काठमाडौ । नेपालमा फरक प्रयोजनमा आएर फरक काम गर्ने र भिसा अवधिभन्दा धेरै बस्ने (‘ओभरस्टे’ गर्ने) विदेशी नागरिकमा चिनियाँहरूको सङ्ख्या उल्लेख्य रहेको अध्यागमन विभागले जनाएको छ।
“हामीले समग्र तथ्याङ्क हेर्दा नेपाल आउने पनि चिनियाँ धेरै, ओभरस्टे बस्ने पनि चिनियाँ नागरिक र निष्कासनमा पर्ने पनि चिनियाँ नागरिक हुनुहुन्छ,” विभागकी प्रवक्ता गीता घिमिरेले भनिन्।
“उहाँहरू भिसाविपरीतको काममा संलग्न हुनुहुन्छ भने कारबाही गर्ने हो। बिज्निस भिसामा आउनुभएको छ तर लगानी ल्याउनुभएको छैन र अरू गतिविधिमा संलग्न हुनुहुन्छ भने हामी कारबाही गर्छौँ। त्यस्तै पर्यटक भिसामा आउने भनेको नितान्त घुम्न आउने हो। तर उहाँहरू अरू गतिविधिमा संलग्न हुनुभयो भने पनि हामी कारबाही गरेर निष्कासन गर्छौँ।”
पछिल्ला वर्षमा खास गरी नेपाल सस्तो भएको कारणले विभिन्न प्रयोजनमा विदेशीहरू आएर ‘ओभरस्टे’ अर्थात् तोकिएको समयभन्दा धेरै बस्ने गरेको बताइन्छ।
एक पूर्वगृहसचिवले नेपालको गृह प्रशासन कमजोर भएका कारण विदेशी नागरिकहरू ओभरस्टे गरेर बसिरहेका र यसका कारण सुरक्षा चुनौती भएको बताएका छन्।
विभागको तथ्याङ्कअनुसार सन् २०२६ को ज्यानुअरी १ देखि १२ अक्टोबरसम्म ओभरस्टे गर्ने र अन्य कसुरमा निष्कासन हुने विदेशी नागरिकको सङ्ख्या ४६९ रहेको छ।
त्यसमा सबैभन्दा धेरै चिनियाँ नागरिक १०३, त्यसपछि बाङ्ग्लादेशका ८४, युगान्डाका ३७, अमेरिकाका २६ श्रीलङ्काका २५, पाकिस्तानका २४, इरानका नौ, रुसका आठ, थाईल्यान्डका आठ र भियतनामका आठलगायत विभिन्न ६० देशका नागरिकहरू रहेका छन्।
ओभरस्टे गरेकाहरूलाई अध्यागमन विभागले नियमावली र कार्यविधिले तोकेअनुसार निष्कासन गर्ने व्यवस्था छ।
विभागले गत वर्ष नेपाल आउने विदेशी नागरिकहरूको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र पर्यटन प्रवर्धन गर्ने भन्दै उनीहरूको नागरिक व्यवस्थापन सूचना प्रणाली लागु गरेको थियो।
नेपालमा किन ‘ओभरस्टे’ गर्छन् विदेशी नागरिक?
अध्यागमन विभागले नेपालमा व्यापारव्यवसायमा लगानी गर्ने विदेशी नागरिकलाई व्यावसायिक भिसा दिने गरेको छ। त्यस्तै नेपालमा उत्पादित मालसामान खरिद गरी निकासी गर्ने विदेशीलाई समेत व्यावसायिक भिसा जारी गरिन्छ।
तर त्यस्तो भिसालाई रोजगारी, श्रम वा अन्य असम्बन्धित कामका लागि प्रयोग गर्न मिल्दैन।
हालसालै मात्रै नेपालमा धर्म परिवर्तन गर्ने प्रयोजन देखिएको भन्दै मोरङबाट पक्राउ गरिएका २४ जना कोरियालीलाई हिरासतमा राखिएको विभागले जनाएको छ।
विभागको पछिल्लो अनुगमनमा व्यावसायिक भिसा पाएका विदेशी नागरिकले रोजगारी वा अन्य काममा संलग्न रहेको देखिएको भन्दै ८८ जना विदेशी नागरिकको भिसा रद्द भएको थियो।
“अध्यागमन विभाग सबै विदेशी नागरिकलाई आफूले पाएको भिसाको उद्देश्य र सर्तबमोजिमका क्रियाकलापमा मात्रै संलग्न हुन अनुरोध गर्दछ। सम्बन्धित उद्योग, कम्पनी, प्रतिष्ठान तथा रोजगारदातालाई पनि उपयुक्त भिसा र स्वीकृतिबिना विदेशी नागरिकलाई रोजगारीमा संलग्न नगराउन जानकारी गराइन्छ,” विभागले एउटा प्रेस विज्ञप्ति जारी गर्दै भनेको थियो।
“अध्यागमन कानुन तथा अन्य प्रचलित कानुनविपरीतका कार्यमा संलग्न भएको पाइएमा कानुनी कारबाही गरिने छ।”
विभागका पूर्वमहानिर्देशक र पछि गृहसचिव समेत भएका उमेश मैनाली गृह प्रशासन कमजोर भएका कारण ओभरस्टे गर्नेको सङ्ख्या नेपाल बढ्दै गएको र यसले सुरक्षा चुनौती बढाइरहेको बताउँछन्।
“अहिलेको आधुनिक युगमा त कोही मानिस कहाँ गएको छ, कुन होटेलमा बसेको छ सबै ‘ट्रेस’ गर्न सकिन्छ। यस्तो समयमा पनि कहाँ छन्, कति ओभरस्टे गरिरहेका छन् भनेर सङ्ख्या बढ्ने हो भने त अध्यागमन प्रशासनको कमजोरी हो,” उनले भने।
तस्बिरको क्याप्शन,निष्कासित गरेर पनि धेरै नागरिकलाई पठाउने गरिएको छ
उनले नेपाल सस्तो भएका कारण यहाँ आएर धेरै विदेशीहरू ओभरस्टे गर्न खोज्ने गरेको बताए।
“उनीहरूको निहित स्वार्थ हुन सक्छ, जस्तै राजनीतिक वा [अन्य] सूचना प्राप्त गर्नु वा धर्म परिवर्तन गराउनु… वा आपराधिक नेटवर्कमा बाँधिएका छन् भने उनीहरू पनि बस्छन्,” उनले भने।
“यस्तो क्रियाकलापले नेपाल त खेलमैदान भएको छ। नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा पनि यसले असर पार्छ।”
नेपाल आउने विदेशी नागरिकहरूको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र पर्यटन प्रवर्धन गर्ने भन्दै उनीहरूको ‘नागरिक व्यवस्थापन सूचना प्रणाली’ गत ज्यानुअरीबाट लागु गरिए पनि अहिले त्यसको असर देखिने बेला भइनसकेको विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताए।
उक्त प्रणालीमार्फत् नेपालमा रहेका विदेशी नागरिकहरूबारे होटेल र मुद्रा सटही सेवा प्रदायकलगायत पर्यटकहरूसँग सम्बन्ध हुने स्थलहरूले आवश्यक विवरण डिजिटल माध्यमबाट अध्यागमन विभागमा दर्ता गर्नुपर्ने बताइएको थियो।
“बल्ल हामीले तारे होटेलहरू जोडेर सकेका छौँ। अरू वायुसेवाहरू पनि जोड्दै छौँ। यो पूर्ण रूपमा लागु भएपछि यसले हामीलाई धेरै कुरा थाहा दिन्छ,” महानिर्देशक तिवारीले भने।
“अहिलेसम्म १६/१७ सय सेवा प्रदायकहरू जोडिएका छन्। सबैलाई नजोडेसम्म यसको अपेक्षित नतिजा देखिन समय लाग्छ।”
कारबाहीको व्यवस्था कस्तो छ?
“हामीले उनीहरूलाई अध्यागमन कानुनअनुसार कारबाही गरेर निष्कासन नै गर्ने हो। पर्यटक भिसामा बसेर १५० दिन नाघेको छ भने निष्कासन नै गर्छौँ,” अध्यागमन विभागकी प्रवक्ता गीता घिमिरेले भनिन्।
“अध्यागमन नियमावली २०५१ र अध्यागमन कार्यविधि २०६५ को आधारमा हामी कारबाही गर्छौँ। “
अध्यागमन ऐनको व्यवस्थाअनुसार नेपालमा पर्यटक भिसामा १५० दिनभन्दा बढी बस्न पाइँदैन र बढी बसेको अवस्थामा वा उद्देश्यविपरीत काम गरेर नेपालमा बसे उनीहरूलाई निष्कासन गरिन्छ।
कार्यविधिअनुसार निष्कासन हुने व्यक्ति निष्कासन नहुँदासम्म विभागले तोकेको स्थानमा बस्नुपर्ने र नेपालबाट प्रस्थान गर्दा लाग्ने खर्च आफैँ बेहोर्नुपर्ने छ।
अध्यागमन ऐन, नियम वा प्रचलित कानुनविपरीत कार्य गरेबापत सजाय पाएका विदेशीलाई मुद्दाको प्रकृतिअनुसार १ वर्षदेखि १० वर्षसम्म नेपाल आउन नपाउने गरी निष्कासन गरिने सम्बन्धित कानुनमा उल्लेख छ।
त्यस्ता व्यक्तिमाथि कर्तव्य ज्यानसम्बन्धी अथवा लागुऔषधसम्बन्धी मुद्दा भए १० वर्ष, ज्यान मार्ने उद्योग वा बालबालिकामाथि यौनजन्य अपराध भए सात वर्ष, धर्म परिवर्तन, हातहतियार खरखजाना, जबरजस्ती करणी, यौनजन्य अपराध, जाली राहदानी र भिसा भए पाँच वर्ष, ठगी मुद्दा वा राजस्व चुहावटसम्बन्धी मुद्दा भए दुई वर्षका लागि निष्कासन गरिने व्यवस्था छ।
आदेश उल्लङ्घन गरेमा थप एक वर्षका लागि निष्कासन गर्ने भनिएको छ।
त्यस्तै एक वर्षभन्दा बढी अवधि बिनाभिसा बसेका विदेशी नागरिकका हकमा एकदेखि दुई वर्षसम्मको अवधि बसेकोलाई एक वर्ष, दुईदेखि तीन वर्षसम्मको अवधि बसेकोलाई दुई वर्ष र त्योभन्दा बढी अवधि बसेकोलाई तीन वर्ष निष्कासन गर्ने कानुनमा उल्लेख छ। बिबिसीबाट
लोकप्रिय खबर
दशैँमा मोटरसाइकलमा लामो यात्रा गर्दा के–के कुरामा ध्यान दिने ?
यस्तो छ नेपाल टेलिकमको दशैँ तिहार अफर
सवारी दर्ताका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !
जटिल बन्दै मानसिक स्वास्थ्यको : १० मध्ये एक वयस्कमा समस्या
बक्स अफिस रेकर्डः गौथलीको अग्रता कायमै
पेशागत सफलताका लागि नैतिकताः प्रधानमन्त्री बालेन






प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्