‘साउन दोस्रो र तेस्रो साता बाढी, पहिरोसहित कोरोना संक्रमण उत्कर्षमा’

असार १४, २०७७

हमन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसवर्ष साउनको दोस्रो र तेस्रो साता बाढी, पहिरो लगायत पानीजन्य अन्य विपद्सँगै कोभिड-१९ को संक्रमण उत्कर्षमा पुग्ने आंकलन गरेको छ।

‘मनसुन, पूर्वतयारी र प्रतिकार्य कार्ययोजना २०७७’ जारी गर्दै प्राधिकरणले बाढी, पहिरो, डुबान लगायतको पूर्वतयारी र प्रतिकार्य तथा कोभिड-१९ सँगको सामना एकैपटक गर्नुपर्ने उल्लेख गरेको छ।

कार्ययोजनाले उद्धार, प्रतिकार्य र पुनर्स्थापनाका अरु काम कोभिड-१९ को सम्भावित संक्रमणबाट जोगिएर गर्नुपर्ने चुनौती पनि आउने देखाएको छ।

अहिले कोरोना भाइरसका संक्रमित दिनप्रतिदिन थपिँदै गइरहेको अवस्था छ। यो विस्तारै बढ्ने अनुमान जनस्वास्थ्य विज्ञहरुकोसमेत छ। 

कोभिड-१९ को संक्रमणसँगै आउने बाढी, पहिरो लगायतको समस्याले थप जोखिम हुने देखिएको छ।
 
यसवर्ष वर्षायाममा ३० लाख विपद्का सम्भावित घटना हुने अनुमान आंकलन गरिएको हो। सरोकारवाला निकायहरूको विषयगत विश्लेषण, ज्ञान, सीप र अनुभवका आधारमा आंकलन गरिएको प्राधिकरणले जनाएको छ।

सीमावर्ती क्षेत्रमा भारत सरकारले बनाएको तटबन्ध, बाँध, अग्ला सडक, रेलमार्ग, ब्यारेज र नहर प्रणाली लगायत संरचनाले पनि तराईका बस्ती र खेतबारी धेरै जोखिममा पर्ने गर्छन्। 

प्रदेश २ र प्रदेश ५ मा बाढीजन्य जोखिम अत्यधिक हुने आंकलन गरिएको छ। मध्य पहाडी क्षेत्रमा पनि अचानक बाढी आउने र जनधनको ठूलो नोक्सानी हुने गरेको अनुभव छ।

नेपालमा बाढी र पहिरोले वर्षेनी जनधनको ठूलो क्षति हुने गरेको छ। यसवर्ष हुनसक्ने जोखिमको आंकलनसहित सबै निकायले गर्नुपर्ने पूर्वतयारीका काम थालिसकेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले तयार पारेको कार्ययोजनाको तथ्यांकलाई हेर्ने हो भने २०६८ देखि ०७६ सम्ममा बाढीका कारण ७९६ को ज्यान गएको छ भने ५०९ बेपत्ता भएका छन्। त्यस्तै पहिरोका कारणले उक्त समयमा नै ९०४ जनाको ज्यान गएको छ भने २३३ बेपत्ता भएका छन्।

५ असारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको छैटौं बैठकले पनि विपद्को पूर्वतयारी तथा प्रतिकार्यका लागि विभिन्न मन्त्रालय लगायतले गर्नुपर्ने कामका बारेमा आवश्यक निर्णय गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस