत पाए। त्यस्तै, समावेशीतर्फको उपसभापतिमा बिनोदकुमार चौधरी १ हजार ७४५ मतसहित निर्वाचित भएका छन्।

महामन्त्रीतर्फ खुलाका दुई पदमा प्रदीप पौडेल र उदयशम्शेर राणा विजयी भएका छन्। पौडेलले ४ हजार १९४ मत प्राप्त गर्दा राणाले २ हजार ३३० मत पाए। महिला महामन्त्रीमा डा. डिला संग्रौला (पन्त) ३ हजार ११८ मतसहित निर्वाचित भएकी छन्।

उपसभापतिमा को–को निर्वाचित भए?

खुलातर्फका दुई उपसभापति पदका लागि भएको निर्वाचनमा डा. चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य विजयी भए। अन्य उम्मेदवारमध्ये गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार ५९६, दीपक गिरीले ९२३ र प्रा. डा. चन्द्रमोहन यादवले ७६० मत प्राप्त गरे।

समावेशीतर्फको उपसभापति पदमा बिनोदकुमार चौधरी विजयी हुँदा जीवन परियारले १ हजार ६५८, फरमुल्लाह मंसुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गरे।

महामन्त्रीमा पौडेल, राणा र संग्रौला

महामन्त्रीका तीन पदमध्ये खुलातर्फ प्रदीप पौडेल र उदयशम्शेर राणा विजयी भए। पौडेलले ४ हजार १९४ मत र राणाले २ हजार ३३० मत प्राप्त गरे।

खुलातर्फका अन्य उम्मेदवारमध्ये डा. सुनिलकुमार शर्माले २ हजार २५७, गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४, अमरसिंह पुन मगरले १ हजार १२५, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत पाए।

महिला महामन्त्रीमा डा. डिला संग्रौला (पन्त) निर्वाचित भएकी छन्। उनले ३ हजार ११८ मत प्राप्त गर्दा प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले २ हजार ८६४ र रीता खनालले ८०४ मत प्राप्त गरिन्।

गगनको नेतृत्वमा नयाँ पदाधिकारी

१५औँ महाधिवेशनबाट सभापतिमा गगनकुमार थापासहित वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा, उपसभापतिहरू डा. चन्द्रकान्त भण्डारी, इन्जिनियर मधु आचार्य, पुष्पा भुसाल र बिनोदकुमार चौधरी चयन भएका छन्।

त्यस्तै, महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डा. डिला संग्रौला (पन्त) निर्वाचित भएका छन्।

मुख्य पदाधिकारीको निर्वाचन परिणाम सार्वजनिक भएसँगै नेपाली कांग्रेसको नयाँ नेतृत्वको प्रारम्भिक संरचना स्पष्ट भएको छ। अब नयाँ नेतृत्वसामु पार्टीको संगठन सुदृढीकरण, आन्तरिक एकता र आगामी राजनीतिक कार्यदिशालाई प्रभावकारी बनाउने चुनौती रहनेछ।

प्रतिक्रिया दिनुहोस्

० वटा प्रतिक्रिया

यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

मोबाइल नम्बर एडमिनलाई मात्र देखिनेछ।