हाम्राे पहुँचले दियाे दुध किसानलाई अनुदान

श्रावण १०, २०७७

तुलसीपुर । हाम्रो पहुचँ बहुद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा संञ्चालित डेरी उद्योगमा दुध बिक्रि गर्ने किसानलाई अनुदान रकम वितरण गरिएको छ । प्रदेश नम्बर ५ सरकार, भुमि व्यबस्था कृषि तथा सहकारी मन्त्रालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय रुपन्देहीबाट दुग्ध उत्पादक किसानका लागि प्राप्त अनुदान रकम बितरण गरेको हो ।

संस्थाले प्रदेश सरकारबाट प्राप्त अनुदान रकम १ लाख ४३ हजार २०० रुपैँया दुग्ध उत्पादक किसानलाई प्रदान गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारीले जानकारी दिए। प्रदेश सरकारले सहकारी संस्थामा दुध बेच्ने किसानहरुलाई अनुदान कार्यक्रममा समावेश गरेको उनको भनाई छ ।

प्रदेश सरकारबाट प्राप्त रकम हाम्रो पहुँच सहकारीको डेरीमा दुध बिक्री गर्ने किसानलाई बितरण गरिएको हो । संस्थाका अध्यक्ष शुक्रराज भण्डारी र सल्लाहकार भरत भण्डारीले दुग्ध उत्पादक किसानहरुलाई शुक्रबार उक्त रकम हस्तान्तरण गरेका हुन् ।

राहत रकम वितरण गर्दै संस्थाका सल्लाहकार भरत भण्डारीले सहकारी संस्थाबाट दुध तथा दुग्धजन्य पदार्थ बजारीकरण हुदाँ तुलसीपुर क्षेत्रका धेरै किसानलाई सहज भएको बताए । उनले किसानले उत्पादन गरेको दुधको बजारीकरणमा सहकारीले महत्वपूर्ण भूमिका खेलेको भन्दै किसानहरुको आर्थिक तथा व्यबसाय प्रबद्र्धनका लागि सहकारी प्रमुख आधार भएको बताए ।

त्यस अवसरमा संस्थाले डेरी उद्योगमा कार्यरत कर्मचारी तथा दुध उत्पादक कृषक सदस्यहरुलाई दुग्ध उत्पादन तथा विविधिकरण सम्बन्धि अभिमुखिकरण गरेको छ । किसानललाई दुधको उत्पादन बढाउन पशुलाई दाना तथा घाँस व्यवस्थानमा ध्यान दिनुपर्ने कुरा र डेरी उद्योगका कर्मचारीलाई दुधको शुद्धता, विविधिकरण र गुणस्तियताका विषयमा अभिमूखिकरण गरिएको हो ।

संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले दुग्ध उत्पादक किसानहरुलाई केन्द्रमा राखेर उद्योगको स्थापना गरिएको भन्दै डेरी उद्योगले उपभोक्तालाई दिने दुध तथा दुग्धजन्य पदार्थमा गुणस्तरियतामा बढी जोड दिएको बताए । कार्यक्रमको सहजीकरण संस्थाका कार्यकारी प्रमुख जनक भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस