फेसबुक ह्याक हुन नदिन यसो गर्नुहोस्

खबरशाला संवाददाता  |  कार्तिक १५, २०७७

तुलसीपुर । फेसबुक अकाउन्ट ह्याक भएको तथा डेटा लिक भएको कुरा विभिन्न प्रयोगकर्ताको बारम्बार सुनिँदै आएको विषय हो । सबैभन्दा ठूलो सामाजिक सञ्जालको रुपमा रहेको फेसबुक नचलाउने व्यक्ति अहिलेको समयमा कमै हुन्छन् । 

डेटा लिक हुने डरले फेसबुकबाट टाढा रहन पनि सहज छैन । यदि तपाईंले केही सावधानी अपनाउनु भयो भने आफ्नो फेसबुकमा भएको डेटा लिक हुने वा ह्याक हुने जोखिमबाट बच्न सक्नुहुन्छ । आज हामी तपाईंलाई आफ्नो फेसबुक अकाउन्ट कसरी सुरक्षित राख्ने भन्ने विषयमा टिप्स दिँदै छौं । 

आफ्नो पासवर्ड जोगाउनुहोस्

धेरैजसो प्रयोगकर्ताले पासवर्ड बिर्सिने डरका कारण सहज किसिमको पासवर्ड राखिरहेका हुन्छन् । बेला बखत साइबर सुरक्षा विज्ञहरुले सहजै अनुमान गर्न सकिने पासवर्डको विषयमा सचेत गराउँदै आएका पनि छन् ।

त्यसैले सधैं लामो पासवर्ड राख्ने गर्नुहोस् । त्यसमा साना अक्षर,  ठूला अक्षर,  विशेष क्यारेक्टर,  नम्बर आदिलाई मिलाएर पासवर्डलाई बलियो बनाउनुहोस् । साथै फरक फरक अकाउन्टका लागि फरक फरक पासवर्ड राख्ने गर्नुहोस् । ता कि कुनै अर्को अकाउन्ट ह्याक हुँदा फेसबुक सुरक्षित रहोस् ।

लगइन डिभाइस चेक गर्नुहोस्

तपाईंले आफ्नो फेसबुक कुन कुन डिभाइसमा लगईन छ भन्ने कुरा सहजै थाहा पाउन सक्नुहुन्छ । त्यसका लागि सेटिङ एन्ड प्राइभेसी भित्र रहेको सेटिङ हुँदै सेक्युरिटीमा जानुहोस् र त्यहाँ रहेको सेक्युरिटी एन्ड लगइनमा प्रवेश गर्नुहोस् ।

अब त्यसमा आफ्नो फेसबुक कहिले अनि कहाँ लगइन भएको थियो भन्ने सबै विवरण देख्न सक्नुहुनेछ । यसमा तपाईंले लोकेसन, आईपी एड्रेस र ब्राउजरको बारेमा समेत विस्तृत जानकारी प्राप्त गर्न सक्नुहुन्छ ।

यसरी तपाईंले आफ्नो फेसबुक कुन डिभाइसमा कहाँबाट लगइन भएको छ भन्ने कुराको जानकारी राख्न सक्नुका साथै त्यस्तो डिभाइसबाट लगआउट समेत गर्न सक्नुहुन्छ । 

अकाउन्टसँग जोडिएका एप बारे सचेत रहनुहोस्

यदि ख्याल गर्नु भएको छ भने तपाईंको फेसबुक अनेकौं अरु एपहरुसँग जोडिएको हुन्छ । यसको जानकारीका लागि फेसबुकको सेटिङ एन्ड प्राइभेसीहुँदै सेटिङभित्रको सेक्युरिटीभित्रको एप्स एन्ड वेबसाइटमा जानुहोस् ।

अब तपाईंले सुरुमै लग्ड इन विथ फेसबुक अप्सन देख्नुहुनेछ । त्यसभित्र जानु भयो भने तपाईंले आफ्नो फेसबुक डेटामा एक्सेस बनाइरहेका एपहरु देख्न सक्नुहुनेछ ।

ती एप तथा वेबसाइट मध्ये कुनैमा तपाईंलाई सन्देह अर्थात शङ्का छ भने एडिटभित्र गएर रिमुभ गर्न पनि सक्नुहुन्छ ।

म्यासेञ्जरलाई अनावश्यक पर्मिसन नदिनुहोस्

जब तपाईं मोबाइलमा म्यासेञ्जर इन्स्टल गर्नुहुन्छ, त्यसले मोबाइलमा भएका म्यासेका साथै अन्य पर्मिसन समेत माग्दछ । तपाईंले यस किसिमको पर्मिसन दिन जरुरी छैन ।

