खबरशाला संवाददाता खबरशाला संवाददाता | असोज २९, २०८३ | २३ पटक पढिएको
Uncategorized

दसैँमा काठमाडौ छाड्नेको लर्को : १० लाखले छाड्ने अनुमान

खबरशाला संवाददाता खबरशाला संवाददाता • असोज २९, २०८३ • २३ पटक पढिएको

काठमाडौ । दसैँका मुख्य दिन नजिकिँदै गर्दा उपत्यका छाड्नेको संख्या बढ्दै छ । बसपार्क तथा बस छुट्ने विभिन्न नाकामा बिहानैदेखि झोला बोकेर गाउँ फर्किन गाडी कुर्नेहरूको चाप देखिन्छ । तर, १० भदौको भोटेकोशी बाढी, त्यसपछि मनाङ र बुढीगण्डकीमा गएको बाढी तथा राजमार्गहरूमा खसेको पहिरोका कारण यसपालि दसैँमा उपत्यकाबाट गाउँ फर्किनेहरू गत वर्षभन्दा घट्ने अनुमान छ । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार घटस्थापनादेखि बुधबारसम्म दुई लाख ६८ हजार २७४ जना उपत्यकाबाट बाहिरिएका छन् । ट्राफिक प्रहरीले यसपालि दसैँमा १० लाख मानिसले उपत्यका छाड्ने अनुमान गरेको छ । गत वर्ष १२ लाख ५० हजार व्यक्ति उपत्यकाबाट बाहिरिएका ट्राफिक प्रहरीको तथ्यांक छ ।

घटस्थापनापछि नै धेरै स्कुल–कलेजले बिदा दिएकाले अधिकांश विद्यार्थीले उपत्यका छाडिसकेका छन् । अन्य जागिरे र विभिन्न व्यवसायमा व्यस्त रहेकाहरू पनि अधिकांशजसो फूलपातीसम्म बाहिरिन्छन् । बाँकी रहेकाहरू अष्टमी र नवमीका दिनसम्म पनि उपत्यका छाड्ने क्रम चल्छ । 

भोटेकोशी बाढीले निम्त्याएको क्षति र सडक सञ्जालमा भइरहेको समस्याका कारण कैयौँ मानिसहरू घर नजाने मनस्थितिमा देखिएको र गएकाहरूमा पनि उत्साह नदेखिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी नरेशराज सुवेदी बताउँछन् ।

‘प्राकृतिक विपत्का कारण स्वभाविक रूपमै यसपटक दसैँमा उपत्यका छाड्नेको संख्या कम हुन्छ । बाढीपहिरोका कारण मुख्य राजमार्गहरूमा यात्रा त्यति सहज पनि छैन । तर, यात्रुहरूलाई सहज गराउन ट्राफिक प्रहरी परिचालनमा बढी ध्यान दिएका छौँ,’ उनले भने, ‘गत वर्ष यात्राका लागि सहज अवस्था थियो, बाढीपहिरो थिएन, सडकहरू अवरुद्ध थिएनन् र चहलपहल पनि बढी थियो ।’

भेटेकोशी बाढीमा १४ सय ५८ को शव फेला परेको छ भने ४ हजार ७२० व्यक्ति बेपत्ता छन् । यो मानवीय क्षतिले देशका अधिकांश जिल्लाका हजारौँ परिवार तथा आफन्त पीडामा छन् । उनीहरू दसैँमा गाउँ फर्किने मनस्थितिमा देखिँदैनन् । त्यस्तै, भोटेकोशी बाढी र त्यसपछिका बाढीपहिरोले देशका राजमार्गहरूमा ठाउँ–ठाउँमा क्षति पुर्याएको छ । कतिपय ठाउँमा अझै पनि एकतर्फी मात्रै सवारीसाधन गुड्न सकेका छन् ।

 ट्राफिक प्रहरीले घटस्थापना अर्थात् २५ असोजदेखि उपत्यका छाड्नेहरूको रेकर्ड राख्न थालेको छ । तथ्यांकअनुसार २५ असोजमा ५२ हजार ८२७, २६ असोजमा ५६ हजार ८०९, २७ असोजमा ७८ हजार १३८ र बुधबार (२८ असोज) ८० हजार ५०० जनाले उपत्यका छाडेका छन् । निजी, सार्वजनिक तथा मालवाहक गरी २५ असोजदेखि ३२ हजार ५२९ यातायातका सवारीसाधन बाहिरिएका छन् । 

केही दिनअघिको बुढीगण्डकी बाढीका कारण सडक अवरुद्ध भएर सवारीसाधन रोकिँदा अनुमान गरिएभन्दा कम सवारीसाधन बाहिरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सूचना अधिकारी सुवेदीका अनुसार हाल दैनिक ३ देखि ४ हजार यात्रुवाहक सवारीसाधन उपत्यकाबाट बाहिरिने गरेका छन् । यातायात व्यवसायी राष्ट्रिय महासंघको तथ्यांकअनुसार देशभर डिलक्स, बस, मिनिबस गरी यात्रुवाहक सार्वजनिक सवारीसाधन दुई लाख छन् ।

प्रतिक्रिया दिनुहोस्

० वटा प्रतिक्रिया

यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

मोबाइल नम्बर एडमिनलाई मात्र देखिनेछ।