खबरशाला संवाददाता खबरशाला संवाददाता | १८ घण्टा अगाडि | १३ पटक पढिएको
Uncategorized

मालश्री धुन : दसैँको आगमन सुनाउने नेपाली मौलिक सङ्गीत

खबरशाला संवाददाता खबरशाला संवाददाता • १८ घण्टा अगाडि • १३ पटक पढिएको

काठमाडौँ, कात्तिक १ गते। शरद् ऋतुको आगमनसँगै प्रकृति र वातावरणमा छुट्टै रौनक छाउँछ। आकाश सफा हुन्छ, मौसम रमाइलो बन्छ र नेपाली समाज दसैँको उल्लासमा रमाउन थाल्छ। यही उल्लासलाई सङ्गीतको माध्यमबाट घरघरमा पुर्‍याउने एउटा मौलिक धुन हो—मालश्री।

रेडियो, टेलिभिजन र मन्दिरमा गुञ्जिने मालश्री धुनले बडादसैँ नजिकिएको अनुभूति गराउँछ। यो धुन सुन्नासाथ बाल्यकालका दसैँ, घरपरिवारको जमघट, देवीदेवताको पूजा र चाडपर्वका रमाइला क्षणहरू स्मृतिमा ताजा हुन्छन्। त्यसैले मालश्री धुनलाई दसैँको सांस्कृतिक प्रतीकका रूपमा लिने गरिन्छ।

मालश्री केवल मनोरञ्जनका लागि बजाइने सङ्गीत होइन। यसले नेपाली समाजको धार्मिक विश्वास, सांस्कृतिक निरन्तरता र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको मौलिक परम्परालाई समेत प्रतिनिधित्व गर्छ।

शब्दविनै भावना बोल्ने धुन

वरिष्ठ गायक तथा वाद्यवादक रामकृष्ण दुवालका अनुसार दसैँ सुरु भएपछि विभिन्न बाजागाजासहित मालश्री धुन बजाउने परम्परा निकै पुरानो हो। मालश्री धुनलाई दसैँको आगमनसँग अभिन्न रूपमा जोडिएको सङ्गीतका रूपमा लिइने उनले बताए ।

“मालश्री धुनबिना दसैँ आगमनको महसुस नै हुँदैन,” उहाँ भन्नुहुन्छ, “मालश्रीले हाम्रो जीवन जिउने प्रक्रियालाई दिशानिर्देश गर्नुका साथै सकारात्मक सोच र शक्तिको विकास गर्छ।”

दुवालका अनुसार इन्द्रजात्रापछि मालश्री धुन बजाउन सुरु गरिन्छ र कोजाग्रत पूर्णिमासम्म यसको गुञ्जन सुनिन्छ। सुरुमा यो एउटा रागका रूपमा रहेको र पछि विभिन्न वाद्यवादनको सम्मिश्रणबाट अहिले सुनिने मालश्री धुनको स्वरूप विकास भएको उनको भनाई छ।

मालश्रीको विशेषता नै यसको शब्दविहीन अभिव्यक्ति हो। यसमा न कुनै गीतका शब्द हुन्छन्, न त कुनै बोली नै। तर यसको लय र सुरले श्रोताको मनमा अनेकौँ भाव उत्पन्न गराउँछन्।

“मालश्री धुनमा न कुनै शब्द छ, न त कुनै बोली नै। तर पनि यसले मनमा करुणा र भावनात्मक शक्तिको विकास गर्छ,” दुवालले भने।

वीणा, सितार, तानपुरा, तबला र बाँसुरीजस्ता बाजाको सम्मिश्रणले मालश्री धुनलाई थप मधुर बनाउँछ। यसले धार्मिक आस्था र चाडपर्वको उल्लासलाई एकसाथ अभिव्यक्त गर्छ। परम्परागत रूपमा विभिन्न ताल र लयमा बजाइने यो धुनको प्रस्तुति समय, स्थान र वाद्यवादनअनुसार फरक हुन सक्छ।

भक्तपुरसँग जोडिएको ऐतिहासिक विरासत

मालश्री धुनको इतिहास र उत्पत्तिबारे विभिन्न मत र किंवदन्ती प्रचलित छन्। इतिहासकार तथा संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार मालश्री धुनको उत्पत्ति भक्तपुरसँग जोडिएको छ।

उनका अनुसन्धानअनुसार भक्तपुरका राजा जितामित्र मल्लले नेपाल संवत् ७९७ मा कुमारीचोकस्थित शिलालेखमा मालश्री धुनको वर्णन गरेको पाइन्छ। यसले मालश्री धुनको ऐतिहासिक महत्त्व बुझ्न महत्त्वपूर्ण आधार प्रदान गर्छ।

“मेरो अनुसन्धानअनुसार भक्तपुरका राजा जितामित्र मल्लले नेपाल संवत् ७९७ मा कुमारीचोकस्थित शिलालेखमा मालश्री धुनको वर्णन गरेको पाइन्छ। किंवदन्तीअनुसार यसको उत्पत्ति लिच्छविकालमा भएको भन्ने भनाइ पनि छ, तर त्यसको प्रमाण भेटिएको छैन,” श्रेष्ठले भने ।

मालश्री धुनको प्रयोग दसैँमा मात्र सीमित नरहेको उनको भनाइ छ। कुनै ठूलो उत्सव, विजय वा विशेष उपलब्धिको अवसरमा समेत यो धुन बजाउने परम्परा रहेको ऐतिहासिक उल्लेख पाइन्छ। यसले मालश्रीलाई धार्मिक अनुष्ठानसँगै सामाजिक उत्सव र सामूहिक उल्लासको अभिव्यक्तिका रूपमा पनि स्थापित गरेको देखाउँछ।

श्रेष्ठका अनुसार मालश्रीको सम्बन्ध शरद् ऋतुसँग विशेष रूपमा जोडिएको छ। नेपाली समाजमा समय, ऋतु र सङ्गीतबीच गहिरो सम्बन्ध रहेको पाइन्छ। यही परम्पराअनुसार विभिन्न ऋतु र समयलाई प्रतिनिधित्व गर्ने राग तथा धुनको विकास भएको मानिन्छ।

नवदुर्गाको आराधना र सामूहिक सांस्कृतिक पहिचान

मालश्री धुनको धार्मिक पक्षलाई संस्कृतिविद् जगमान गुरुङ नवदुर्गाको आराधनासँग जोड्छन्। उहाँका अनुसार यो धुन दसैँमा नवदुर्गाको गुणगान र पूजाआराधनाको भाव अभिव्यक्त गर्ने महत्त्वपूर्ण माध्यम हो।

“मालश्री धुनले नवदुर्गाको आराधना गरेर सबै नेपालीले संयुक्त रूपमा मान्ने चाडलाई सङ्केत गर्छ। मालश्री धुन आमनेपालीकै पहिचान हो। यसमा देवी नवदुर्गाको आराधना गरिएको छ, त्यसैले दसैँमा यो धुन बजाइन्छ,” गुरुङ भन्छन् ।

दसैँ नेपाली समाजमा धार्मिक आस्था, पारिवारिक भेटघाट र सामाजिक सद्भावको पर्वका रूपमा स्थापित छ। विभिन्न समुदाय र भूगोलका नेपालीले आआफ्नै शैलीमा दसैँ मनाउने गरे पनि मालश्री धुनले चाडको साझा अनुभूतिलाई जीवन्त बनाउँछ।

यस अर्थमा मालश्री केवल एउटा सांगीतिक रचना होइन, नेपाली समाजको सामूहिक भावनालाई जोड्ने सांस्कृतिक माध्यम पनि हो। यसको धुनले शब्दको सहारा नलिई धार्मिक आस्था, उल्लास र आत्मीयताको अनुभूति गराउँछ।

नेवार समुदायको योगदान र धुनको विकास

मालश्री धुनको विकास र प्रचारप्रसारमा नेवार समुदायको महत्त्वपूर्ण योगदान रहेको मानिन्छ। काठमाडौँ उपत्यकामा विकसित धार्मिक, सांस्कृतिक र सांगीतिक परम्परासँग यसको सम्बन्ध गहिरो छ।

पाटनका राजा सिद्धिनरसिंह मल्लको पालादेखि मालश्री धुनको प्रचार हुन थालेको किंवदन्ती छ। त्यस्तै, १६औँ शताब्दीमा राजा महेन्द्र मल्लको पालादेखि बाह्रै महिनाका लागि फरकफरक धुनको सिर्जना भइसकेको मान्यता पनि प्रचलित छ। ती धुनमध्ये मालश्रीको विशेष स्थान रहेको संस्कृतिविद् गुरुङ बताउछन् ।

“मालश्री धुन भनेको एउटा अमूर्त कला हो। यो कसैले छुन सक्ने वस्तु होइन। यो समयसूचक र ऋतुसूचक हो, अरू धुनभन्दा नितान्त फरक छ,” गुरुङ भन्छन्।

मूर्त सांस्कृतिक सम्पदाजस्तै अमूर्त सम्पदाको पनि आफ्नै ऐतिहासिक र सामाजिक महत्त्व हुन्छ। बाजा, मन्दिर, शिलालेख र परम्परागत संरचनाजस्ता मूर्त सम्पदाले इतिहासलाई भौतिक रूपमा देखाउँछन् भने मालश्रीजस्ता धुनले समाजको भावना, विश्वास र जीवनशैलीलाई सङ्गीतका माध्यमबाट पुस्तौँसम्म जीवित राख्छन्।

