तुलसीपुरमा बेपत्ता र ज्यान गुमाएका नागरिकको सम्झना

खबरशाला संवाददाता  |  भदौ १४, २०७७


तुलसीपुर । सशस्त्र द्वन्दका क्रममा ज्यान गुमाएका र बेपत्ता नागरिकको तुलसीपुरमा सम्झना गरिएको छ । १० औ अन्तर्राष्ट्रिय वेपत्ता नागरिक दिवसको अवसरमा तुलसीपुरको पुष्पलाल स्मृति पार्कमा युद्धमा ज्यान गुमाएका र वेपत्ता नागरिकको सम्झनामा निर्माण गरिएको स्मारकमा दिप प्रज्ज्वलन गरेर सम्झना गरिएको हो ।


दिप प्रज्ज्वलन कार्यक्रममा बोल्दै नगरप्रमुख घनश्याम पाण्डेले सहिदको सपना साकार पार्नका लागि सबैले ध्यान दिनुपर्ने वताएका थिए । ‘निम्नवर्गका जनताको जीवनस्तरमा सुधार आउने गरी हामीले काम गरेपछि मात्रै सहिद र बेपत्ताको सपना पुरा हुन्छ’ नगरप्रमुख पाण्डेले भने । उनले सहिदको योगदानले गर्दा नै अहिलेको परिवर्तन सम्भव भएको बताएका थिए ।


कार्यक्रममा मानव अधिकारकर्मी केशवकुमार शर्माले बेपत्ता नागरिकको अवस्था सार्वजनिकका लागि सरकार गम्भिर हुनुपर्ने कुरामा जोड दिए । उनले सास या लासको प्रतिक्षामा अहिले पनि केयौ द्वन्दपीडितले दुखपूर्ण जीवन काट्नुपरेको वताए ।


नेकपाका नेता यज्ञवहादुर केसीले बेपत्ताको अवस्था सार्वजनिक गर्नका लागि राज्य गम्भिर हुनुपर्नेमा जोड दिए ।


२०५२ साल फागुन १ देखि २०६३ मंसिर ५ गतेसम्म जनयुद्धकालमा दाङ्गमा राज्य पक्षबाट ४ सय ९९ सयले ज्यान गुमाएका थिए भने ४३ लाई बेपत्ता पारिएको थियो । ज्यान गुमाएका र बेपत्ता भएका नागरिकको सम्झनामा तुलसीपुरमा स्मृति पार्कमा स्मारक निर्माण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस