ब्रेकिङ्ग खबर

रास्वपाभित्र असन्तुष्टि बढिरहेका बेला प्रधानमन्त्री शाहको ‘गम्भीर’ स्टाटस, सरकार दबाबमा परेको संकेत?

खबरशाला संवाददाता खबरशाला संवाददाता २२ घण्टा अगाडि १९ पटक पढिएको

प्रधानमन्त्री बनेपछि बालेन्द्र शाहले एकै बिहान सरकारका कार्यप्रगति र सुधारका कामहरूको विस्तृत विवरण सार्वजनिक गरेको यो पहिलोपटक हो। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै सांसदहरूले संसद्मा सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै विरोध गर्न थालेपछि प्रधानमन्त्री शाहले शुक्रबार राति फेसबुकमार्फत गम्भीर सन्देश सार्वजनिक गरेका थिए। त्यसको करिब नौ घण्टापछि उनले सरकारले गरेका सुधारका कामहरूको विवरण पुनः सार्वजनिक गरेका हुन्।

प्रधानमन्त्री शाहको अघिल्लो स्टाटसलाई पछिल्लो समय रास्वपा सभापति तथा प्रधानमन्त्रीबीच देखिँदै आएको सम्बन्ध, पार्टीभित्र बढ्दै गएको असन्तुष्टि र संसदीय दलको नेतृत्वसँग जोडिएको विवादको पृष्ठभूमिमा अर्थपूर्ण रूपमा हेरिएको छ।

रास्वपाको पहिलो महाधिवेशनबाट पारित विधानमा संसदीय दलका नेताले पार्टी सभापतिले दिएको नीतिगत निर्देशन पालना नगरेमा उनलाई संसदीय दलको नेताबाट हटाउन सकिने व्यवस्था गरिएको छ। यही व्यवस्थालाई लिएर प्रधानमन्त्री शाह पक्ष असन्तुष्ट रहेको बताइन्छ।

पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकमा बालेन्द्र शाहपछि सांसद बनेका गणेश कार्कीलगायत केही सांसदहरूले समेत उक्त विषयमा गम्भीर असहमति जनाएका थिए। त्यसयता सरकारको कार्यशैलीप्रति रास्वपाकै केही सांसदहरू थप आक्रामक रूपमा प्रस्तुत हुन थालेका छन्।

यही पृष्ठभूमिमा प्रधानमन्त्री शाहले शुक्रबार राति सामाजिक सञ्जालमा लेखेको स्टाटसले पार्टीभित्र र बाहिर राजनीतिक रूपमा गहिरो सन्देश दिएको विश्लेषण हुन थालेको छ।

प्रधानमन्त्री शाहले आफ्नो स्टाटसमा ‘केही समय लाग्छ, सही समय आउन ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्। सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ। कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलोपटक होइन।’ भन्ने आशय व्यक्त गरेका थिए।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई सरकारमाथि बढ्दै गएको राजनीतिक दबाबको सामना गर्न आफू तयार रहेको सन्देशका रूपमा समेत व्याख्या गरिएको छ।

प्रचण्ड बहुमतको सुविधासहित सरकार सञ्चालन गरिरहेको रास्वपा स्वयं सरकारका कामकारबाहीप्रति पूर्ण रूपमा सन्तुष्ट हुन नसकेको, सरकारको सञ्चालन अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको तथा सरकारको कार्यशैलीलाई लिएर चौतर्फी प्रश्न उठिरहेका बेला सत्तारूढ दलकै सांसदहरूले क्रमशः असन्तुष्टि सार्वजनिक गरिरहेका छन्।

सत्तारूढ दलकै सांसदहरूबाट सिलसिलेवार रूपमा सरकारविरुद्ध आवाज उठ्न थालेपछि प्रधानमन्त्री शाह दबाबमा परेको र त्यस्तो दबाबको सामना गर्न आफू सक्षम रहेको संकेत उनको पछिल्लो स्टाटसले दिएको राजनीतिक वृत्तमा विश्लेषण हुन थालेको छ।

प्रधानमन्त्री बनेपछि पहिलोपटक सरकारका कामको विस्तृत प्रगति विवरण सार्वजनिक गर्नु पनि यही राजनीतिक परिस्थितिसँग जोडेर हेरिएको छ। प्रधानमन्त्री शाहले सरकारका कामबारे जनतामा रहेको अन्योल र आलोचनाबीच प्रत्यक्ष रूपमा आफ्ना उपलब्धि प्रस्तुत गरेर सरकार सही दिशामा अघि बढिरहेको सन्देश दिन खोजेको देखिन्छ।

यद्यपि, प्रधानमन्त्री शाहको पछिल्लो अभिव्यक्तिले आगामी दिनमा सरकार सञ्चालनमा कस्तो प्रभाव पार्छ भन्ने प्रश्न भने अझै खुला छ। रास्वपा सभापति र प्रधानमन्त्री शाहबीचको दूरी थप बढ्दै जाने हो वा आपसी समझदारी र सौहार्दपूर्ण सम्बन्ध कायम गर्दै सरकार सञ्चालन अघि बढ्ने हो भन्ने विषय आगामी दिनका राजनीतिक घटनाक्रमले स्पष्ट पार्नेछ।

अहिलेका घटनाक्रमले भने सरकार बाहिरको विपक्षीभन्दा पनि आफ्नै दलभित्रबाट आउने राजनीतिक दबाब प्रधानमन्त्री शाहका लागि महत्वपूर्ण चुनौती बन्दै गएको संकेत गरेको छ।सरकारमाथि चौतर्फी आलोचना र राजनीतिक हमला सुरु भएका बेला आज बिहान सरकारले गरेका सुधारका कामहरूको विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले दिन खोजेको सन्देश झनै अर्थपूर्ण देखिएको छ।

प्रधानमन्त्री शाहको अभिव्यक्तिलाई हेर्दा उनले सरकारले कुनै गलत काम नगर्ने, तर सही परिणाम आउन केही समय लाग्न सक्ने स्पष्ट संकेत दिएका छन्। ‘सही समय आउन ढिला होला, तर गलत हुँदैन’ भन्ने उनको भनाइले तत्काल परिणाम नदेखिए पनि आफूले अघि सारेका काम र निर्णय सही दिशामा रहेको उनको दाबीलाई प्रतिबिम्बित गर्छ।

त्यससँगै, ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ’ भन्ने उनको अभिव्यक्ति भने अझ राजनीतिक अर्थ बोकेको देखिन्छ। यसले प्रधानमन्त्री शाह आफूविरुद्ध वा सरकारविरुद्ध उत्पन्न हुने दबाब, आलोचना र असहमतिसँग एक्लै भए पनि सामना गर्न मानसिक रूपमा तयार रहेको सन्देश दिएको विश्लेषण गर्न सकिन्छ।

यस अर्थमा प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिलाई सन्देश र चुनौती दुवै का रूपमा बुझ्न सकिन्छ। एकातर्फ उनले सरकार सही बाटोमा अघि बढिरहेको र तत्काल देखिने परिणामका लागि केही समय पर्खिन आग्रह गरेका छन् भने अर्कोतर्फ सरकार सञ्चालनमा आउने राजनीतिक दबाब वा अवरोधबाट आफू पछि नहट्ने संकेत दिएका छन्।

विशेषगरी सत्तारूढ दलभित्रैबाट सरकारको कार्यशैलीप्रति प्रश्न उठिरहेका बेला प्रधानमन्त्रीले सरकारका सुधारका कामहरूको विवरण सार्वजनिक गर्नुले उनको आत्मविश्वास र राजनीतिक रणनीतिबारे थप प्रश्न जन्माएको छ। अब उनले व्यक्त गरेको ‘एक्लै लड्नुपर्ने’ परिस्थिति वास्तवमै सिर्जना हुन्छ कि सरकारभित्रै सहमति र समझदारी कायम हुन्छ, त्यो भने आगामी राजनीतिक घटनाक्रमले निर्धारण गर्नेछ।

प्रतिक्रिया दिनुहोस्