राजधानी ‘दाङको विपक्ष’मा उभिन कांग्रेसको ह्वीप

खबरशाला संवाददाता  |  असोज २०, २०७७

तुलसीपुर । नेपाली कांग्रेसले प्रदेश ५ को स्थायी राजधानी दाङ देउखुरीको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ। 

मंगलबार बस्ने प्रदेशसभा बैठकमा मतदान प्रक्रियाबाट राजधानी तोक्ने निर्णय हुनसक्ने देखिएपछि दाङ देउखुरीको विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दलले ह्विप लगाएको हो।
 
नेकपाका सांसदहरुले ह्वीप उलघंन गर्नका लागि नेपाली कांग्रेले ह्वीप लगाउनुपर्ने शर्त राखेपछि कांग्रेस नेता बालकृष्ण खाणको निर्देशनमा कांग्रेसको संसदीय दलले ह्वीप जारी गरेको हो। 

यसले प्रदेश ५ को राजधानीको मुद्दा झनै पेचिलो बनेको छ।  
 
प्रदेश सरकारको निर्णयपछि संसदमा सोमबार आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले स्थायी राजधानी दाङ देउखुरी र प्रदेशको नाम लुम्बिनी प्रस्ताव गरेका थिए।
 
प्रदेश सरकारले संसदमा पेश गरेको प्रस्तावका विपक्षमा मतदान गर्ने निर्णय भएको विपक्षी दल कांग्रेसका नेता वीरेन्द्रकुमार कनौडियाले बताए। 

‘राजधानी दाङ सार्ने सरकारको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरिसकिएको छ’, उनले भने, ‘नाम लुम्बिनी ठीक छ।’
 
प्रदेशको नाम लुम्बिनी राख्नेबारे कांग्रेसको समर्थन नै छ। 

प्रदेशसभामा ८७ जना सांसद छन्। प्रदेशको नाम र राजधानी तोक्न दुईतिहाइ मत चाहिन्छ। त्यो मत सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपासँग छ। नेकपाले भने राजधानी ‘दाङ’को पक्षमा उभिन आफ्ना सांसदलाई यसअघि नै ह्वीप जारी गरिसकेको थियो। 
 
नेकपाका ६१ सांसद छन्। ५८ सांसदले पक्षमा मतदान गरे भने नाम र राजधानी तोकिन्छ। दाङ राजधानी सार्न नेकपाका १४ सांसदले विरोध गरे पनि नेकपाले दाङकै पक्षमा मतदान गर्न सोमबार ह्वीप जारी गरिसकेको छ।
 
प्रदेशसभामा कांग्रेसका १९ सांसद छन्। यीमध्ये केही सांसद राजधानी दाङ कै पक्षमा छन्।  

प्रदेशसभामा जनता समाजवादीका ६ र राष्ट्रिय जनमोर्चाका १ जना सांसद छन्।

राजधानी दाङ सार्ने सरकारको प्रस्तावमा रुपन्देहीमा आन्दोलन चर्किरहेको छ। 

प्रतिक्रिया दिनुहोस