आर्थिक समाचार

ग्यास अभाव छैन भन्दै आयल निगम र उद्योगीले प्रधानमन्त्रीलाई ढाँटे  

बसन्त विबस आचार्य बसन्त विबस आचार्य ४ घण्टा अगाडि १२ पटक पढिएको

१९ साउन, काठमाडौं । मंगलबार प्रतिनिधिसभा अन्तर्गत उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समिति बैठकमा नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालले बजारमा हल्ला भए अनुसार खाना पकाउने एलपी ग्यास अभाव नभएको दाबी गरे ।

बरालले ग्यास आयातमा कुनै कमी नभएको भन्दै अभावको सम्पूर्ण दोष उपभोक्ताको सञ्चय गर्ने प्रवृत्ति र वितरण प्रणालीमा थोपरे ।

‘विगतमा ७.१ किलोको आधा सिलिन्डर वितरण गर्दा उपभोक्ताले खासै रुचि नदेखाएर खाली सिलिन्डर घरमै होल्ड गरेर राखे,’ सांसदहरूसामु बरालले दाबी गर्दै भने, ‘तर, अहिले १४.२ किलोको भरी सिलिन्डर आउन थालेपछि घरमा भएका सबै खाली सिलिन्डर एकै पटक भर्न खोज्दा बजारमा कृत्रिम चाप बढ्यो ।’

उनले टेकुमै पनि एउटै मान्छे साइकलमा ३–४ पटक आएर ग्यास लिएर गएको देखिएको आरोप समेत लगाए ।

अझ उनले बजारमा ग्यासको चरम हाहाकार भएको हल्ला सत्य नभएको दाबी गर्दै लाइनमा बसेका सर्वसाधारणलाई ‘मिडिया कभरेज’ सँग जोडेर व्यंग्यसमेत गरेका थिए ।

टेकुस्थित निगमको कार्यालयबाट पछिल्लो ३ दिनमा जम्मा २ हजार १ सय सिलिन्डर मात्रै बिक्री भएको तथ्यांक समेत उनले पेस गरे ।

‘बजारमा साह्रै समस्या भयो भन्ने हल्ला छ, तर ३ दिनमा २१ सय सिलिन्डर मात्र बिक्री हुनु भनेको धेरै संख्या होइन,’ उनले भने, ‘तर, अब लाइन लागेर बसिदिने मिडिया कभरेजका लागि यसले चाहिँ साँच्चै नै ठूलै समस्या भयो कि भन्ने लाग्न सक्छ ।’

प्रत्येक उपभोक्ताका लागि घरघरमा खाना पकाउने ग्यास उपलब्ध गराउन आपूर्ति शृङ्खलाको व्यवस्थापनको जिम्मेवारी लिएको आयल निगमका निमित्त कार्यकारी निर्देशकले सबै दोष उपभोक्ता र मिडियालाई थोपरेर पन्छिन खोजे पनि ग्राउन्ड जिरोको अवस्थाले निगमले नै आपूर्ति र वितरण शृङ्खला मिलाउन नसकेको प्रष्टै देखाउँछ ।

उपभोक्ता सास्ती ज्युँका त्युँ

निगमले जतिसुकै ग्यास अभाव नभएको दाबी गरेको र मागभन्दा बढी परिमाणमा ग्यास आयात भएको भने पनि काठमाडौं खुसिँबु बस्ने भरत मगरको भान्सा १८–१९ दिनदेखि अस्तव्यस्त बनेको छ ।

घरमा प्रयोग गर्दै आएको ‘राजधानी’ ब्रान्डको ग्यास सकिएपछि उनी नजिकैको डिलरमा पटक–पटक धाए । तर, डिलरले उनलाई कहिले ‘अर्को हप्ता आउँछ’ त कहिले ‘सोमबार आउँछ’ भन्दै रित्तो हात फर्काइरह्यो ।

ग्यास नपाएपछि उनको परिवारले पानी तताउने इलेक्ट्रिक भाँडोमै दाल, भात र तरकारी पकाएर छाक टार्नुपर्ने बाध्यता आइलाग्यो ।

‘इलेक्ट्रिक भाँडोमै तरकारी, खाना र दाल पकाएर जसोतसो खाइयो,’ उनले अनलाइनखबरलाई सुनाए, ‘तर, जति कुर्दा पनि डिलरमा ग्यास आएन ।’

स्थानीय डिलरमा ग्यास नपाएर निराश भएका भरतले टेकुस्थित आयल निगमको अस्थायी वितरण केन्द्रमा ग्यास बाँडिरहेको खबर पाए । अघिल्लो दिन आएर बुझेपछि आज उनी आफ्नो रित्तो सिलिन्डर बोकेर टन्टलापुर घाममा लाइनमा बसे । अनलाइनखबरकर्मी मध्याह्न १२ बजे त्यहाँ पुग्दा उनी लाइनमा उभिएको करिब एक घण्टा भइसकेको थियो ।

