लकडाउनमा मजदुरकाे व्यथा : ७ दिन हिडेर काठमाडाैबाट भालुबाङ

चैत २७, २०७६

दाङ–काठमाडौमा अलपत्र परेपछि ७ दिनसम्म हिडेर मजदुरहरु भालुवाङ आइपुगेका छन् । खुट्टा सुन्निएको अवस्थामा भेटिएका मजदुरहरुले राज्यले सही तवरले सहयोग नगरेको भन्दै आक्रोश पोखेका थिए ।

उनीहरू पानी, चाउचाउ, दालमोट, च्यूराको भरमा  पैदल आफ्नो घर जान खोजिरहेका थिए । उनीहरू काठमाण्डौं, काभ्रे, पाल्पा लगायतका ठाउँबाट दिनरात पैदल हिँडेर आइपुगेका हुन् । ७० काे हाराहारीमा उनीहरू आएका थिए ।

अलपत्र परेकालाइ  देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्न प्रसाद श्रेष्ठले आफ्नो  ट्रकमा हालेर गन्तव्यसम्म  पठाए । प्रहरी र प्रशासनसँग समन्वय गरेर प्रदेशसभा सदस्य इन्द्रजित थारु र नेपाल कम्युनिष्ट पार्टी दाङका जिल्ला ईञ्चार्ज जीवन गौतमकाे अनुराेध पछि उनीहरूलाइ गन्तव्यमा पठाइयाे ।

खुसीले  ट्रक र बसमा मजदुरहरू पालैपालो चढे। दिनरात एक गरेर पैदल हिडेर भालुवाङ आइपुगेका कालिबहादुर परियारले अलपत्र परेको बेलामा बसको व्यवस्था गरेर गन्तव्यसम्म पुर्‍याउने सबैलाई धन्यवाद दिए।

‘चाउचाउ, पानीको भरमा पाँच दिनसम्म पैदल हिँडेका छौं। घर जान पाउँदा खुसी छौं’, उनले भने, ‘सबैलाई धन्यवाद दिन चाहन्छु।’

राजमार्गमा अलपत्र परेको करिब एक सय जनालाई दाङको सिमा कटाइएको छ। पूर्वमा भालुबाङदेखि बस र ट्रकबाट पश्चिममा बाँकेको कुशुमसम्म अलपत्र मजदुरलाई पठाइएको उद्योग बाणिज्य संघका अध्यक्ष श्रेष्ठले बताए।

‘मानवीय सेवा नै पहिलो धर्म हो। त्यही भएर मजदुरलाई उनीहरुको घरसम्म पुर्‍याउन भूमिका खेलेका हौं’, उनले भने– ‘लकडाउनमा सबै आ आफ्नो ठाउँमा बस्नु पर्ने हो। तर, बाध्यताले सडकमा आइपुगेकालाई हामीले उनीहरुलाई थप पीडा दिने भन्दा गन्तव्‍यमा पुर्‍याउने जिम्मेवारी खेल्नुपर्छ।’

राजन ठाडामगरको घर बारबर्दीया नगरपालिका वडा नं। ८ हो। उनी काठमाडौँमा मजदुरी गर्छन्। ठेकेदारले अलपत्र पारेकाले लकडाउनमा पनि उनी घर जान तम्सिएको बताए।

‘ठेकेदारले अलपत्र पारे। खाने खर्च सकियो। जसरी हुन्छ घर पुग्छौं भनेर पैदल हिंडियो’, उनले भने– ‘सारै दुःख पाइयो।’ हरि चौधरीको बेथा पनि उस्तै छ। कैलाली घर भएका उनी काठमाडौँमा अरु जस्तै मजदुरी काम गर्थे। ठेकेदार सम्पर्कमा नआएपछि उनी पनि पैदल घर जान काठमाडौंबाट हिँडेका हुन्।

‘काठमाडौँ बस्दा चार किलो चामल रासन पाइयो। दश जनाले खाँदा एक दिन पनि पुगेन’, उनले भने– ‘भोकभोकै बस्नु भन्दा लकडाउनमै हिंडियो।’ सरिता चौधरीले पनि पानी, दालमोठ, चिउराको भरमा पैदल हिँडेको बताइन्।

प्रतिक्रिया दिनुहोस