सार्क मुलुकमा नेपाल सक्रिय संक्रमण दरमा दाेस्राे

खबरशाला संवाददाता  |  बैशाख २, २०७८

काठमाडौँ : दक्षिण एसियामा नै भारतपछि नेपाल कोरोना विरुद्धको खोप लगाउने पहिलो मुलुक भएको सरकारले अभिव्यक्ति दिइरहेको छ। संसदमा विश्वासको मत गुमाउनुभन्दा केही मिनेट अगाडी पनि प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको खोप लगाउने पहिलो देश भएको अभिव्यक्ति दिए।

तर, यति बेला नेपाल सार्क मुलुकमध्येकै कोरोना भाइरस सक्रिय संक्रमण दरमा मालदिभ्सपछि दोस्रो स्थानमा छ। मालदिभ्समा सक्रिय सङ्क्रमित हुनेको दर २२.८ प्रतिशत छ। निको हुने दर ७६.९ प्रतिशत छ भने मृत्युदर ०.२ प्रतिशत रहेको छ। 

सार्क मुलुकहरुमध्ये मालदिभ्सपछि नेपाल नै हो, सक्रिय संक्रमणदर बढी हुने मुलुक। नेपालमा सक्रिय सङ्क्रमित हुनेको दर १९.७ प्रतिशत छ। निको हुने दर ७९.४ प्रतिशत छ भने मृत्युदर १ प्रतिशत रहेको छ। भारतको भन्दा पनि बढी छ नेपालको सक्रिय सङ्क्रमण दर। 

वैशाख १ गते नेपालमा सक्रिय संक्रमणदर १.१ प्रतिशत रहेकोमा १५ गतेसम्म आइपुग्दा यो दर बढेर ७.४ प्रतिशत पुग्यो। 

भारतमा सक्रिय सङ्क्रमित हुनेको दर १७ प्रतिशत छ। निको हुने दर ८१.९ प्रतिशत छ भने मृत्युदर १.१ प्रतिशत रहेको छ। सार्क मुलुकमध्ये मालदिभ्स र नेपालपछि भारत सक्रिय संक्रमण दर बढी हुने तेस्रो मुलुकमा परेको छ। 

सक्रिय सङ्क्रमित बढी हुने सार्क मुलुकमध्ये श्रीलङ्का चौथोमा परेको छ। श्रीलङ्कामा सक्रिय सङ्क्रमित हुनेको दर १४.९ प्रतिशत छ। निको हुने दर ८४.५ प्रतिशत छ भने मृत्युदर ०.६ प्रतिशत रहेको छ। 

त्यसै गरी भुटानमा सक्रिय सङ्क्रमित हुनेको दर ११.४ प्रतिशत छ। निको हुने दर ८८.५ प्रतिशत छ भने मृत्युदर ०.१ प्रतिशत रहेको छ। सक्रिय सङ्क्रमित बढी हुने सार्क मुलुकमध्ये भुटान पाँचौँ स्थानमा पर्छ। सार्क मुलुकमध्ये भुटानको मृत्युदर सबैभन्दा कम हो।

सार्क मुलुकमध्ये सक्रिय संक्रमण संक्रण दरमा पाकिस्तान छैटौँ स्थानमा रहेको छ। पाकिस्तानमा सक्रिय सङ्क्रमित हुनेको दर ९.८ प्रतिशत छ। निको हुने दर ८८ प्रतिशत छ भने मृत्युदर २.२ प्रतिशत रहेको छ। 

सार्क मुलुकमध्ये सक्रिय संक्रमण दरमा अफगानिस्तान सातौंं स्थानमा रहेको छ। अफगानिस्तानमा सक्रिय सङ्क्रमित हुनेको दर ७.८ प्रतिशत छ। निको हुने दर ८७.९ प्रतिशत छ भने मृत्युदर ४.४ प्रतिशत रहेको छ। सार्क मुलुकमध्ये अफगानिस्तानको मृत्युदर सबैभन्दा बढी हो।

सार्क मुलुकमध्ये बङ्गलादेशमा सक्रिय सङ्क्रमण दर सबैभन्दा कम छ। बङ्गलादेशमा सक्रिय सङ्क्रमित हुनेको दर ७.२ प्रतिशत छ। निको हुने दर ९१.३ प्रतिशत छ भने मृत्युदर १.५ प्रतिशत रहेको छ।

विश्वमा १६ करोड ३ लाख ९ हजार ५ सय ८० जना व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भइसकेको छ। विश्वमा (सङ्क्रमितमध्ये) सक्रिय सङ्क्रमण दर ११.९ प्रतिशत छ भने निको हुने दर ८६ प्रतिशत छ। 

त्यसै गरी विश्वमा ३३ लाख ३० हजार ४ सय ३५ जना कोरोना सङ्क्रमित व्यक्तिले ज्यान गुमाइसेका छन्। सङ्क्रमणका कारण विश्वको मृत्युदर २.१ प्रतिशत रहेको छ। विश्वमा १३ करोड ८० लाख ४८ हजार ७ सय ७६ जना सङ्क्रमण मुक्त भएका छन्। 

०००

नेपालका अस्पतालमा कोरोना सङ्क्रमितलाई उपचारका लागि अक्सिजन, आइसियु तथा भेन्टिलेटरको चरम अभाव देखिएको छ। अस्पतालका पीढीमा पनि उपचार हुने व्यवस्था छैन। उचित उपचारको अभावमा सङ्क्रमितहरूले ज्यान गुमाउनुपरेको छ। सरकारले अक्सिजनमा कोटा निर्धारण गरेपछि अस्पतालहरूले नयाँ बिरामी भर्ना लिनै छाडेका छन्।  

अर्कातर्फ घाटमा जलाउन पालो कुर्नु पर्ने अवस्था छ। पशुपति आर्यघाटमा विद्युतीय सवदाह गृहले नधान्दा बागमतीको बगरैभरि सङ्क्रमणका कारण मृत्यु भएकाको शव जलिरहेका छन्। पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत कुमार थापामगर सङ्क्रमणका कारण मृत्यु भएका शवको सङ्ख्या बढ्दा शव दाहमा नै चुनौती भएको बताउँछन्। उनले भने,चुनौती त छ नि। दिनको ७५/८० वटा शव आउन थालेका छन्।’ शव जलाउने व्यक्तिलाई भ्याइनभ्याइ छ। अस्पताल र पशुपति आर्यघाटको दृश्य कहाली लाग्दो देखिन्छ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेर बहादुर पुन अझै करिब एक महिना कोरोना भाइरस सङ्क्रमण उच्च हुनसक्ने आकलन गर्छन्। त्यसपछि कम हुँदै जान सक्ने उनको आकलन छ। एक महिनापछि कसरी कम हुँदै जान्छ भन्ने जिज्ञासामा उनले भने, ‘सबै सङ्क्रमित भएपछि को नै बाँकी रहला र।’ स्वास्थ्य मापदण्ड तथा भीडलाई कति टाइट गरिन्छ त्यसले नेपालमा सङ्क्रमण कहिलेसम्म उच्च हुन्छ भन्ने कुरामा भर पर्ने उनले बताए।

एक महिनासम्म धेरै व्यक्ति सङ्क्रमित हुनसक्ने उनी बताउँछन्। अव समुदाय मात्रै हैन परिवारका सदस्यले पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाए परिवारका सबै सदस्य सङ्क्रमित हुनबाट बच्न सकिने उनले सुझाए। ‘सङ्क्रमणबाट बच्न परिवारबिच पनि मास्क लगाउनुपर्‍यो। दूरी कायम गर्नुपर्‍यो,’ उनले भने,‘पहिले जे गर्नुपर्ने थियो सकिएन। अव परिवारै सङ्क्रमित भएर कोही बाँकी रहन्नन् कि भन्ने प्रश्न आयो।’ उनले समुदायमा सङ्क्रमण फैलिएर घरघरमा समेत पुगेकाले परिवारका सदस्य सङ्क्रमित हुनबाट कसरी बच्ने भन्ने प्रश्न उब्जिएको बताए।

प्रतिक्रिया दिनुहोस