समृद्धिका लागि सामुदायिक वन :पूर्व मेयर घनश्याम पाण्डे

असोज ०७, २०७

तुलसीपुर, । सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय सल्लाहकार तथा तुलसीपुरका पूर्व मेयर घनश्याम पाण्डेले समृद्धिका लागि वनको दिगो व्यवस्थापन गर्न पैरबीको तरिका सिक्नु पर्ने बताउनुभयो । आजदेखि दाङको तुलसीपुरमा सुरु भएको सामुदायिक वन पैरबी नेतृत्व विकास तालिमको उदघाटन गर्दै प्रमुख अथिति पाण्डेले यसका लागि वन समूह, स्थानीय सरकार र सरोकारवाला निकाय एकजुट हुनुपर्ने बताउनुभयो ।

‘कुनै पनि नागरिक भोकै नमरोस, कोहि गरिब नहोस । कोहि अपमानित हुन नपरोस । कोहि पछि नपरोस भन्नका लागि दिगो विकास लक्ष्य प्राप्ती गर्नुपर्छ । त्यसका लागि समृद्धिको यात्रामा अघि बढ्न आवश्यक छ । त्यो भनेको सामुदायिक वनको दिगो विकास लागि पैरबी नै हो ।’ तुलसीपुर उपमहानगरपालिका पूर्व मेयर समेत रहनु भएका पाण्डेले भन्नुभयो ।

सो अवसरममा वन महासंघका केन्द्रिय सचिव ठाकुर भण्डारी, ग्रिन फाउण्डेसन दाङका अध्यक्ष विष्णु केसी, तुलसीपुर उपमहानगरपालिका वन वातावरण तथा विपत व्यवस्थापन समितिका संयोजक दुजमान भण्डारी, ग्रिन फाउण्डेसनका सुरेश रावत, खुमप्रसाद भण्डारी लगाएतले बोल्नु भएको थियो ।

ग्रिन फाउण्डेसन दाङ शाखा र राइर्टस रिसर्चको संयुक्त आयोजनामा सुरु भएको तालिम असोज ९ गतेसम्म संचालन हुनेछ । सामुदायिक वन उपभोक्ता महासंघ तुलसीपुरका अध्यक्ष चन्द्र बहादुर वलीको अध्यक्षतामा तालिमको उदघाटन भएको गरिएको थियो । तालिममा सातवटै प्रदेशका वन महासंघ र वन समूहका समेत गरेर २५ जनाको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस