काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आगामी कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गरिने भएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाले आज सूचना जारी गर्दै सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट टोल शुल्क संकलन सुरु गरिने जनाएको हो।
सडक बोर्ड नेपालको कार्यकारी समितिको ०८३ असोज १२ गतेको निर्णय तथा ०८२ चैत २६ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाबमोजिम शुल्क संकलन गर्न लागिएको आयोजनाले जनाएको छ।
सूचनाअनुसार सवारीसाधनलाई चार वर्गमा विभाजन गरी काठमाडौं प्रवेश गर्ने र काठमाडौंबाट बाहिरिने सवारीसाधनका लागि फरक–फरक शुल्क निर्धारण गरिएको छ।
निर्धारित शुल्कअनुसार कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौंबाट बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ।
त्यस्तै, मिनीबस, मिनी टिपर तथा ट्रकले काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ टोल शुल्क तिर्नुपर्नेछ।
बस तथा सिंगल रियर एक्सेल भएका ट्रकका लागि काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
यसैगरी, मल्टी एक्सेल ट्रक, अन्य ठुला सवारीसाधन तथा भारी उपकरणले काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र काठमाडौंबाट बाहिरिँदा २५० रुपैयाँ टोल शुल्क तिर्नुपर्नेछ।
नयाँ व्यवस्थासँगै नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले तोकिएको दरअनुसार सडक उपभोग दस्तुर तिरेर आवतजावत गर्नुपर्नेछ।
लोकप्रिय खबर






प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्