‘यहाँ ग्यास पाइन्छ भनेर हिजो बुझेर आज आएको हुँ, अघि भर्खर बाँड्दा–बाँड्दै सकियो भन्या छन्, अब हेरौं फेरि आउला नि !’, उनले भने ।

ग्यास जस्तो अत्यावश्यक वस्तुका लागि सर्वसाधारणले यसरी बारम्बार सास्ती खेप्नुपरेकोमा टेकुमा लाइन बसेका सबै उपभोक्ताको मनमा एउटा मात्रै गम्भीर प्रश्न उब्जिएको छ– ‘निगमले यहाँ (टेकुमा) बाँड्न व्यवस्था मिलाउन सक्ने ग्यास डिलरमा पुग्ने व्यवस्था किन गर्न सकेन ?’

सबै ग्यास आउने आयल निगमबाटै भए पनि सर्वसाधारणले डिलरमा नपाउनु तर निगमको वितरण केन्द्रमा पाइनुले कतै व्यापारीहरूले ग्यास लुकाएर कालोबजारी त गरिरहेका छैनन् भन्ने आशंका भरतले गरेका छन् ।

‘डिलरमा गएर सोध्यो भने अमेरिका र इरान युद्धले गर्दा ग्यास नआएको भन्छन्, तर फेरि यहाँ (टेकुमा) त पाइराखेको छ,’ उनी भन्छन्, ‘त्यसैले यहाँ केही न केही दुई नम्बरी (कालोबजारी) काम भइरहेको छ कि जस्तो लाग्छ ।’

बिहान ७ बजेदेखि नै एउटा खाली सिलिन्डर लिएर पालो पर्खिरहेकी थिइन् शंखमुलकी विश्वमाया पराजुली । उनको घरमा प्रयोग भइरहेको ‘त्रिवेणी’ ब्रान्डको ग्यास हिजो बेलुका सकियो ।

नजिकको डिलरमा सोध्दा छैन भन्ने उत्तर पाइन् । घरमा अर्को सिलिन्डर विकल्पमा नभएपछि उनी बिहानै ट्याक्सी चढेर ग्यास खोजीमा टेकु आइपुगेकी थिइन् ।

ग्यासको यो अभावले विश्वमायालाई सास्तीमात्र दिएको छैन, अतिरिक्त आर्थिक भार पनि थपिदिएको छ । सिलिन्डर बोकेर सार्वजनिक यातायातमा हिँड्न सम्भव नभएपछि उनले ट्याक्सीको सहारा लिनुपर्‍यो ।

‘यहाँसम्म आइपुग्न एकतर्फी भाडा नै ३ सय रुपैयाँ पर्‍यो, आउँदा–जाँदा ट्याक्सीलाई मात्र ६ सय तिर्नुपर्छ,’ उनले आफ्नो हिसाब सुनाइन् । २ हजार ६० रुपैयाँ पर्ने ग्यास सिलिन्डर घर पुर्‍याउँदा उनलाई समग्रमा २ हजार ६ सय ६० रुपैयाँ पर्न गयो ।

स्थानीय डिलरले सर्वसाधारणलाई ग्यास नदिएकोमा भने उनको ठूलो गुनासो छ । डिलरमा सोध्न जाँदा ‘ग्यास सर्टेज छ’ भन्ने तर चिनेजानेकालाई भने भित्रभित्रै लुकाएर दिने गरेको उनको आरोप छ ।

खाली पेटमा ग्यास कुरिरहँदा उनको दैनिकीमात्र होइन, स्वास्थ्यमै असर परेको उनी बताउँछिन् ।

‘म त औषधि खानुपर्ने मान्छे, बिहानैदेखि भोकै हुँदा औषधि खान पाएकी छैन,’ उनले सुनाइन्, ‘कतिबेला ग्यास पाइएला र यहाँबाट निस्किउँला जस्तो भएको छ ।’

विश्वमाया र भरतमणिको यो कथा ग्यास अभावले आम सर्वसाधारणलाई पारेको प्रभावको एउटा सानो झिल्कोमात्र हो ।

आज मात्रै ग्यास अभावको सास्ती खेपेका ५–६ सय उपभोक्ता बिहानै ६ बजेदेखि टेकुमा ग्यास पाउने आशामा लामबद्ध थिए ।

बागबजार बस्ने विद्यार्थी निराजन कुँवरको कोठामा पनि ग्यास सकिएको छ । एभरेस्ट ग्यास प्रयोग गर्दै आएका उनी विगत केही दिनदेखि डिलर धाउनमै व्यस्त थिए । तर, डिलरबाट ग्यास पाउनु अहिले युद्ध जित्नुसरह भएको उनी सुनाउँछन् ।

आठ दिनअघि नै नजिकैको डिलरमा नाम टिपाएका निराजनलाई ५ दिनमा ग्यास आउँछ भनिएको थियो । तर, ८ दिन बितिसक्दा पनि ग्यास नपाएपछि उनी निराशमात्र छैनन्, आक्रोशित पनि छन् । ‘सधैं डिलरले ग्यास छैन भनेपछि आज त डिलरसँग झगडै गरेर टेकुमा लाइन बस्न आएको हो,’ उनले भने ।

उनको अनुभवमा डिलरले सर्वसाधारण र विद्यार्थीलाई ग्यास नदिई आफ्ना नजिकका र चिनेजानेका मान्छेलाई मात्र भित्रभित्रै वितरण गरिरहेका छन् ।

‘दुई महिनादेखि ग्यास छैन भन्छन्, तर म जहाँ बसिरहेको छु, त्यही रुमको साइडमा आफ्ना नजिकका मान्छेलाई भने दिइरहेका छन्,’ उनले भने, ‘हामीलाई भने ग्यास दिएका छैनन्, डिलरहरूले पक्षपातपूर्ण व्यवहार गरेका छन् ।’

भूगोल र जनताको वास्तविक समस्या नबुझ्ने सांसदहरूले जनताको पक्षमा काम गर्न नसकेको उनको आरोप छ । ग्यासको हाहाकार हुँदा पनि राज्य संयन्त्र मौन बस्नु र डिलरको मनपरीमाथि अनुगमन नहुनु आम उपभोक्तामाथि गरिएको अन्याय र शोषण भएको उनको आरोप छ ।

विद्यार्थीका दु:ख : कक्षा छुट्यो, भोकै परियो

टेकुस्थित ग्यास वितरण केन्द्रमा लाइन बस्नेहरूको भिडमा कीर्तिपुरबाट आएका प्रदीप भट्ट पनि छन् । कक्षा १२ अध्ययन सकेर हाल ‘आईईएलटीएस’ तयारी गरिरहेका उनी बिहान ६ बजे नै ग्यासको खाली सिलिन्डर बोकेर टेकु आइपुगेका हुन् । ग्यास पाइने आशमा लाइनमा बस्दाबस्दै उनको आजको कक्षा पनि छुट्यो ।

आउँदा पठाओ मार्फत सिलिन्डर राखेर आएका उनलाई भरिएको ग्यास लिएर कसरी फर्कने भन्ने अर्को ठूलो पिरलो थियो । उनीसहित चार जना साथी ग्यास लिएर फर्कन खोजिरहेका थिए तर कुनै पनि ट्याक्सी वा राइडरले ग्यास बोक्न नमानिरहेको उनले सुनाए । ‘यहाँबाट कोही लग्न मानिरहेको छैन, न कोही ट्याक्सीले मान्छ, न अरू कसैले, थपेर पैसा दिन्छु भन्दा पनि मानेनन् ।’

नयाँ सरकार गठन हुँदा घरघरमा सेवा–सुविधा पुर्‍याउने आश्वासन बाँडिएको भए पनि अहिले एउटा ग्यासका लागि सर्वसाधारणले यसरी सडकमा भौँतारिनुपरेकामा प्रदीप सरकारी व्यवस्थासँग आक्रोशित छन् ।

यही लाइनमा पालो पर्खिरहेका अर्का उपभोक्ता मनोज अछामीले टेकुको लाइनमा आइपुग्नुअघि बिहानै चार–पाँचवटा स्थानीय डिलर चहारेका थिए । तर, सबैतिरबाट ग्यास छैन भन्ने तयारी जवाफ पाए ।

कतिपय ठाउँमा त चरम कालोबजारी भएको समेत उनले सुनाए । डिलर र व्यापारीहरूले सहजै ग्यास नदिने तर नयाँ ग्यास किन्ने भए ९ हजार रुपैयाँसम्ममा मिलाइने भन्ने गरेको उनको आरोप छ ।

‘ग्यासमा यस्तो खुलेआम कालोबजारी र मनपरी मूल्य हुँदा पनि सरकारी निकाय मौन छ,’ उनले भने, ‘सरकारलाई उपभोक्ता ठगिएको थाहा छैन, उल्टै दोष थोपरेर बसेको छ ।’

काठमाडौं उपत्यका मात्रै होइन, अहिले देशभरिकै मुख्य सहरका चोकहरूमा एक सिलिन्डर ग्यास पाउनकै लागि उपभोक्ता दिनभरि लाइनमा उभिन बाध्य भएका छन् ।

दुई सातादेखि उपभोक्ता टन्टलापुर घाम र दर्केको झरीमा आफ्ना नजिकका ग्यास डिलरमा ग्यास खोज्न भौँतारिरहेका छन् । तर, नजिकको डिलरले उद्योगबाटै ग्यास नआएको र छैन भनेपछि अहिले उपभोक्ता विभिन्न उद्योगमै पुगेर लाइन लाग्न थालेका हुन् ।

आयल निगमको अदूरदर्शी निर्णयले ग्यासको हाहाकार

बजारको वास्तविक अवस्था र मागको कुनै विश्लेषण नै नगरी आयल निगमले गरेको अपरिपक्व निर्णयका कारण यतिबेला काठमाडौं उपत्यका सहित देशभरि ग्यासको चरम अभाव सिर्जना भएको छ । निगमको व्यवस्थापकीय कमजोरीका कारण सामान्य अवस्थामा भन्दा धेरै ग्यास आयात भइरहँदा पनि आपूर्ति प्रणाली भने अस्तव्यस्त बन्न पुगेको छ ।

यसअघि गत पुस अन्तिम सातातिर पनि बजारमा ग्यासको माग यसैगरी ह्वात्तै बढेको थियो । उक्त संकट टार्न निगमले २९ माघदेखि बजारमा ७.२ किलो (आधा) मात्र ग्यास भरिएका सिलिन्डर पठाउने जुक्ति निकालेको थियो ।

आधा ग्यास भर्दा बजारमा सिलिन्डर संख्या दोब्बर पुगेको थियो, जसले गर्दा तत्कालीन अवस्थामा अभाव सहजै टरेको थियो । माघदेखि असार मसान्तसम्म बजारमा आधा ग्यास भएका सिलिन्डर मात्रै पठाइएको थियो ।

तर, ३१ असारदेखि निगमले एक्कासि भरी सिलिन्डर बजार पठाउने निर्णय गर्‍यो । आपूर्ति क्षमता नबढाइ पूर्ण तौलको सिलिन्डर प्रयोगमा ल्याउनासाथ बजारमा ग्यासको माग रातारात दोबर हुन पुग्यो, जसले अहिलेको संकट निम्त्याएको देखिन्छ ।

ग्यास नपाएर डिलरहरूमा उपभोक्ताको लामो लाइन लाग्न थालेपछि र सर्वत्र विरोध भएपछि निगमले १६ साउन (शनिबार) देखि टेकुस्थित आफ्नो पुरानो कार्यालयबाट प्रत्यक्ष ग्यास वितरण गर्ने व्यवस्था मिलाएको थियो ।

उपत्यकाको आपूर्तिलाई सहज बनाउन त्यहाँबाट नेपाल, एचपी, एभरेस्ट, सुगम र श्रीराम ब्रान्डका ग्यास उद्योगीले बेचिरहेका छन् ।

समस्या आपूर्तिमा होइन, वितरणमा : आयल निगम

निगमले पछिल्लो चार दिनमा मात्रै त्यहाँबाट झन्डै ३ हजार ग्यास सिलिन्डर सर्वसाधारणलाई बिक्री गरिएको बताएको छ ।

निगम प्रवक्ता मनोज ठाकुरले दिएको तथ्यांक अनुसार शनिबारदेखि मंगलबारसम्म विभिन्न ब्रान्डका गरी जम्मा २ हजार ९ सय ९६ सिलिन्डर ग्यास वितरण भएको छ ।

वितरण सुरु गरिएको पहिलो दिन शनिबार जम्मा १ सय ७५ सिलिन्डर मात्र बाँडिएको थियो । जसमा नेपाल ग्यास ९०, एभरेस्ट ४४ र श्रीराम ग्यास ४१ वटा थिए ।

तर, दोस्रो दिन आइतबार भने ग्यास वितरण संख्या ह्वात्तै बढेर १ हजार १० पुग्यो । उक्त दिन नेपाल ग्यास ३ सय २०, एभरेस्ट ४ सय ५०, श्रीराम ८० र एचपी त्रिवेणी १ सय ६० वटा वितरण गरिएको थियो ।

त्यसैगरी सोमबार जम्मा ९ सय ५० सिलिन्डर ग्यास बाँडिएको निगमले जनाएको छ । सोमबार नेपाल ग्यास ३ सय ४०, एभरेस्ट ३ सय १०, एचपी त्रिवेणी १ सय ६० र श्रीराम १ सय ४० वटा वितरण भएका थिए ।

प्रतिक्रिया दिनुहोस्