
तुलसीपुर । भुमि सम्बन्धी समस्या समाधान आयोगले सुकुम्बासीलाई लालपुर्जा वितरण गर्नका लागि प्रतिवद्ध भएर अगाडी वढेको वताइएको छ । आयोजका सदस्य सचिव लिलाप्रसाद शर्माले लामो समयदेखि सुकुम्बासी समस्या समाधान हुन नसकेको वताउँदै यसपटक केही आशालाग्दो ढँगले काम अगाडी वढेको वताए ।
‘विभिन्न समयमा आयोग वनेको भएपनि त्यसले काम गर्न नसकेको अवस्थामा हामीले केही नयाँ ढँगले काम गर्ने प्रयास गरेका छौं’ आयोगका सदस्य सचिव शर्माले वताए ।
अव्यवस्थित बसोबासी र सुकुम्बासी गरेर दुई ढँगले वसोवास गरेकाहरुलाई व्यवस्थापन गर्न आयोगले काम अगाडी वढाएको पनि उनको भनाई थियो । ‘विभिन्न ठाउँमा घर जग्गा भएर पनि खोला, सडक किनार र वनमा लामो समयदेखि वस्दै आएका अव्यवस्थित बसोबासी र केही पनि जग्गा नभएका सुकुम्बासीहरुको समस्या समाधानका लागि आयोगले दुई खाले ढँगले काम अगाडी वढाएको छ ’ सदस्य सचिव शर्माले भने ।
उनले सुकुम्बासीलाई निशुल्क लालपुर्जा दिने योजनामा आयोग रहेको समेत जानकारी दिए ।
विद्यालय, मसानघाट, मन्दिर लगायत अन्य साँस्कृतिक महत्वका ठाउँमा जग्गा अतिक्रमण गरेर बसेकाहरुलाई नयाँ ठाउँमा व्यवस्थित गरिने समेत उनको भनाई थियो । ‘बसिरहेको ठाउँ या अन्य कहाँ राख्ने भन्ने कुरामा आयोगले नै निर्णय गर्नेछ’ उनले जानकारी दिए ।
दाङ्गका विभिन्न पालिका प्रमुखहरुको सहभागिता रहेको कार्यक्रममा लालपुर्जा वितरणले देशको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने जानकारी गराईएको थियो । ‘करिब १ खर्व राजस्व संकलन हुने हामीले आँकलन गरेका छौ’ उनले भने । सदस्य सचिव शर्माका अनुसार जग्गा र बसोबासीको अवस्था हेरेर ८ प्रतिशतदेखि २ सय प्रतिशतसम्म राजस्व असुल गरिनेछ ।
गलत सिफारिस गरे कारबाही
जग्गा वितरणका लागि अभिलेखिकरणको सम्पूर्ण जिम्मा स्थानीय सरकारमा रहेको वताउँदै निहित स्वार्थका कारण कसैले गलत सिफारिस गरेमा कारबाही गर्ने गरी आयोगले कानुन बनाएको समेत उनले वताए । ‘जनतालाई प्रभावित पार्नका लागि जनप्रतिनिधिले गलत सिफारिस गरेमा सामाजिक प्रतिष्ठा त विग्रन्छ नै कानुनी रुपमा समेत कारबाही भोग्नुपर्ने हुन्छ’ उनले भने ।
जनप्रतिनिधिका लागि तालिमको व्यवस्था गरेर अभिलेखिकरणको काम अगाडी वढाइने समेत उनको भनाई थियो । बास्तविक सुकुम्बासीले जग्गा पाउन सकुन् भन्नका लागि जनप्रतिनिधिहरुको भुमिका विशेष हुने उनको भनाई थियो । सदस्य सचिव शर्माले तुलसीपुर, दंगिशरण, शान्तिनगर र बबईमा यसैवर्ष काम सम्पन्न गर्ने गरी योजना वनेको समेत जानकारी दिए ।
लालपुर्जा बाँड्न आतुर छौ ः जनप्रतिनिधि
आयोगले गरेको कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरुले लालपुर्जा वितरण गर्न आतुर भएको कुरा वताएका थिए । जनताले लामो समयदेखि प्रतिक्षा गरिरहेको वताउँदै स्थानीय सरकारले आयोगलाई सहयोग गर्ने प्रतिवद्धता समेत उनीहरुले व्यक्त गरेका थिए । ‘भूमि व्यवस्थापन सबैको साझा समस्या हो , हामी सहयोगका लागि प्रतिवद्ध भएर लाग्ने छौ’ तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले भने ।
उनले तुलसीपुरलाई मुख्य स्टेशन वनाएर पश्चिम दाङ्गका चार पालिकामा काम गर्नका लागि आयोगलाई अगाडी वढ्न सुझाव समेत दिए । एक अर्को प्रसङ्गमा नगरप्रमुख पाण्डेले भूमि व्यवस्थापन सूचना केन्द्र बनाउनका लागि अनुरोध समेत गरे । भुमिको सूचना हरेक ठाउँमा अलग अलग राख्नुभन्दा पनि एउटै केन्द्र वनाएर राख्न उनले सुझाए । जनशक्ति व्यवस्थापनका हिसाबले तुलसीपुरले सबै तयारी गरिसकेको वताउँदै आयोगलाई अगाडी वढ्न अनुरोध गरे ।
बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले अभिलेखिकरणको काम पुरा भएको वताउँदै सुकुम्बासी भन्दा पनि अव्यवस्थित बसोबासीको समस्या थप जटिल भएको जानकारी दिए । दंशिरण गाउँपालिकाकी उपाध्यक्ष पिमा खड्काले जनतामा लामो समयदेखिको सपना पुरा हुने आशा पलाएको वताईन् ।
कार्यक्रममा आयोगका केन्द्रीय सदस्य शोभाराम बस्नेतले एक वर्षमा सबैले लालपुर्जा पाउने गरी काम अडाडी वढेको जानकारी दिए । विगतमा भन्दा यसपटक प्राविधिक ढँगले काम गर्न सहज भएको उनको भनाई थियो । नेकपाका जिल्ला अध्यक्ष टिकाराम खड्काले सुकुम्बासी पहिचान र लालपुर्जा वितरणको काम सहज नभएको वताउँदै भू माफियाहरुको चलखेल रोक्न विशेष चासो दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा वडाध्यक्ष माधव वली र लक्ष्मण चौधरी, नेकपाका केन्द्रीय सदस्य रामप्रसाद ज्ञवाली, नेताहरु कृष्ण बैरागी, रामजी चौधरी मिलन लगायतले विचार राखेका थिए ।


प्रतिक्रिया दिनुहोस्