यसमा आफ्नो मोबाइल नम्बर समेत नजोड्नुहोस् । यदि भुलवश यसो हुन गयो भने आत्तिन जरुरी छैन । म्यासेञ्जर एपलाई अनइन्स्टल गरी फेरी इन्स्टल गर्नसक्नु हुन्छ । 

लगइन विथ फेसबुक फिचर प्रयोग गर्दा सचेत रहनुहोस्

यदि तपाईंले ख्याल गर्नुभएको छ भने विभिन्न वेबसाइट तथा एपहरुमा रजिस्टर गर्दाको समयमा लगइन विथ फेसबुकको अप्सन समेत देख्नु भएको होला । त्यसो त यो फिचर सुरक्षित नै मानिन्छ ।

तर यसमा कुन एपलाई कस्तो पर्मिसन दिइरहनु भएको छ भन्ने कुरा चाहिँ तपाईंले ख्याल गर्नुपर्ने हुन्छ । कतिपय समय केही एपले तपाईंको फेसबुक वालमा आफैं पोस्ट गर्ने पर्मिसन समेत लिइरहेका हुन्छन् । पछि गएर यसले निकै झन्झट निम्त्याउने गर्दछ । 

अनरिकग्नाइज्ड लगइन अलर्ट अन गर्नुहोस्

यो फिचरको राम्रो पक्ष के छ भने जसै कुनै नयाँ व्यक्तिले कुनै अर्को ब्राउजर वा एपबाट तपाईंको फेसबुक लगइन गर्दछ भने तपाईंको मोबाइलमा तुरुन्त एउटा म्यासेज आउँछ । यदि त्यस्तो लगइन तपाईंले गर्नुभएको होइन भने तुरुन्तै पासवर्ड बदल्न सक्नुहुन्छ ।

यो फिचर एक्टिभ गर्नका लागि सेटिभित्रको सेक्युरिटी एन्ड लगइनमा जानुहोस् । अब थोरै स्क्रोल गर्नु भयो भने सेटिङ अप एक्स्ट्रा सेक्युरिटी देख्नुहुनेछ । त्यस भित्र रहेको गेट अलर्ट अबाउट अनरिकग्नाइज्ड लगइनमा थिच्नुहोस् र अन गर्नुहोस् । 

टु फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्नुहोस्

फेसबुक लगइनका लागि टु फ्याक्टर अथेन्टिकेसन निकै सुरक्षित मानिन्छ । जब तपाईंले यो फिचर एक्टिभ गर्नुहुन्छ, तब कुनै नयाँ डिभाइस वा ब्राउजरमा लगइन गर्दा फेसबुकले तपाईंको मोबाइल नम्बरमा एउटा कोड पठाउने गर्दछ ।

मोबाइलमा आएको सही कोड राखेपछि मात्रै तपाईंको फेसबुक लगइन हुनसक्छ । यसबाट के फाइदा हुन्छ भने यदि कसैले गलत मनसायबाट तपाईंको फेसबुक लगइन गर्ने कोसिस गरेको खण्डमा तपाईंको फेसबुकमा उसले एक्सेस पाउने छैन ।

यसका लागि तपाईंले सबैभन्दा पहिले फेसबुकको सेटिङभित्र रहेको सेक्युरिटी एन्ड लगइनमा जानु पर्ने हुन्छ । अब त्यसमा रहेको टु फ्याक्टर अथेन्टिकेसनमा प्रवेश गर्नुहोस् । अब त्यहाँ सुरुमा रहेको युज टु फ्याक्टर अथेन्टिकेसनमा दबाउनुहोस् ।

यसमा तपाईंले यसअघि नै आफ्नो मोबाइल नम्बर राख्नु भएको छैन भने एड गर्नुपर्ने हुन्छ । अब त्यसलाई अन गर्नुहोस् । तपाईंले यसका लागि मोबाइल नम्बरसँगै अथेन्टिकेसन एपको सहारा समेत लिन सक्नुहुन्छ ।

यस्तोमा कुनै नयाँ डिभाइस वा ब्राउजरबाट तपाईंको फेसबुक लगइन गर्दा म्यासेजको रुपमा आउने कोड प्रयोग गर्ने कि आफ्नो मोबाइल डिभाइस प्रयोग गर्ने भन्ने विकल्प तपाईंले छनौट गर्न पाउनु हुनेछ ।  टेकपानाबाट

प्रतिक्रिया दिनुहोस