सहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस

खबरशाला संवाददाता  |  बैशाख ०४, २०७८

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले सहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेको छ। आज सिंहदरबारमा बसेको बैठकले विद्यालयका बालबालिकामा जोखिम बढेको भन्दै सहरी क्षेत्रका विद्यालय बन्द गर्न मन्त्रिपरिषदमा सिफारिस गर्ने निर्णय गरेको हो।

यसअघि स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गर्न सिफारिस गरेका ठाउँका विद्यालय बन्द गर्नेबारे बैठकमा छलफल भएको थियो। मन्त्रालयले काठमाडौं उपत्यकासहितका १५ सहरका विद्यालय बन्द गर्नुपर्ने बताएको छ। यस्तै काठमाडौं, ललितपुर, कास्की, रूपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको छ। अब विद्यालय बन्द गर्ने वा नगर्ने भन्ने निर्णय मन्त्रिपरिषद बैठकले गर्नेछ।

प्रतिक्रिया दिनुहोस