दाङमै सर्पद‌ंश उपचार केन्द्र सञ्चालनमा आउने

खबरशाला संवाददाता  |  श्रावण १८, २०७७

साउन, १८ । दाङको गढवा गाउँपालिकामा यही साताबाट सर्पदंश उपचार केन्द्र सञ्चालनमा आउने भएको छ । गाउँपालिकाको लगानी तथा प्रदेश सरकारसँगको सहकार्यमा बहुप्रतिक्षित सर्पदंश उपचार केन्द्र संचालनको अन्तिम तयारी भएको गढवा गाउँपालिकाले जनाएको छ । पूर्वाधार निर्माणको काम केही समय अघि सम्पन्न भईसकेको अवस्थामा आवश्यक पर्ने औषधीसमेत आईसकेकाले यही साताबाटै औपचारिक कार्यक्रमको आयोजना गरी सेवा शुभारम्भ गर्ने तयारी भएको गाउँपालिका अध्यक्ष सहजराम यादवले जानकारी दिए ।

सम्भवतः यही बुधबारबाट औपचारिक रुपमै सेवाको थालनी गर्ने तयारी भएको गाउँपालिका अध्यक्ष यादवले बताए । उनका अनुसार उपकरण, औषधीलगायत सबै सामानको विवरण सैनिक मुख्यालयमा पठाइएको र त्यहाँबाट प्राविधिकसहितको टोली आउनासाथ दुई तीन दिनमै सेवा शुभारम्भ हुनेछ ।

गाउँपालिकाले विनियोजन गरेको १ करोड र नागरिक स्तरबाट संकलित केही रकमबाट उपचार केन्द्रको पूर्वाधार निर्माणको काम गरिएको छ । प्रदेश सरकारको आपूर्ति केन्द्रबाट प्रथम चरणका लागि ३ सय भाइल एन्टी स्नेक भेनम माग गरिएपनि हाललाई सय भाइल एन्टी स्नेक भेनम आईपुगेको स्वास्थ्य कार्यालय दाङकी प्रमुख सुनिता पौडेलले जानकारी दिईन् ।

सर्पदंश उपचार केन्द्र संचालनका लागि प्रदेश र केन्द्रसँग स्वास्थ्य कार्यालय दाङले शुरुवाती चरणबाटै समन्वयात्मक काम गर्दै आएको छ । सर्पदंश उपचार केन्द्र संचालन गर्न प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले पनि विशेष चासो लिदै आएका छन् । सामाजिक विकासमन्त्री बरालको विशेष पहल, स्वास्थ्य कार्यालय दाङको समन्वयमा उपचार केन्द्र ऐतिहासिक रुपमा संचालनमा आउन लागेसँगै सो क्षेत्रमा नागरिक हर्षित भएका छन् । सर्पदंशका कारण अकाल ज्यान जाने गरेको हुँदा नागरिकको जीउज्यानको रक्षामा आफु लागि परेको सामाजिक विकासमन्त्री बरालले बताएको स्वास्थ्य कार्यालय प्रमुख पौडेलले बताईन् ।

सो क्षेत्रमा सर्पदंश उपचार केन्द्र संचालनमा आएसँगै गढवा, राजपुर, राप्ती, लमहीलगायत आसपासका क्षेत्रका स्थानीय बासिन्दालाई प्रत्यक्ष लाभ मिल्नेछ । यसका साथै जिल्ला प्यूठान, कपिलबस्तु, अर्घाखाँची, बाँके, सल्यान, लगायत छिमेकी मुलुक भारतका नागरिकले पनि उपचार सेवा पाउने छन् । सर्पदंशका कारण अकाल ज्यान गुमाउनु पर्ने पीडाबाट अब मुक्ति पाउने दिन आएको स्थानीयको भनाई छ । ।

उपचार केन्द्र संचालनका लागि रिपुमर्दन गण घोराहीबाट नेपाली सेनाको एक प्राविधिक टोलीसमेत परिचालन भईसकेको छ । जिल्लामा आर्थिक वर्ष २०७६।०७७ मा मात्रै १५ जनाको सर्पदंशबाट ज्यान गएको थियो ।

गढवा गाउँपालिकामा मात्र ५२ जना सर्पदंशका बिरामी भएका थिए । जिल्लामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल तुलसीपुर र लमही अस्पतालमा सर्पदंश उपचार सेवा भएपनि राप्ती पारीका नागरिकलाई सहज सेवा पाउन निकै कठिन थियो ।

विषालु सर्पको बढी बिगबिगी हुने गढवा, राजपुरका नागरिक बिरामी हुँदा जिल्ला बाहिर गोरुसिंगे या नेपालगंज पठाउनु पर्ने बाध्यता रही आएकोमा अब गाउँघरमै सेवा प्रवाह हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस