सरकारले स्वास्थ्यसम्बन्धी नयाँ मापदण्ड जारी गर्दै, तत्काल विद्यालय बन्द नहुने

चैत ३१, २०७७

सरकारले आज स्वस्थ्यसम्बन्धी नयाँ मापदण्ड जारी गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्‌को निर्णयअनुसार आज कोरोना भाइरससम्बन्धी नयाँ मापदण्ड जारी गर्न लागिएको हो ।

नेपालमा कोरोनाको दोस्रो लहर सुरु भएसँगै यससम्बन्धी तय भएको मापदण्ड लागू गर्न लागिएको हो । उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले मन्त्रिपरिषद्समक्ष तीन साता विद्यालय बन्द गर्ने लगायतका प्रस्ताव गरेको थियो ।

तर, तत्काल विद्यालय बन्द नगर्ने मन्त्रिपरिषद्‌ले निर्णय गरेको छ । कोरोना भाइरसको केही दिनको अवस्था हेरेर मात्र यससम्बन्धी निर्णय गर्ने सरकारको तयारी छ ।

सरकारले तत्काल कुनै क्षेत्र बन्द गर्ने निर्णय गर्नुपूर्व कोरोनाको नयाँ प्रजातिबारे जनचेतना फैलाउने र नयाँ मापदण्डका बारेमा सार्वजनिक अपिल गर्ने भएको हो ।

सोहीअनुसार उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज सरकारको तर्फबाट नयाँ मापदण्डका बारेमा सञ्चारमाध्यममार्फत सार्वजनिक अपिल गर्ने भएका छन् ।

कम्तिमा ३ साता शैक्षिक संस्था बन्द गर्न सीसीएमसीले मन्त्रिपरिषद्‌मा प्रस्ताव गरे पनि शिक्षा मन्त्रालयले सोमबार गरेको छलफलमा तत्काल शैक्षिक संस्था बन्द नगर्न सरोकारवालाहरूले सुझाव दिएका थिए ।

छलफलमा सरोकारवालाहरूले विद्यालय बन्द गर्ने या नगर्ने भन्ने सम्बन्धी निर्णय गर्ने अधिकार स्थानीय तहलाई हुनुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस