प्रदेशको नामाकरण र स्थायी राजधानी यसै अधिवेशनबाट– मुख्यमन्त्री पोखरेल

खबरशाला संवाददाता  |  असोज १५, २०७७

तुलसीपुर । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको नामकरण र स्थायी राजधानीको टुंगो छिट्टै लाग्ने बताएका छन् ।

संसदीय मामिला पत्रकार समाज प्रदेश ५ ले आयोजना गरेको छलफल कार्यक्रममा बिहीवार बोल्दै पोखरेलले नामकरण र राजधानीको विषयको प्रक्रिया सरकारले आवश्यक ठाने अगाडि बढाउने बताए ।  

उनले भने, ‘प्रदेशका जनताको साझा मिसनलाई प्राथामिकतामा राखेर प्रक्रिया अगाडि बढाउँछौँ । पहिलेभन्दा यो विषय सहज पनि बन्दै गएको छ ।’

प्रदेश ५ को प्रदेश सभा छैठौं अधिवेशन जारी छ । प्रदेशको राजधानी र नामकरण यसै अधिवेशनबाट टुंगो लगाउने सरकारको तयारी छ । प्रदेश सरकारले छोटो समयमा धेरै काम गरेकाले निराश हुनुपर्ने अवस्था नभएको उनले बताए । 

उनले भने,  ‘हामी शून्य अवस्थाबाट आएका हौं । छोटो अवधिमा प्रदेश पोजिसनमा आएको छ । संघीय सरकारले बनाउनुपर्ने साझा अधिकारका कानूनहरू निर्माण गर्न ढिलाइ गर्दा प्रदेशले बनाउनुपर्ने कानून बनाउन पाएका छैनौं । केही विषयहरूको काम संघले गर्न ढिलाइ गर्दा प्रदेशको गति पनि रोकिएको छ ।’

उनले प्रदेशका संसदीय समितिका कामहरूप्रति पनि असन्तुष्टि जनाए । उनले समितिका काम अपरिपक्व र त्रुटिपूर्ण पनि रहेको गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस