काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले पेशागत सफलताका लागि नैतिकताको आवश्यकता पर्ने कुरामा जोड दिए । उनले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग गर्न प्रहरी निरीक्षकहरूलाई निर्देशन दिएका छन् ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगन्जमा सोमबार प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले प्रहरी सेवालाई प्रभावकारी, पारदर्शी र विश्वसनीय बनाउन प्रविधिको प्रयोग अपरिहार्य रहेको बताए। प्रविधिको सही प्रयोगबाट प्रहरीको काम छिटो र सहज हुनुका साथै अपराध नियन्त्रण तथा अनुसन्धानमा प्रभावकारी परिणाम हासिल गर्न सकिने उनको भनाइ थियो ।
“अपराधको निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमुखी अनुसन्धानका लागि सूचना प्रविधिको सही सदुपयोग गर्नुपर्नेछ,” प्रधानमन्त्री शाहले भने, “यसमा समग्र प्रहरी सङ्गठनको नेतृत्व र प्रशिक्षणलगायतको पनि महत्त्वपूर्ण भूमिका हुन्छ ।”
उनले प्रहरी अनुसन्धानलाई समयानुकूल, वैज्ञानिक र परिणाममुखी बनाउन सरकार आवश्यक स्रोतसाधन उपलब्ध गराउन प्रतिबद्ध रहेको स्पष्ट पारे । प्रविधिको विकाससँगै अपराधका स्वरूपमा पनि परिवर्तन भइरहेकाले त्यसअनुसार प्रहरीको कार्यक्षमता र अनुसन्धान पद्धति विकास गर्नुपर्ने उनले बताए ।
प्रधानमन्त्री शाहले प्रहरी सेवामा नैतिकता, निष्ठा र इमानदारीलाई पेसागत सफलताको पहिलो आधार बनाउन आग्रह गरे। संविधान, प्रचलित कानुन, नियम, कार्यविधि र मापदण्डको पूर्ण पालना गर्दै पेसागत आचरण र अनुशासन कायम गर्नुपर्नेमा उनले जोड दिए ।
“कुनै पनि पेसागत सफलताका लागि पहिलो मानक नैतिकता, निष्ठा र इमानदारी हो,” उहाँले भन्नुभयो, “सधैँ पेसागत आचरण र अनुशासन कायम गर्दै संविधान, प्रचलित कानुन, नियम, कार्यविधि र मापदण्डको सही रूपमा पालना गर्नु आवश्यक छ ।”
प्रधानमन्त्री शाहले प्रहरीको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न जवाफदेहिता पनि उत्तिकै महत्त्वपूर्ण हुने बताए । प्रहरी अधिकारीले आफ्नो जिम्मेवारीप्रति उत्तरदायी हुँदै कानुनको सीमाभित्र रहेर काम गर्नुपर्ने उनको भनाइ थियो ।
लोकप्रिय खबर
दशैँमा मोटरसाइकलमा लामो यात्रा गर्दा के–के कुरामा ध्यान दिने ?
यस्तो छ नेपाल टेलिकमको दशैँ तिहार अफर
जटिल बन्दै मानसिक स्वास्थ्यको : १० मध्ये एक वयस्कमा समस्या
सवारी दर्ताका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !
पेशागत सफलताका लागि नैतिकताः प्रधानमन्त्री बालेन
बक्स अफिस रेकर्डः गौथलीको अग्रता कायमै






प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्