काठमाडौँ उपत्यकाका नेवार समुदायले यस्ता सांस्कृतिक परम्पराको सिर्जना, संरक्षण र निरन्तरतामा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका छन्। मालश्री धुन पनि यही समृद्ध सांस्कृतिक अभ्यासको एउटा महत्त्वपूर्ण अङ्ग हो।

परम्परागत बाजादेखि आधुनिक सङ्गीतसम्म

समय परिवर्तनसँगै मालश्री धुन बजाउने शैली र प्रयोग हुने बाजामा पनि परिवर्तन आएको छ। परम्परागत रूपमा बाँसुरी, सितार र सारङ्गीजस्ता बाजाको प्रयोग हुँदै आएको यस धुनमा अहिले किबोर्ड, पियानो, गितार र कङ्गोजस्ता आधुनिक बाजा पनि समावेश हुन थालेका छन्।

युवापुस्ताले मालश्री धुनलाई नयाँ शैलीमा प्रस्तुत गर्ने र विभिन्न सांगीतिक विधासँग जोड्ने प्रयास गरिरहेका छन्। यसले पुरानो पुस्ताबाट हस्तान्तरण हुँदै आएको परम्परालाई नयाँ पुस्तासम्म पुर्‍याउन सहयोग गरेको छ।

तर आधुनिक प्रस्तुति र परम्परागत मौलिकताबीच सन्तुलन कायम राख्नु पनि उत्तिकै आवश्यक छ। नयाँ बाजा र प्रविधिको प्रयोगले धुनलाई थप लोकप्रिय बनाउन सक्छ। त्यसका लागि यसको मौलिक लय, सांस्कृतिक अर्थ र ऐतिहासिक पहिचानलाई भने जोगाइराख्नुपर्छ।

मालश्री धुनका विभिन्न रूप र प्रस्तुतिबारे पर्याप्त अध्ययन तथा अभिलेखीकरण हुन नसकेको देखिन्छ। ठाउँअनुसार यसको धुन, ताल र बाजाको संयोजनमा भिन्नता पाइन्छ। यसले मालश्रीको सांगीतिक विविधतालाई देखाउनुका साथै थप अनुसन्धानको आवश्यकता पनि औँल्याउँछ।

संरक्षणका लागि अनुसन्धान र पुस्तान्तरण आवश्यक

युगौँदेखि नेपाली समाज र जनजीवनसँग जोडिँदै आएको मालश्री धुनको संरक्षणका लागि यसको इतिहास, सांगीतिक संरचना र क्षेत्रगत विविधताको व्यवस्थित अध्ययन आवश्यक छ। पुराना वाद्यवादक तथा संस्कृतिविद्हरूसँग रहेका ज्ञान र अनुभवलाई अभिलेखमा राख्न सके भावी पुस्ताले यस परम्पराबारे प्रामाणिक जानकारी प्राप्त गर्न सक्छन्।

विद्यालय तथा कलेजमा नेपाली मौलिक सङ्गीतको महत्त्वबारे जानकारी दिने, युवा कलाकारलाई परम्परागत धुन सिक्ने अवसर प्रदान गर्ने र सांस्कृतिक कार्यक्रममा यसको नियमित प्रस्तुति गर्ने जस्ता प्रयासले पनि संरक्षणमा सहयोग पुर्‍याउन सक्छन्।

मालश्री धुनको संरक्षण भनेको कुनै पुरानो सङ्गीतलाई जस्ताको तस्तै दोहोर्‍याउनु मात्र होइन। यसको ऐतिहासिक महत्त्व बुझ्नु, मौलिकता जोगाउनु र समयअनुसार सिर्जनात्मक रूपमा नयाँ पुस्तासम्म पुर्‍याउनु पनि हो।

दसैँको आगमनसँगै गुञ्जिने मालश्री धुनले नेपाली समाजलाई हरेक वर्ष आफ्नो सांस्कृतिक विरासतसँग पुनः जोड्छ। शब्दविनै मनमा उल्लास जगाउने यसको शक्ति नै यसको विशिष्टता हो। धार्मिक आस्था, ऋतुको अनुभूति, ऐतिहासिक स्मृति र सामूहिक पहिचानलाई एउटै लयमा समेट्ने मालश्री नेपाली मौलिक सङ्गीतको अमूल्य निधि हो।

यसको मौलिकता जोगाउँदै नयाँ पुस्तासम्म हस्तान्तरण गर्न सके मालश्री धुन दसैँको आगमन सुनाउने सङ्गीतमा मात्र सीमित रहनेछैन, नेपाली समाजको जीवन्त सांस्कृतिक पहिचानका रूपमा युगौँयुगसम्म गुञ्जिरहनेछ।

प्रतिक्रिया दिनुहोस्

० वटा प्रतिक्रिया

यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

मोबाइल नम्बर एडमिनलाई मात्र देखिनेछ।