तुलसीपुर क्वारेन्टाइनमा बसेकी महिलाले जुम्ल्याहा बच्चा जन्माइन

बैशाख २७, २०७७

 

तुलसीपुुर । तुलसीपुर उपमहानगरपालिकाले कोरोनाको आशंका रहेकालाइ राख्नका लागि सञ्चालन गरेको क्वारेन्टाइनमा वसेकी महिलाले जुम्ल्याहा वच्चा जन्माएकी छिन् ।

वडा नम्वर १३ फुलवारी घर भएकी अनिता यादवले राप्ती प्रादेशिक अस्पतालमा जुम्ल्याहा छोरी जन्माएकी हुन् । अस्पतालकी मेडिकल अधिकृत डा. लिजा पुरीका अनुसार दुवै वच्चा स्वस्थ रहेपनि एक जनाको तौल कम रहेको छ । “ एउटाको १.८ केजी र अर्काको १.५ केजी रहेको छ ” अधिकृत डा. पुरीले वताइन् ।

तौल कम रहेपनि दुवै वच्चाले दुध खान थालेको पनि उनले जानकारी दिइन् । वच्चाहरु शुक्रवार राती ९.१५ मा जन्मिएको पनि अस्पताल स्रोतले वतायो ।

गर्भवति यादव विहिवारबाट क्वारेन्टाइनमा वस्न थालेकी थिइन् । चार महिना अगाडिबाट रुपैडिहाको विलौनीमा माइतिघर रहेकी यादव विहिवार मात्रै २ दिन हिडेर घरमा आएकी थिइन् । भारतबाट आएको भनेर गाउँलेहरुले खवर गरेपछि उनलाई तुलसीपुर उपमहानगरपालिकाको कोरोना रेस्क्यु टिमले विहिवार राती नै क्वारेन्टाइनमा ल्याएको जनस्वास्थ्य शाखाका प्रमुख ओमप्रकाश न्यौपानेले जानकारी दिए । उनकाे र्यापिड टेस्ट रिपाेर्ट नेगेटिभ आएको थियो ।

यादवलाई शुक्रवार विहान १२ वजेतिर व्यथा लागेपछि प्रादेशिक अस्पतालमा ल्याइएको विपद् शाखाका प्रमुख भिमप्रकाश खत्रीले जानकारी दिए । “जटिल अवस्था भनेपछि हामीले नेपालगञ्ज लैजाने तयारी पनि गरेका थियौ” खत्रीले भने ।

गर्भवति यादवका कोही पनि आफन्त नआएपछि उपमहानगरपालिकाले नै सबै जिम्मेवारी लिएर उनको उद्दार गरेको थियो । नगरप्रमुख घनश्याम पाण्डेको निर्देशनमा उनको सम्पूर्ण उपचारको जिम्मा लिइएको हो । “जहाँ लैजानुपरेपनि हामीले जिम्मा लिने कुरा थियो ” शाखा प्रमुख खत्रीले वताए ।

आमा र वच्चाका अवस्था अहिले स्वस्थ रहेको छ । उपमहानगरपालिकाले शुक्रवार अबेर मात्रै उनका श्रीमान तिलक यादव र छोरीलाई अस्पतालमा ल्याएको थियो । “कोही छैन के गर्ने के गर्ने” यादवले वताइन् । उनका २ छोरा र २ छोरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस