काठमाडौँ । मुलुकले तिर्नुपर्ने सार्वजनिक ऋणको दायित्व ३० खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापनले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को असोजसम्मको मासिक प्रतिवेदन अनुसार कुल सार्वजनिक ऋणको दायित्व ३० खर्ब नौ अर्ब ११ करोड ६६ लाख रुपियाँ पुगेको छ । कुल ऋण दायित्वमध्ये वैदेशिक ऋण मात्रै १५ खर्ब ९८ अर्ब ८० करोड रुपियाँ रहेको छ, जुन कुल ऋणको ५३.१३ प्रतिशत हुन आउँछ ।
त्यस्तै कुल ऋणको ४५.५९ प्रतिशत अर्थात् १४ खर्ब १० अर्ब ३१ करोड रुपियाँ आन्तरिक ऋण दायित्व रहेको प्रतिवेदनमा उल्लेख छ । चालु आवको तीन महिना अर्थात् असोज मसान्तसम्म मात्रै एक खर्ब २३ अर्ब ३२ करोड रुपियाँ ऋण थपिएको प्रतिवेदनले देखाउँछ ।
जसमध्ये सरकारले एक खर्ब रुपियाँ आन्तरिक ऋण र २३ अर्ब ३२ करोड रुपियाँ बाह्य ऋण परिचालन गरिसकेको छ । चालु आवमा मात्रै सरकारले छ खर्ब ५८ अर्ब २८ करोड रुपियाँ ऋण परिचालन गर्ने लक्ष्य राखेको छ ।
९९ अर्ब ऋण भुक्तानी
सरकारले ऋण मात्र उठाइरहेको छैन यससँगै ऋणको भुक्तानीलाई पनि निरन्तर दिइरहेको छ । असोजसम्म मात्रै करिब ९९ अर्ब रुपियाँ ऋण दायित्व भुक्तानी गरेको कार्यालयले जनाएको छ । जसमध्ये आन्तरिक ऋणबापत ८२ अर्ब ७४ करोड रुपियाँ भुक्तान भएको छ ।
यस अन्तर्गत पनि साँवाबापत ६५ अर्ब १० करोड र ब्याजबापत १७ अर्ब ६३ करोड रुपियाँ भुक्तानी भएको विवरण प्रतिवेदनमा छ ।
वैदेशिक ऋणबापत कार्यालयले पछिल्ला तीन महिनामा १६ अर्ब १३ करोड रुपियाँ भुक्तानी गरेको छ । जसमध्ये १२ अर्ब ६४ करोड साँवा र तीन अर्ब ४९ करोड ब्याज भुक्तानी भएको छ । चालु वर्ष सरकारले चार खर्ब १७ अर्ब ८८ करोड रुपियाँ ऋण भुक्तानी गर्ने लक्ष्य राखेको छ ।
अर्थतन्त्रको ४५ प्रतिशत नाघ्यो
नेपालको कुल ऋण दायित्व अर्थतन्त्रको आकारको अनुपातमा भने ४५.५९ प्रतिशत पुगेको छ । जसमध्ये बाह्य ऋण अर्थतन्त्रको तुलनामा २४.२२ र आन्तरिक ऋण दायित्व २१.३७ प्रतिशत रहेको छ । ऋणबापत सरकारले तीन महिनामा गरेको भुक्तानी अर्थतन्त्रको आधारमा भने १.५० प्रतिशत हुन आउँछ ।





प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्