तुलसीपुरको नगरसभामा आधा दर्जन बढी ऐन पेस

खबरशाला संवाददाता  |  फागुन २८, २०७७


तुलसीपुर । मुलुक संघीयतामा गएसँगै स्थानीय तह सरकारका रुपमा रुपान्तरित भएको छ । स्थानीय तहले सरकारका रुपमा काम गर्नका लागि ऐन निर्माण पहिलो शर्त मानिन्छ । तुलसीपुर उपमहानगरपालिकाले पनि कानुन निर्माणलाई तिव्रता दिदै आएको छ ।

‘अधिकार आयो भनेर भएन त्यसको व्यवस्थित ढँगले वैधानिक रुपमा कार्यान्वयन गर्नका लागि कानुन निर्माण गर्नु नितान्त आवश्यक हुन्छ’ तुलसीपुर उपमहानगरपालिकाको अठारौ नगर सभाको पहिलो बैठकमा ऐनहरु प्रस्तुत गर्दै नगर प्रवक्ता सुर्यवहादुर डाँगी श्यामले वताए ।


शुक्रवारको नगर सभामा मात्रै आधा दर्जन बढी ऐनहरु पेश भएका छन् । नगर प्रवक्ता एवम् सुशासन समितिका संयोजक डाँगीले वातावरण तथा जैविध विविधता संरक्षण विधेयक , जलाधार संरक्षण विधेयक , तुलसी मेडल तथा मानपदवी÷ पदक सिफारिस तथा प्रदान गर्ने सम्बन्धि विधेयक, तुलसीपुर जनशक्ति स्रोत केन्द्र सञ्चालन तथा व्यवस्थापन गर्न वनेको विधेयक, स्थानीय तथ्याङ्क र अभिलेख संकलन विधेयक, स्थानीय अभिलेख व्यवस्थापन विधेयक, विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन सभामा पेश गरेका थिए ।

स्थानीय सरकार सञ्चालन ऐन अनुसार नगर सभाको बहुमतले विधेयक पास गर्ने प्रावधान रहेको छ । नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा वसेको नगर सभामा उपप्रमुख माया शर्माले विभिन्न योजना संशोधन तथा रकमान्तरण सम्बन्धि प्रतिवेदन पेश गरेकी थिइन् ।

नगर सभाको बैठकमा विभिन्न विषयगत समितिका संयोजकहरुले उठेका विभिन्न सवालहरुको जवाफ दिएका थिए । नगरसभाको बैठकले विधान समिति संयोजकमा कार्यपालिका सदस्य अमर नेपाली माइकललाई चयन समेत गरेको हो ।

प्रतिक्रिया दिनुहोस