कोरोना भाइरस संक्रमितको संख्या ८ लाख नाघ्यो, करिब ३९ हजारको मृत्यु

चैत १८, २०७६

विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ८ लाख नाघेको छ भने करिब ३९ हजारको मृत्यु भएको छ।
वल्डोमिटर्सको तथ्याङ्क अनुसार मंगलबार दिउँसोसम्म विश्वभर कोरोना भाइरसको संक्रमितको संख्या ८ लाख १ हजार १ सय १७ पुगेको छ। हालसम्म कोरोना भाइरसका कारण ३८ हजार ७ सय ७१ जनाले ज्यान गुमाइसकेका छन्।

संक्रमितमध्ये हालसम्म १ लाख ६९ हजार ९ सय ९३ जना उपचारपछि निको भई घर फर्केका छन्। अहिले विश्वका विभिन्न अस्पताल तथा घरमै बसेर ५ लाख ९२ हजार ३ सय २० जनाले कोरोना भाइरसको उपचार गरिरहेका छन्। उपचाररत्मध्ये ३० हजार ३ सय १३ जनाको अवस्था गम्भीर छ भने ५ लाख ५९ हजार ७ सय १४ जनाको अवस्था सामान्य रहेको छ।

कोरोना भाइरस पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको उहानमा देखिएको थियो। सुरु भएको तीन महिना यता यो भाइरस अहिले विश्वका २ सय देशमा फैलिएको छ। पछिल्लो समय यो भाइरस अमेरिका र युरोपमा तीव्र रुपमा फैलिरहेको छ।
नेपालमा पनि हालसम्म ५ जनामा कोरोना भाइरसको संक्रमण भएको पाइएको छ । संक्रमितमध्ये एकजनालाई सन्चो भइसकेको छ भने चार जनाको अहिले उपचार भइरहेको छ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देशमा क्रमशः अमेरिका, इटाली, स्पेन, चीन, जर्मनी, इरान, फ्रान्स, बेलायत, स्वीट्जरल्याण्ड, बेल्जियम, नेदरल्याण्ड्स, टर्की, अष्ट्रिया, दक्षिण कोरिया, क्यानडा, पोर्चुगल, इजरायल, ब्राजिल, अष्ट्रेलिया, नर्वे, स्वीडेन रहेका छन्।

हालसम्म सबैभन्दा बढी संक्रमित अमेरिकामा देखिएका छन् भने मृत्यु इटालीमा भएको छ। अमेरिकामा हालसम्म १ लाख ६४ हजार ३ सय ५९ जनामा संक्रमण रहेको पुष्टि भएको छ जसमध्ये ३ हजार १ सय ७३ जनाको मृत्यु भइसकेको छ।

इटालीमा कोरोनाका संक्रमितको संख्या १ लाख १ हजार ७ सय ३९ जना रहेको छ । यीमध्ये ११ हजार ५ सय ९१ जनाको मृत्यु भइसकेको छ। स्पेनमा ९४ हजार ४ सय १७ जनामा कोरोनाको संक्रमण देखिएकोमा ८ हजार १ सय ८९ जनाको मृत्यु भएको छ।
जर्मनीमा मंगलबार अपरान्हसम्म कोरोना संक्रमितको संख्या ६७ हजार ५१ पुगेको छ जसमध्ये ६ सय ५० जनाको मृत्यु भएको छ। इरानमा ४४ हजार ६ सय ५ जना संक्रमित रहेकोमा २ हजार ८ सय ९८ जनको मृत्यु भइसकेको छ।

फ्रान्समा कोरोनाका संक्रमित संख्या ४४ हजार ५ सय ५० छ। यीमध्ये ३ हजार २४ जनाको मृत्यु भएको छ। बाँकीको मृत्यु अन्य विभिन्न देशमा भएको छ।

प्रतिक्रिया दिनुहोस