
तुलसीपुर । प्रदेश ५ को स्थायी राजधानी दाङ देउखुरीका लागि प्रदेशसभामा पेस भएको प्रस्तावमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै सांसदले असन्तुष्टि व्यक्त गर्दै नोट अफ डिसेन्ट लेखेका छन् ।
आज बिहान ८ बजेदेखि मुख्यमन्त्री निवासमा भएको नेकपा संसदीयको बैठकमा सहभागि नेकपाका नेताहरूले प्रस्तावमाथि असन्तुष्टि जनाउँदै नोट अफ डिसेन्ट लेखेको बैठकमा सहभागी एक सांसदले बताए ।
बैठकको सुरुमै सांसदलाई प्रदेशसभामा पेस भएको स्थायी राजधानी र नामाकरणको प्रस्तावमाथि छलफलका लागि प्रमुख सचेतक भूमिश्वर ढकालले आग्रह गरेका थिए ।
सोही छलफलमा बोल्दै रूपन्देहीका सांसद डा. कृष्ण न्यौपानेले प्रदेश सरकारका लागि आवश्यकपर्ने संरचना पूरा भइसकेको अवस्थामा नदी तटिय क्षेत्रमा राजधानीको प्रस्ताव ल्याउनु अलोकतान्त्रिक भएको बताएका थिए । बुटवल ऐतिहासिक, धार्मिक, सांस्कृतिक, शैक्षिक सवै हिसावले अब्बल भएको भन्दै नदि किनारमा स्थायी राजधानी प्रस्ताव अस्वीकार गरेको बताएका थिए ।
बैठकमा सहभागी नेकपा सांसद दधिराम न्यौपानले अहिलेको अवस्थामा विकासले समेत गति लिन नसकिरहेको अवस्थामा भएका संरचनासमेत छाडेर अर्बौँको संरचना तयार गर्नुपर्ने भएकाले देउखुरी स्थायी राजधानी आवश्यकता नभएको बताए ।
त्यस्तै, सांसद तुल्सी चौधरीले प्रदेशको राजधानी र नामाकरणको प्रस्ताव प्रक्रियाबाट नआएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले स्थायी राजधानी र नामाकरण सिफारिस समितिले प्रदेश सभामा पेस गरेको प्रतिवेदनमाथि छलफल नै नगरी अलोकतान्त्रिक शैलीबाट नयाँ ठाउँको प्रस्ताव आएको भन्दै प्रस्तावको विपक्षीमा उभिने बताए ।
सांसद विष्णु पन्थीले देउखुरी राजधानी लैजानुभन्दा कपिलवस्तु धेरै कारणले उपयुक्त रहेको भन्दै बुटवल बाट लैजानै परे कपिलवस्तुमा स्थायी राजधानीको प्रस्ताव लैजानुपर्ने बताए ।
क-कसले लेखे ‘नोट अफ डिसेन्ट’
संसदीय दलको बैठकमा रुपन्देही, पाल्पा, गुल्मी र कपिलवस्तुका केही सांसदले प्रस्तावको विपक्षीमा रहेको भन्दै ‘नोट अफ डिसेन्ट’ लेखेका छन् । भोजप्रसाद श्रेष्ठ, सुनिता ठठेर, डा. कृष्ण न्यौपाने, दधिराम न्यौपाने, तुल्सी चौधरी, कमला वि.क. दिपा वि.क., विमला पन्थी, थानकुमारी थापाले नोट आफ डिसेन्ट लेखेका छन् ।
त्यस्तै, कपिलवस्तुका विष्णु पन्थी, धर्मबहादुर श्रीवास्तव, पाल्पाका नारायण आचार्य, डा. पुरनमान बज्रचार्य, युवराज खनाल, गुल्मीका दिनेश पन्थीले पनि नोट अफ डिसेन्ट लेखेका छन् ।
सामाजिक विकास मन्त्री सुदर्शन बराल, गुल्मीकै सांसद गीता थापा, खड्गबहादुर खत्री, कमलराज श्रेष्ठले भने नोट अफ डिसेन्ट लेखेनन् । त्यस्तै, रूपन्देहीका सांसद उद्योग पर्यटन वन तथा वातावरणमन्त्री समेत रहेका लिला गिरी, भूमिश्वर ढकाल पनि नोट अफ डिसेन्ट लेखेनन् ।
‘असहमित जनायौँ, ह्पि जारी भए मतदान गर्नुको विकल्प छैन’
नोट अफ डिसेन्ट लेख्ने एक सांसदले प्रदेश सरकारले प्रदेशसभामा लगेको प्रस्तावमा असहमति जनाएको भए पनि ह्पि जारी गरेर मतदान गर्ने निर्देशन आएमा भने दाङ देउखुरीकै पक्षमा मतदान गर्ने बताए । ‘पार्टीको निर्णय मान्नुको विकल्प छैन् । अहिले हाम्रो असहमति हो । यसमा सरकारले पनि केही सोचोस । तर, निर्देशन नै आएमा मतदान हामीले गर्छौ,’ ती सांसदले भने
लोकप्रिय खबर


प्रतिक्रिया दिनुहोस्