काठमाडौं, असोज ४ गते। नेपालीहरूको महान् चाड बडादसैँअन्तर्गत आज विजयादशमीका दिन घरघरमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ। दसैँको मुख्य दिनका रूपमा मनाइने विजयादशमीमा परिवारका सदस्य तथा आफन्तहरू भेला भएर निधारमा टीका लगाउने, जमरा ग्रहण गर्ने र सुख, शान्ति, समृद्धि तथा दीर्घायुको कामना गर्ने चलन छ।
टीका लगाउने क्रममा कसरी बस्ने, टीका लगाइदिने व्यक्ति र ग्रहण गर्ने व्यक्तिले कुन दिशातर्फ फर्कने तथा जमरा कसरी ग्रहण गर्ने भन्ने विषयमा पनि धेरैको चासो रहने गरेको छ। यस विषयमा धार्मिक परम्परा, पारिवारिक चलन र पञ्चाङ्गमा उल्लेखित साइतलाई महत्त्व दिने गरिन्छ ।
टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष २०८३ सालको विजयादशमीमा टीका लगाउने उत्तम साइत बिहान १० बजेर २६ मिनेट तोकिएको छ। देवी विसर्जनको साइत बिहान ८ बजेर ४९ मिनेट रहेको छ। समितिका अनुसार टीका थाप्न उत्तम साइत कुरेर बस्न नसक्ने सर्वसाधारणले विजयादशमीका दिन दिनभरि मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन्।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको जानकारीअनुसार यस वर्ष टीका लगाउँदा टीका लगाइदिने व्यक्ति पूर्व दिशातर्फ फर्कने र टीका थाप्ने व्यक्ति पश्चिम दिशातर्फ फर्कनु पर्ने छ । त्यसैगरी विजयादशमीका दिन घरमा स्थापना गरिएको घट तथा नवदुर्गाको पूजापछि देवीको प्रसादका रूपमा टीका र जमरा ग्रहण गर्ने धार्मिक परम्परा छ । सामान्यतया टीका लगाउँदा घरमा पूजा तथा देवी विसर्जनसम्बन्धी परम्परा पूरा गर्ने,घरका ज्येष्ठ सदस्य, गुरु, पुरोहित वा मान्यजनबाट टीका र जमरा ग्रहण गर्ने, निधारमा रातो टीका लगाउने र शिरमा जमरा सिउरिने,मान्यजनबाट सुख, शान्ति, दीर्घायु, प्रगति र समृद्धिको आशीर्वाद लिने र परिवारका सदस्य तथा आफन्तबीच शुभकामना आदानप्रदान गर्ने परम्परा रहेको छ ।
साइतभन्दा पनि महत्त्वपूर्ण पारिवारिक सद्भाव
धार्मिक परम्पराअनुसार साइतमा टीका लगाउने चलन रहे पनि सामान्य सर्वसाधारणले साइतकै कारण टीका लगाउनबाट वञ्चित हुनुपर्ने अवस्था नरहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। त्यसैले पारिवारिक सुविधा र परम्पराअनुसार मान्यजनबाट टीका, जमरा तथा आशीर्वाद ग्रहण गर्न सकिन्छ। विजयादशमीले असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय तथा आपसी प्रेम, सद्भाव र एकताको सन्देश दिने विश्वास गरिन्छ। यही विश्वासका साथ आज देशभर हर्षोल्लासपूर्वक बडादसैँ मनाइँदै छ।





प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्