बेलझुण्डीमा अक्सिजन सकियो, विरामीको ज्यान जोखिममा

खबरशाला संवाददाता  |  बैशाख २८, २०७८


तुलसीपुर । दाङ्गको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा अक्सिजन अभाव भएको छ । । ६१ जना बिरामीहरु भर्ना रहेको अस्पतालमा अक्सिजन अभाव भएको व्यवस्थापनले जनाएकाे छ। अक्सिजनकाे अभावमा पछिल्लो १८ घण्टामा अस्पतालमा ८ जनाले ज्यान गुमाइसकेका छन् ।

बिरामीको अवस्था अनुसार कतिपयलाई धेरै अक्सिजनको आवश्यकता पर्ने भएको हुँदा प्रदेश सरकारले पठाएको अक्सिजन पनि पर्याप्त नभएको अस्पतालका व्यवस्थापक द्रोण वलीले वताए । ‘अब आधा घण्टालाई पुग्ने मात्रै अक्सिजन छ, १२ घण्टापछी मात्रै ‍आउने सूचना आएको छ के गर्ने के गर्ने हामी निकै पिडामा छौ’ वलीले भने । उनले अक्सिजनको व्यवस्थापनका लागि विरामीहरुको परिवारलाई जानकारी गराइएको समेत बताए ।


अस्पतालमा रहेको वडा नम्बर १८ का अध्यक्ष माधव वलीले अवस्था निकै जटिल भएको वताए । ‘विरामी संख्याको आधारमा अक्सिजनको व्यवस्थापन हुन सकेको छैन जतिबेला जे पनि हुन सक्छ’ उनले भने । अक्सिजनका लागि सबैले पहल नगर्ने हो भने अवस्था जटिल हुन सक्छ । ’ वडाध्यक्ष वलीले भने ।


कति चाहिन्छ सिलिन्डर ?


बेलझुण्डीलाई दैनिक ३ सय ६० सिलिन्डर अक्सिजन आवश्यक पर्नेमा प्रदेश सरकारले हिजो पठाएको १ सय ४० सिलिन्डर सहित २ सय ७ सिलिन्डर रहेको व्यवस्थापक वलीले वताए । उनले सप्लायर्सको सहयोगमा बाँकी सिलिन्डर आउने गरेको पनि बताए । ‘हामीले अनुराेध गरेर धान्दै आएका थियाै विरामीकाे चाप बढेसँगै अब त्याे अवस्था पनि रहेन ’

भएकै बिरामीका लागि सिलिन्डर अभाव भएपछी नयाँ विरामी भर्ना गर्न नसकिएकाे पनि उनले जानकारी दिए ।

अस्पताल सही ढँगले सञ्चालन गर्नका लागि १ हजार सिलिन्डर आवश्यक पर्ने पनि उनले वताए । ‘मैले हरेक पटक सरोकारवालालाई वास्तविक कुरा वताउँदै आएको छुँ तर कसैले पनि चासो नदिदा यस्तो अवस्था आएको छ । ’ उनले भने ।


यता तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले अक्सिजन सिलिन्डर व्यवस्थापनका लागि सहयोग गर्न सबैलाई अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस