तुलसीपुरका ज्येष्ठ नागरिकलाई घरमै औषधि र पौष्टिक आहारा

खबरशाला संवाददाता  |  भदौ १३, २०७७  |  ३८७ पटक पढिएको


तुलसीपुर ।
तुलसीपुर उपमहानगरपालिकाका ज्येष्ठ नागरिक र बालबालिकालाई घरमै पौष्टिक आहार र औषधि वितरण कार्यक्रमको सुरुवात गरिएको छ । कार्यक्रमको सुरुवात गर्दै संघीय सांसद सुजिता शाक्यले जेष्ठ नागरिक र बालबालिकाहरुलाई पौष्टिकजन्य खानेकुरा खुवाउनुपर्ने बताएकी छन् । तुलसीपुर उपमहानगरपालिकाको सहयोग एवम गुरुवा र जनप्रगतिशील टोल विकास संस्थाहरुको संयोजनमा पौष्टिकजन्य सामग्री वितरण कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।


खाद्यान्न सामग्री वितरण गर्दै सांसद शाक्यले प्रत्येक टोल विकास संस्थाहरुको समन्वयमा कोरोना महामारी फैलिरहेको अवस्थामा घरघरमै पुगेर वितरण गर्नुपर्ने बताइन् ।
उनले भनिन् ‘ यो महामारीबाट बालबालिकाहरु र जेष्ठ नागरिक बढी प्रभावित हुने भएकाले उहाँहरुको रोगप्रतिरोधात्मक क्षमता बढाउने आहार विहारमा ध्यान दिऔ ’।

तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले भने ‘ बालबालिका र जेष्ठनागरिकहरुको रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि पौष्टिक जन्य खाद्यान्न सामग्री वितरण गरेका हौ ’ । नगरप्रमुख पाण्डेका अनुसार क्रमशः नगरका प्रत्येक ठाउँमा वितरण गर्ने कार्यक्रम रहेको छ ।

गुरुवाटोल विकास संस्थाका अध्यक्ष विनयकुमार पोखरेलका अनुसार पहिलो चरणमा एक सय २६ जना बालबालिका र जेष्ठ नागरिकहरुलाई पौष्टिकजन्य खाद्यान्न सामग्री वितरण गरिएको हो । त्यसैगरी प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीको प्राविधिक सहयोगमा जेष्ठ नागरिकहरुको स्वास्थ्य चेकजाँच समेत गरिएको छ ।

अस्पतालका निमित्त प्रमुख डाक्टर गोकर्ण दाहालका अनुसार चेकजाँचका क्रममा नशा, जोर्नी सम्बन्धित,श्वासप्रश्वासको समस्या देखिएको छ । चेकजाँचका क्रममा रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक चूर्ण त्रिफला,गुर्जो,शताबरी वितरण गरिएको थियो । । ३८ जना जेष्ठ नागरिकहरुको स्वास्थ्य चेक जाँच गरिएको थियो ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, अञ्चल अस्पताल तुलसीपुरका डाक्टर मदन विसी, जनता विद्यापीठका पूर्व प्राचार्य ईश्वर पोखरेल, तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य देवराज विश्वकर्मा, बिजौरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मुकेश वली,महिला स्वयम सेविका लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको संयोजन तथा व्यवस्थापन गोकर्ण पौडेलले गरेका थिए । कार्यक्रममा प्रादेशिक आयुर्वेद चिकित्सालका डाक्टर,वैद्य, नर्ससहितको टोलीले जेष्ठनागरिकको चेकजाँच गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस