ब्रेकिङ्ग खबर

एनपीएलमा आज सुदूरपश्चिमविरुद्ध पोखरा भिड्दै

खबरशाला संवाददाता खबरशाला संवाददाता • ३ घण्टा अगाडि • ४१ पटक पढिएको

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा बुधबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दै छन्। साँझ ५ बजे टियू मैदान कीर्तिपुरमा सुरु हुने खेलमा सुदुरपश्चिम पहिलो जितको खोजीमा हुँदा पोखरा आफ्नो पहिलो खेलमा जित निकाल्ने प्रयास गर्ने छ।

यसअघि सुदूरपश्चिम उद्घाटन खेलमै लुम्बिनी लायन्ससँग पराजित हुन पुगेको थियो। अघिल्ला दुई संस्करणमा प्लेअफ पुग्न नसकेको पोखरा यसपटक सुरुवातदेखि नै आफूलाई पनि दाबेदार टोलीका रुपमा प्रस्तुत गर्ने प्रयासमा हुने छ। अर्कोतर्फ, दुइपटकको फाइनलिस्ट सुदुरपश्चिम जारी संस्करणको पहिलो खेलमा कमजोर प्रदर्शनको सिकार हुँदा लय समाउने प्रयासमा मैदानमा उत्रिने छ।

कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले यस सिजन विदेशी खेलाडीमा ठूलो भरोसा राखेको छ। बंगलादेशका शाकिब अल हसनसहित केही अनुभवी विदेशी खेलाडी टोलीमा रहँदा सुदूरपश्चिम कप्तान दीपेन्द्रसिंह ऐरीको अलराउन्डर प्रदर्शनको अपेक्षामा रहेको छ।

पहिलो खेलमा लुम्बिनी लायन्ससँग पराजित भएपछि सुदूरपश्चिम रोयल्सका प्रशिक्षक मिसबाह उल हकले ब्याटिङ राम्रो हुन नसकेको र आगामी खेलमा उक्त कमजोरी सुधार्नुपर्ने बताएका थिए। आज टोलीले आफूलाई कति सुधार गर्ने छ। त्यसले पोखरा विरुद्धको प्रतिस्पर्धालाई कति प्रतिस्पर्धात्मक बनाउँछ भन्ने कुरा महत्वपूर्ण हुने छ।

सुदूरपश्चिमले सिजनको पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटको हारेको थियो। तर उक्त खेलमा सुदूरपश्चिम केबल ८७ रनमै समेटिएको थियो। त्यसैले पोखराविरुद्ध ब्याटिङमा सुधार गर्नु टोलीको प्राथमिकता हुने छ। हेड टु हेडमा भने सुदूरपश्चिम अघि छ।

एनपीएलका अघिल्ला दुई सिजनमा भएका दुवै भेटमा सुदूरपश्चिमले पोखरालाई हराएको थियो। पहिलो सिजन सुदूरपश्चिम पाँच रनले विजयी भएको थियो भने दोस्रो सिजन १८ रनको जित निकालेको थियो। तर यो पटक पोखरा आफूलाई बलियो टोलीका रुपमा देखाउन पनि पहिलो खेलमा दाबेदार सुदुरपश्चिमलाई हराउने लक्ष्यका साथ मैदान उत्रिने छ।

प्रतिक्रिया दिनुहोस्

० वटा प्रतिक्रिया

यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

मोबाइल नम्बर एडमिनलाई मात्र देखिनेछ।