लक्षण नदेखिएका संक्रमितलाई हाेम आइसाेलेसनमा राखिने

खबरशाला संवाददाता  |  भदौ ०५, २०७७

तुलसीपुर । सरकारले लक्षण नदेखिएका कोरोना संक्रमितलाई होम आइसोलेसनमा राख्ने निर्णय गरेको छ।

सरकारका प्रवक्ता युवराज खतिवडाले भने, ‘प्राविधिक विश्लेषणले पनि लक्षण नदेखिएका कोरोना संक्रमित होम आइसोलेसनमा रहँदा चाँडो निको हुने देखिएको छ। अर्कोतर्फ संक्रमण बढ्दै जाँदा अस्पतालमा पनि ठाउँ नहुन सक्छ। त्यस्तो अवस्थामा लक्षण देखिएका संक्रमितलाई अस्पतालमा ल्याएर उपचार गर्नुपर्ने हुन्छ।’

यसैबीच सरकारले विदेशबाट उद्धार गरिने नेपालीलाई एकिकृत क्वारेन्टिनमा राखिने जनाएको छ। एकिकृत क्वारेन्टिन काठमाडौं उपत्यकामा तयार गरिने र त्यसको व्यवस्थापन नेपाली सेनाले गर्ने प्रवक्ता खतिवडाले जानकारी दिए।

विदेशबाट उद्धार गरिने नेपालीको हकमा वैदेशिक रोजगार कल्याणकारी कोषको खर्चमा ल्याएर  क्वारेन्टिनमा राख्दा लाग्‍ने खर्च सरकारले व्‍यहोर्ने र अन्‍यको हकमा भने स्वयं यात्रुले व्‍यहोर्नु पर्ने सरकारले निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस