राष्ट्रिय जनगणनाको तयारी पूरा

–प्रकाश सिलवाल  |  कार्तिक २२, २०७८

–प्रकाश सिलवाल


केन्द्रीय तथ्याङ्क विभागले हरेक नागरिकको घर–घरमा पुग्ने गरी राष्ट्रिय जनगणना २०७८ को तयारी पूरा गरेको छ । यही कात्तिक २५ गतेदेखि आउँदो मङ्सिर ९ गतेसम्म हुने गणनाका लागि ४० हजार गणक र आठ हजार १६ जना सुपरीवेक्षकलाई तालिम दिइसकिएको छ । सामाजिक, आर्थिक, भौगोलिक, भौतिक पूर्वाधार र अन्य पक्ष समेटिने गणनाका लागि केन्द्रदेखि वडा स्तरसम्मका समन्वय संरचना तयार गरिएको छ । 

उनले पहिलो पटक देशभरकै घर तथा संरचनाको तथ्याङ्क सूचीकरण हुन लागेकाले भूकम्पलगायत विपद्का अवस्थामा राहत, पुनःस्थापना र पुनः निर्माणका लागि योजना बनाउन सघाउने बताए ।

राष्ट्रिय जनगणना २०७८ का सन्दर्भमा मिडिया एक्सन नेपाल (म्यान) ले आज आयोजना गरेको सञ्चार अभिमुखीकरण कार्यक्रममा युएनएफपिए नेपाल कार्यालयका अधिकृत इञ्चार्ज डा.हसिना बेगमले कोभिड– १९ को चुनौतीका बीच जनगणना हुने तयारी भएकाले यस विषयसँग सम्बन्धित मुद्दालाई सञ्चारमाध्यमले उचित स्थान दिने विश्वास व्यक्त गरिन्  ।

नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले राज्यले अघि बढाएका महत्वपूर्ण कार्यक्रममा नागरिकलाई सहभागी गराउन सञ्चार क्षेत्रले प्राथमिकताका साथ समाचार सम्प्रेषण गर्नुपर्ने बताउँदै जनगणनालाई दायित्वका रुपमा लिएर अभियानकै रुपमा सही तथ्याङ्क सङ्कलनका लागि सम्बन्धित निकायलाई खबरदारी गर्न आग्रह गरे ।

वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले सत्य तथ्यका आधारमा पत्रकारले जनतालाई सुसूचित गराउनुपर्ने बताए । वरिष्ठ पत्रकार नम्रता शर्माले खोजी पत्रकारिताको समेत प्रयोगबाट जनगणना जस्ता विषयलाई यथार्थपरक रुपमा सम्पन्न गराउन पत्रकारिताले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताइन् ।

म्यानका अध्यक्ष लक्ष्मणदत्त पन्तले जनगणनाको पूर्वसन्ध्यामा सातै प्रदेशका करिब दुई सय पत्रकारलाई विषयवस्तुमा अभिमुखीकरण गराइएको जानकारी दिए । नेपालमा हरेक १०/१० वर्षमा एक पटक राष्ट्रिय जनगणना हुने गरेको छ । मुलुकमा पहिलो जनगणना एक सय ९ वर्षअघि विसं १९६८ मा चन्द्रशमशेर राणा प्रधानमन्त्री भएका बेला थालनी भएको थियो । राससबाट

प्रतिक्रिया दिनुहोस